|

दमक : चार/पाँच वर्ष अघिसम्म नवरथासँगै रातभरि गाउँमा बज्ने ढोलले संकेत गर्थ्यो, दशैं आएको। सन्थाल बस्ती गुञ्जयमान हुन्थे। झापा र मोरङका आदिबासी सन्थालहरू विभिन्न स्थानमा लाग्ने हाट र मेलामा आफ्नो नाच देखाउन तयारी गर्थे। तर, अहिले अवस्था यस्तै छैन।

झापाको लखनपुर, गौरादह, तोपगाछी, बैगुनधुरा, महाभारा, गौरीगञ्ज लगायतका स्थानमा लाग्ने दशैं मेलामा सांस्कृतिक पोशाकमा सजिएर ढोल बजाउँदै नाच्ने सन्थाल टोलीको भिडनै लाग्थ्यो। आकर्षण त अझै छ तर सन्थाल टोलीको संख्या न्यून हुने गर्छ। गाउँमा युवाको संख्या कम हुनु र भएका सामग्रीसमेत काम नलाग्ने अवस्थामा पुगेकाले सन्थाल वस्ती सुनसान बनेका हुन्।

तर, अचेल नाच देखाउने र तयारी गर्ने युवा नभएकाले केहि योजना नै नबनाइएको गौरादह–१ का महेन्द्र मूर्मूले बताए। सन्थालहरूको चलनमा अझै पनि रहेको गाउँको प्रमुखको रूपमा हुने माझीहडाम समेत भएर काम गरि सकेका उनी आफूहरू नाचमा खट्न नसक्ने र खट्न सक्ने युवा भारत तथा अन्य मुलुकसम्म रोजगारीमा गएको बताउँछन्। कामका लागि टाढा पुगेकाहरू सबै दशैं नआउने र आएका पनि पाहुनाको रूपमा हुने भएकाले नाचको खुसीयाली नभएको उनले गुनासो गरे। यस्तै, दशकौँ अघि किनिएका नाचका लागि चाहिने बाजा र पोशाक फाटिसक्दासमेत फेर्न नसकिएको उनी बताउँछन्।

अर्का सन्थाल अगुवा लुखिराम मूर्मूको गुनासो पनि उस्तै छ। गाउँमै भएका युवा कुनै न कुनै पेशामा रहने र धेरै जसो कामका लागि अन्यत्र जाने भएकाले दशैंको सांस्कृतिक उत्साह घटेको उनले बताए। यसैगरि, अधिकांश सन्थाल वस्तीका ढोल फुटेका र नाचका लागि आवश्यक पहिरनसमेत च्यातिएकाले दशैंमा नृत्यको रौनक नदेखिएको उनी बताउँछन्।

भारतीय टोली आउन छोडे

एक दशकअघि सम्म झापाका विभिन्न गाउँमा हुने दशैं मेलामा भारत देखिका सन्थाल नृत्य टोली आउने गरेका थिए। तर, अचेल यसरी भारतीय टोलीसमेत आउने क्रम घटेको मेलाका स्थानीय आयोजक बताउँछन्।

झापाको लखनपुरस्थित मंगलबारेमा हरेक वर्ष दशैंको एकादशीका दिन मेलाको व्यवस्थापन गर्दै आएको सगुन युवा क्लबका अध्यक्ष देवी आङ्देम्बे सन्थाल नृत्यले नेपाल भारतको सांस्कृतीक एकता र सहकार्यमा पनि सघाउ पुगेको अनुभव सुनाउँछन्। तर, नेपाली टोली घट्ने र भारतीय टोली पनि नआउनाले मेलाको रौनकसमेत घट्दै गएको उनले बताए।

गाउँमा युवाको संख्या घट्नुसँगै नाचको तयारी गर्न नसक्नुको अर्को कारण आथिर्क विपनता हो। झापा लखनपुरकै गेउरीया चोकमा समेत दशैंको नवमीका दिन दशैं मेला लाग्ने गरेको छ। यस मेलाको मुख्य आकर्षण समेत सन्थाल नृत्य बन्ने गरेको छ।

तर नृत्य टोलीहरू वर्षेनी घट्दै गएको कमल–७ गेउरीयाको नवमी मेला आयोजक समितिका सदस्य रविन भण्डारी बताउँछन्। अघिकांश टोलीको गुनासो बाजा र पोशाक फाटेको तथा युवा नभएको गुनासो आउने गरेको उनले बताए।

दशैं मेलाको मात्र नभए विभिन्न राजनीतिक दल तथा सामाजीक संस्थाहरुले गर्ने बिभिन्न कार्यक्रममा पनि सन्थाल नृत्य आकर्षण बन्ने गरेको छ। सभा, सम्मेलनमा समेत आकर्षणको रुपमा सन्थाल नृत्य टोलीहरु निम्त्याईने गरेका छन्।

तर उनीहरूको स्थाईत्वका लागि सहयोग हुन नसक्दा पूर्वी नेपालको एउटा मौलिक संकृति क्रमिक रूपमा संकटापन्न अवस्थामा धकेलिदै गएको कमल–५/६ मा हरेक वर्ष सन्थाल नृत्य प्रतियोगीता गराउँदै आएको सगुन युवा क्लबका अध्यक्ष देवेन्द्र आङ्देम्बेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.