पाँचसय ७५ वर्षको इतिहास रहेको खड्गभवानी कोत

|

म्याग्दी : जिल्लाको बेनी नगरपालिका २ मा अवस्थित ऐतिहासिक र पुरातात्विकस्थल ज्यामरुककोटको खड्भवानी कोतमा सोमबार बलीसहित महानवमीको विशेष पूजा सम्पन्न भएको छ।

घटस्थापनाको दिनदेखि नियमित विशेष पूजा हुँदै आएको ऐतिहासिक खड्गभवानी कोतमा आज (नवमीमा) राँगा, बोका र फर्सी र कुभिण्डोको बली दिएर विशेष पूजा गरिएको हो।

बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न पूजामा खड्गभवानी कोट पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले कोतका पूजारी, उपासु, भक्तजन र उपस्थित ज्यामरुककोटवासीलाई धन्यवाद दिँदै धार्मिक तथा सांस्कृतिक पर्व बडा दशैंको शुभकामना व्यक्त गरे। त्यसैगरी वडाअध्यक्ष हिराबहादुर थापाले पुरातात्विक र ऐतिहासिक महत्वको ज्यामरुककोटस्थित खड्ग भवानी कोतको विकास र संरक्षणका लागि नगरपालिका र वडाले पनि विशेष ध्यान दिएको बताए। उनले खड्गभवानी कोतलाई जिल्लाकै ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको पनि औल्याए।

सोही अवसरमा बाजागाजासहित कोत परिसर परिक्रममा गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिएको थियो। राँगो र बोकाको बली दिने दुईजनालाई साफा गुथाएर सम्मान गरिएको थियो।

यस्तो छ ऐतिहासिक ज्यामरुककोटको इतिहास 

ज्यामरुककोटको इतिहास १५ औं शताव्दीको विरासतसँग जोडिएको छ। १५औं शताव्दीको प्रारम्भसँगै थापाहरूले राज्य गर्नथाले पछि अस्तित्वमा आएको ज्यामरुककोटमा रहेको (खड्गभवानी कोत) का दुर्लभ हातहतियार र अभिलेखहरूको यसको ऐतिहासिक महत्वलाई स्पष्टसँग बुझाएका छन्। सो कोतमा ५७५ वर्ष पहिलेका मल्ल र थापा राजाहरूका अभिलेख रहेका छन्।

ज्यामरुककोटमा विक्रम सम्वत १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका र १५४५ को भदौ महिनामा थापाहरूको पुर्ख्यौली थलो मानिएको ताकम डिम्व मल्लले कव्जा रेपछि ज्यामरुककोट, पुलाचौर, कुहू र राखुका थापाराजाहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना वनेका र थापा राज्यको अन्त्य भएको इतिहासमा उल्लेख भएको बेनी नगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापाले बताए।

स्थानीय निकाय लामो समयसम्म जनप्रतिनिधिविहीन रहेकाले सम्भावनाहरू हुँदाहुँदै पनि विकास हुन नसकेको बताउँदै बेनी नगरपालिका २ का वडा अध्यक्ष थापाले आफ्नो पहिलो प्राथमिकता यस क्षेत्रका पर्यटकीय स्थलहरूको विकास गर्ने रहेको बताए।

करिब ५ रोपनी क्षेत्रफलमा रहेको सो स्थानमा थापा र मल्ल राजाहरूको ताम्रपत्रमा अंकित इतिहास, तोप, खुँडा र तरवारलगायतका हातहतियार, प्राचीन शिला र इँट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्त-व्यस्त अवस्थामा रहेका छन्।

कोटडाँडोसम्म मोटरबाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यको बारेमा प्रचार-प्रसार गर्न सक्ने हो भने अन्नपूर्ण र धौलागिरी क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटकहरू त्यहाँ पुग्न सक्ने स्थानीय बुद्धिजीवी एवं खड्गभवानी कोत संरक्षण एवं गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए।

पर्यापर्यटनको प्रचूर सम्भावना 

त्यसैगरी ज्यामरुककोट जैविक विविधताले पनि सम्पन्न रहेको छ। ‘आर्गानिक खेती, ठूलाखोलाबाट ल्याइएको चिसो पानी, विभिन्न पंक्षी, मह, भटमास, कालोदाल, स्थानीय जातका खसी, कुखुरा र हाँस, चिबे, कालिज र तित्रो, बनढुकुर र बन कुखुरो, तरुल, भ्याकुर र शखरखण्ड यहाँ प्रशस्त मात्रामा पाइन्छन्। जौ, कोदोबाट बनाइने विभिन्न परिकारले यहाँको पहिचान झल्काउँछन्’ वडाअध्यक्ष थापाले बताए।

ब्राह्मण, क्षत्री, ठकुरी, कुवँर, चर्मकार, विक, दर्जी, गुरुङ, मगर लगायतका जातजातिको बसोबास रहेको यो ठाउँ सांस्कृतिक विविधताले समेत रहेको छ। ज्यामरुककोटको गौश्वारा गाउँमा अवस्थित राधाकृष्ण मन्दिरमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमी पर्वमा लगाइने मेला यस क्षेत्रको प्रमुख मेला हो।

ज्यामरुककोटको खड्गभवानी कोतमा रहेका पुराना हातहतियारको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी, भाला, तरवार, ढाललगायतका औजारहरूमा खिया लागेको छ भने कोट परिसर युवायुवतीको क्रीडास्थल र केही टाँठावाठाको व्यक्तिगत सम्पत्तिजस्तै बनेको वडाअध्यक्ष थापाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.