|

महोत्तरी : हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई महोत्तरीको बर्दिवासमा सम्मान गरिएको छ। बर्दिवास–२ को मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुटेका कलाकारद्वय लाई बर्दिवास नगरपालिको तेस्रो नगर परिषद्को अवसरमा आइतबार सम्मानित गरेको हो।

कार्यक्रममा पूर्वमन्त्री तथा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेल र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले सीतारम र कुञ्जनालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरेका हुन्।

मानवीय करुणा र सामाजिक सद्भावका क्षेत्रमा निरन्तर लागिरहेका धुर्मुस र सुन्तलीले गरिबी र शिक्षाबाट टाढा रहेको मुसहरहरुको उत्थानका लागि थालेको अभियानको कदरको स्वरुप सम्मानित गरिएको बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताए।

सीताराम र कुञ्जनाको नेतृत्वको 'धुर्मुस सुन्तली फाउन्डेसन' ले बर्दिवास–२ को मुसहर बस्तीलाई सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको एकीकृत नमुना बस्तीको निर्माण गरिरहेका छन्। यो बस्तीको कूल लागत चार करोड ७८ लाख अनुमान गरिएको छ।

बस्तीका ५० परिवार मुसहरका लागि निर्माण हुने मुसहर नमूना बस्तीमा पूर्वाधारसहितका पक्की घर निर्माण कार्यको सोमबार दिउँसो हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले शिलान्यास गरेका छन्।

हास्यकलाकारद्वय सीताराम र कुञ्जनाले मुसहरका लागि नमुना बस्ती निर्माणको थालनी गरेर हिमाल, पहाड र तराईबीच सद्भाव वृद्धिमा योगदान गरेको बर्दिवासबासी बताउँछन्।

कार्यक्रममा हास्य कलाकार धुर्मुसले एकीकृत मुसहर नमुना बस्ती निर्माणमा बर्दिवासबासीले देखाएको आत्मियता र सहयोगले आफूहरुलाई थप ऊर्जा प्राप्त भएको बताए। “हामी तपाइँहरुसँगै सिमेन्ट, बालुवा, गिट्टी, इँटा बोक्छौँ, अह्राइपराइ र रेडिमेड भाषणले अब मुलुक बन्दैन” धुर्मुसले भने, “हामी सबैले हातमा हात र काँधमा काँध जोडेर अघि बढे मात्रै मुलुक बन्छ।” 

सम्बन्धित सामग्री : धुर्मुस सुन्तलीको 'अर्को आँट' : मुसहर नमूना बस्ती निर्माणको घोषणा
                         : धुर्मुस सुन्तलीले तराईमा पनि नमुना बस्ती बनाउने
                         : धुर्मुस-सुन्तलीको नयाँ यात्रा : मुसहर नमूना बस्ती निर्माण सुरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.