|

धनकुटा । मुलुकमा अहिले नेपालीहरुको महान चाड दशैंले सबैलाई छोएको छ दशैको टीका लगाउन धेरैलाई भ्याइनभ्याइ छ तर, धनकुटामा मात्रै बसोबास रहेको आठपहरियाहरुलाई दशैंको कुनै महत्व नै छैन। दशैंको सन्दर्भ आउनासाथ जंगबहादुर राणाको समयमा मारिएका दुई सांस्कृतिक शहीद रामलिहाङ र रिदामाको प्रसंग आठपहरिया समुदायमा आइहाल्छ।

धनकुटाका आदिवासी आठपहरिया राईले कहिल्यै पनि दशैं मनाएका छैनन। १९३३ सालमा दशैं नमान्दा रामलिहाङ र रिदामा आठपहरियालाई धनकुटामा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो भन्ने मान्यता आठपहरिया समुदायमा स्थापित छ। रामलिहाङ र रिदामा आठपहरियाका पुजाहारी थिए।

दुवैले अनिवार्य रुपमा दशैं मनाउन जारी गरिएको सरकारी आदेशको अवज्ञा गरेपछि झुन्ड्याएर मारिएको किराँत आठपहरिया समाज धनकुटाका अध्यक्ष अष्टमान आठपहरियाले बताए।

धनकुटाको चुलीबन नजिकै झुण्डगाउँ छ। राणाकालमा मानिस झुन्ड्याएर मार्ने ठाउँ भएकोले यो ठाउँको नाम पनि झुण्डगाउँ राखिएको हो भन्ने भनाई छ। चुलीबनको पिकनिक पार्क नजिकै झुन्डगाउँ हुनु र रामलिहाङ र रिदामालाई पनि झुन्ड्याएर मारिएको कथनबाट यी दुई कुनै काल्पनिक पात्र नभई वास्तविक साँस्कृतिक सहीद हुन भन्ने लागेको किराँत आठपहरिया समाज केन्द्रिय महासचिब सुर्य आठपहरियाको भनाई छ।

दशैं लादिएको

जबरजस्ती दशैं मनाउने सरकारी प्रयासको अवज्ञा गर्दा दुई व्यक्तिको प्राण हरिएको इतिहास भए पनि आठपहरियाहरुमा दशैं भने लादिएको भन्ने गरिएको छ। राजा राजेन्द्रविक्रम शाहको समयमा जारी एक रुक्का यसको प्रमाण भएको किराँत आठपहरिया समाज केन्द्रीय महासचिब आठपहरियाले बताए।

‘धनकुटाको मार्गाथानको पूजाहारी खलकलाई दशैंमा पूजा गर्न एक गुठीसमेत स्थापना गरिएको प्रमाण उक्त रुक्काबाट प्राप्त हुन्छ’ उनले भने ‘धमिलो र मुस्किलले बुझिने उक्त रुक्का धनकुटाको ताङखुवा निवासी मुन्धुम तथा इतिहासविद भरत तुङघङसँग रहेको छ।’

वि.सं. १८९२ को वैशाखमा धनकुटाका वाहिदुमसिंह राईका नाममा उक्त रुक्का जारी भएको उनको भनाइ छ।

नित्य पूजा र बडादशैंमा पञ्चवली पूजाका लागि २२ मुरीको गुठी राखेको र बडा दशैंमा पञ्चवली दिनु भन्ने आदेश रुक्कामार्फत दिइएको भनाइ छ। मार्गाका पूजारी मांवु थरका आठपहरिया हुन।

उनका सन्तानहरु चितदलसिंह, जितासिंह, प्रतापसिंह हुँदै पाँचौं पुस्ताका भरतसिंहले उक्त रुक्का जोगाएर राखेका हुनाले यो रुक्काबाट आठपहरियामा दशैं लादिएको थियो भन्ने प्रमाणित हुन आउने उनले बताए।

यसरी सरकारी तहबाट राजा नै लागेर लादिएको दशैंको अवज्ञा गर्दै आएका आठपहरिया राईमध्ये रामलिहाङ र रिदामा अगुवा बनेर निस्केका हुनाले उनीहरुलाई झुन्ड्याएर मृत्यू दण्ड दिइयो भन्ने अनुमानलाई उक्त रुक्काले बलियो बनाएको आठपहरियाहरु बताउँछन।

देशमा आएको संघीयता पछि धनकुटाको चुलिबनलाई सहिद रामलिहाङ र रिदामा स्मृति पार्क घोषणा गरिसकिएकोे छ। धनकुटाका आठपहरियाहरु आफ्नो परम्परा, भाषा र सँस्कृतिप्रति मरिमेट्ने जाति हुन। उनीहरूले वैशाखे पूर्णिमा, भदौरे पूर्णिमा र मंसिरे पूर्णिमालाई भब्यतापूर्वक मनाउने गरेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.