|
फाइल फोटो

धनकुटा : धनकुटामा दुईको शव फेला परेको छ। शहीदभूमी गाउँपालिका–७ स्थित तमोर नदी किनार र महालक्ष्मी नगरपालिका–४ दमारस्थित अरुण नदी किनारमा एक/एक महिलाको शव फेला परेको हो।

अरुण नदीमा भेटिएको शवको पहिचान भएको छ भने तमोरमा भेटिएको शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

अरुणमा भेटिएको शव संखुवासभाको खाँदबारी नगरपालिका–९ ढुङगेधाराकी २३ वर्षीया सदिछा श्रेष्ठको भएको पुष्टि भएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले बताए। गत भदौ ३१ गते संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित अक्कर भीरबाट को १ ज ३७४९ नम्बरको बोलेरो जिपसँगै अरुण नदीमा खसेर श्रेष्ठसहित ६ जना बेपत्ता भएका थिए।

नदीमा शव फेला परेपछि पुगेका श्रेष्ठका आफन्तले शवको पहिचान गरी जिम्मा लिएको कोइरालाले बताए। बेपत्ता भएका अन्य पाँचजना र गाडी अझै फेला परेको छैन।

यता, सहिदभूमी गाउँपालिका–७ सितेनी भीरस्थित तमोर नदी किनारमा भेटिएको महिलाको शवको भने पहिचान खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख कोइरालाले बताए। करिव ४०/४५ वर्षीया जस्तो देखिने महिलाको शव सडेर चिन्न नसकिने अवस्थामा रहेको एसपी कोइरालाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.