|

कञ्चनपुर : थारु समुदायले धुमधामका साथ दशैं मनाएका छन्। उनीहरूले परम्परागत सखिया नृत्य गर्दै दशैं मनाएका छन्।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका वडघर रामप्रसाद चौधरीले कोसेलीसहितको नृत्य टोलीसँगै देशबन्धिया गुरुवाको घरमा पुगेर दशैँको अवसरमा टीका थापेका थिए। थारु समुदायमा देशबन्धिया गुरुवाको स्थान उच्च रहने गर्छ। सधैं सखिया नृत्य टोलीसँग टीका थाप्नका लागि आइपुग्थे। उनले भने, ‘यस पटक झुम्रा नृत्य टोलीसँगै पुगेर टीका थापे।’

गुरुवासँग टीका थापेर आर्शिवाद लिएपछि झुम्रा नृत्यसँग सखिया नृत्यको सबै गाउँलेसँग बसेर मनोरञ्जन मात्रै लिएनन् सधैँ कामको सिलसिलामा गाउँभन्दा बाहिर बस्नेहरूको हालचाल बुझ्नाका साथै भलाकुसारी गर्नसमेत भ्याए।

थारु समुदायको बडादशैंको टीका थाप्न जाँदा नृत्यसहित पहुरा (कोसेली) लिएर जानुपर्ने परम्परागत चलन रहेको छ। कोशेलीका रूपमा टीका, जमरा, बेवरी, चामल र मदिरा लिएर जाने चलन रहेको छ।

गुरुवासँगै गाउँका मान्यजन वडाध्यक्ष, सदस्य, वडघर, केसौका र चौकिदारको घरमा कोसेलीसहित पुगेर टीका थाप्नुपर्ने पुरानो चलन छ। शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्षको घरमा पुगेरसमेत पिपलाडी र जोनापुरको सखिया, झुम्रा नृत्य टोलीसहित गाउँका सबैले टीकासमेत थापे।

यस पटक वडा कार्यालयले दशैंका अवसरमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख दिलबहादुर ऐरले मान्यजनबाट टीका थापे भने आफूभन्दा सानालाई टीका लगाएर आशीर्वादसमेत दिए। पालो पर्खंदै पहुरा (कोसेली) लिएर थारु समुदायका बालबालिका, बूढापाका, महिला र तन्नेरी टीका थाप्नका लागि मान्यजन कहाँ जाने गरेका छन्।

टीका थाप्न गाउँ गाउँबाट सखिया, छोक्रा, लठुवा र छोक्रा नाचसँगै पहुरारुपसहित मान्यजनकहाँ जाने चलन रहेको स्थानीयवासी परदेशी चौधरीले बताए। गाउँका मान्यजनका रूपमा समाजले सामाजिक र सांस्कृतिक कार्य गर्न चुनेका बडघर, गुरुवा र केशौकाबाट पहिलो टीका थापेर आशीर्वाद लिनुपर्ने परम्परागत चलन रहेको उनले बताए। ‘हाल जनप्रतिनिधिकहाँ पुगेरसमेत टीका थाप्न थालेका छौँ’, उनले भने।

बडघरपछि गुरुवा, केसौका जनप्रतिनिधि र मान्यजनबाट पालो पालो सामूहिक रूपमै थारु समुदायले  टीका थाप्ने गरेका छन्।

टीका थाप्नेहरूका लागि टीका लगाउने बडघर र गुरुवाको घरमा चामलको पिठोबाट बनेको ढिक्री, दालभात, माछा मासु र तरकारी खुवाउने व्यवस्था मिलाएको हुन्छ। मंगलबार दिनभर सखिया नाचको रौनक हुने भएकाले थारु गाउँमा उमङ्ग थपिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.