|
चीन भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ

चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको प्रभाव ऐतिहासिक हुने चिनियाँ सरकारले विश्वास गरेको छ। चीन सरकारका उपविदेशमन्त्री लुओ झाओहुईले पत्रकार सम्मेलन गरेर राष्ट्रपति सीको नेपाल भ्रमण दुवै मुलुकको सम्बन्धका लागि ऐतिहासिक हुने बताएका छन्।

 राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सीको भ्रमण राजकीय हुनेछ। उनी भारत हुँदै असोज २५ गते काठमाडौं आइपुग्नेछन्। उनको यो दुई दिने राजकीय भ्रमण हुनेछ।

चीनका राष्ट्रपति २३ वर्षपछि नेपाल भ्रमणमा आउन लागेका हुन्।

उपविदेशमन्त्री झाओहुईले छिमेकी मित्रराष्ट्र भएको तथा बेल्ट एन्ड रोड इनिसिएटिभका लागि महत्त्वपूर्ण साझेदार भएको बताएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ।

नेपाल-चीनबीच कुटनीतिक सम्बन्धि स्थापित भएदेखि नै एकअर्कालाई समान राष्ट्रका हैसियतमा सम्मान र समर्थन गर्दै आएको झाओहुईले बताएका छन्। दुई फरक सामाजिक संरचना भएका र भौगोलिक रूपमा असमान चीन-नेपालले विश्वलाई दुवै देशको फाइदाका लागि कसरी सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिइरहेको उनले बताएका छन्।

‘राष्ट्रपति सीको ऐतिहासिक नेपाल भ्रमणले अवश्य पनि ऐतिहासिक प्रभाव पार्नेछ’, मन्त्री झाओहुईले भनेका छन्।

मन्त्री झाओहुईले सीको नेपाल भ्रमणको तालिका पनि सार्वजनिक गरेका छन्। उनले राष्ट्रपति सी  राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्ने स्वागत समारोह र रात्रि भोजमा सरिक हुने बताए। सीले राष्ट्रपति भण्डारीसँग वार्तालाप गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने मन्त्री झाओहुईले जानकारी दिए। उनले दुई देशबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षरको प्रधामन्त्री ओलीसँगै राष्ट्रपति सी साक्षी बन्ने बताएका छन्।

राष्ट्रपति सी जिनपिङ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गर्ने उपविदेशमन्त्री झाओहुईले बताएका छन्। राष्ट्रपति सीले संघीय संसदका विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि छलफल गर्ने जानकारी दिएका छन्।

राष्ट्रपति सीको नेपाल भ्रमणले दुवै देशबीच सम्बन्धमा नयाँ आयाम थपिने र द्विपक्षीय सम्बन्धको नयाँ योजना तयार गरिने चिनियाँ सरकारले बताएको छ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले दुई मुलुकको आपसी विश्वास, जनस्तरको सम्बन्ध थप बलियो हुने उपविदेशमन्त्री झाओहुईले बताएका छन्। उनले बेल्ट एन्ड रोडको निर्माणमा उच्च गुणस्तरका साथ तीव्र निर्माण गरिने जानकारी दिए। त्यस्तै ट्रान्स हिमालय कनेक्टिभिटी निर्माण गर्न पनि सीको भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने उनले जानकारी दिए।

दुई देशबीचको बहुआयामिक सहकार्य र व्यवहारिक रूपमा नै सहकार्य गर्नका लागि राष्ट्रपति सीको भ्रमणले ऊर्जा प्रदान गर्ने उपविदेशमन्त्री लुओ झाओहुईले विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.