म तिम्रो जुत्ता हुँ
लगाऊ आफ्नो गोडामा
अनि, हिँड ।
म तिम्रो टोपी हुँ
टाउकामा लगाएर हिँड ।
लौरो–छाता पनि हुँ म
टेक्दै–ओढ्दै हिँड ।
बत्ती–नक्सा पनि हुँ म
बाल्दै–पढ्दै हिँड ।
बाटो पनि केही
भएको रहेछु भने
आऊ, टेक मलाई
अनि, हिँड ।
तर तिम्रो हिँडाई
म भइदिन मिल्दैन
तिमी नै हुनु पर्दछ ।
तिम्रो हिँडाइको कारण
अनि उद्देश्य पनि
तिमी आफैं हौ
अरु भइदिन मिल्दैन ।
तिमीलाई यत्ति कुरा
‘थाहा’ हुनु पर्दछ,
नत्र तिमी त
नतिमी बन्न पुग्दछौ
अनि, छ जति जम्मै
तिमीबाट टाढिन्छ, र
तिमी अरुको फेला पर्दछौ ।
मुक्त–जीवन बाँच्नलाई
एउटै मात्र उपाय छः
तिमी ‘थाहा’ हुनु पर्दछ
‘थाहा’ तिमी हुनुपर्दछ ।
(रुपचन्द्र बिष्टद्वारा २०४२ सालमा लेखिएको।)
तपाईंको ईमेल गोप्य राखिनेछ ।