|

काठमाडौं : संघीय संसद सचिवालयले निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन भएको सूचना जारी गरेको छ।

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार एक सूचना जारी गर्दै महराको संसद पद निलम्बन भएको जनाएका हुन्।

महानगरीय प्रहरी वृत्त बानेश्वरले महरा पक्राउको जानकारी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई गराएको उल्लेख गर्दै महासचिव भट्टराईले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ बमोजिमको प्रयोजनका लागि पक्राउ गरिएकवो हुँदा उपनियम २ बमोजिम सूचना जारी गरिएको बताएका छन्।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ मा  ‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ’, भन्ने व्यवस्था छ।

महरा यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेकाले उनलाई निलम्बन गरिएको हो। उनलाई केही पहिले संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीले यौन दुर्व्यवहारको उजुरी प्रहरीमा दिएकी थिइन्। सोहीअनुसार महरालाई प्रहरीले पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.