|

काठमाडौं : मंसिर १४ गते हुन गइरहेको स्थानीय, प्रदेश र प्रतिनिधिसभा उपनिर्वाचनको मतदाता नामावली स्वीकृत भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव गिरिजा शर्माले तीनै तहको ५२ पदका लागि हुने उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरिएको जानकारी दिएका हुन्।

प्रवक्ता शर्माले उपनिर्वाचनको तयारी तीव्र भइरहेको जानकारी दिँदै प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाअध्यक्ष ४३ गरी कुल ५२ पदका लागि हुने उपनिर्वाचनमाको अन्तिम मतदाता नामावली २३ गते बिहीबार स्वीकृत गरिएको जानकारी दिएका हुन्।

शर्माले भने, ‘उपनिर्वाचन प्रयोजनको लागि अन्तिम मतदाता नामावली समेत स्वीकृत गरिएको छ। अन्तिम मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका स्थानीय तहका १५५ वडामा मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावली अध्यावधिक (दाबी विरोध) कार्यक्रम सञ्चालन गरिएको थियो। सो बमोजिम उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा कुल मतदाता चार लाख ५४ हजार ११४‍ रहेको छ।‘

उपनिर्वाचनमा महिला मतदाता दुई लाख ३३ हजार ४०२ जना, पुरुष मतदाता २ लाख २० हजार ७१० जना र अन्य लिंगी मतदाता दुई जना रहेको शर्माले जानकारी दिएका छन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा ‍७१ हजार ८७१ जना मतदाता रहेको आयोगले जानकारी दिएको छ। प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार ०१५ जना, ३६ हजार ९२६ जना र ७३,१७२ जना मतदाता रहेको आयोगले जनाएको छ।

आयोगले मतदान केन्द्र पनि तोकिसकेको जानकारी दिएको छ। प्रवक्ता शर्माका अनुसार उपनिर्वाचन प्रयोजनको लागि मतदान केन्द्र तोक्दा बढीमा एक हजार एकसय मतदाताका लागि एक मतदान केन्द्र रहने गरी तोकिएको छ। उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २४७ स्थलमा ५३७ मतदान केन्द्र रहेको उनले बताए। ८०० वा सो भन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३३७ रहेका छन् भने ८०० भन्दा कम मतदाता रहेका केन्द्र २०० रहेको आयोगले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.