|

आतंकवादी संगठन इस्लामिक स्टेटको सञ्जालमा आबद्ध दुई व्यक्तिले इन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार गरेको गुप्तचर निकायले जनाएको छ।    

इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्तास्थित अस्पतालमा भर्ना गरेर आपतकालीन उपचार गरिएको छ।

स्थानीय टेलिभिजनले प्रसार गरिरहेका दृश्यमा सुरक्षाकर्मीले जाभा द्वीपको पान्डेग्लाङमा दुई जनालाई पक्राउ गरिरहेको देखाएका छन्। विरान्तोलाई यही स्थानमा आक्रमण गरिएको थियो। आफ्नो सवारी साधनबाट ओर्लनासाथ स्थानीय मानिससँग भेटघाट गर्नेक्रममा उनीमाथि आक्रमण भएको थियो।    

शंकास्पद व्यक्तिहरुमा ३१ वर्षीय स्याहरिल अलाम्साह र २१ वर्षीया फित्री एन्ड्रीयाना रहेका छन्। उनीहरु विवाहित दम्पती हुन्। उनीहरू इन्डोनेसियाका प्रतिबन्धित जमाह अन्सारुत डउलाह (जेएडी) का सदस्य रहेको गुप्तचर निकायका प्रमुख बुडी गुनावानले बताए।

यो समूहले गत वर्ष इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायाका इसाई गिर्जाघरमा आत्मघाती आक्रमण गरेको थियो।

छुरा प्रहार भएलगत्तै ७२ वर्षीय विरान्तोलाई हेलिकोप्टरमा राखेर राजधानी जकार्तास्थित अस्पतालमा लगी भर्ना गरिएको छ। प्रहरीका अनुसार उनीमाथि यसअघि पनि दुई पटक असफल हत्या प्रयास गरिएको थियो।    

इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले विरान्तोको शल्यक्रिया गरिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए। उनले भने, 'आतंकवाद र कट्टरपन्थी विचारधारालाई हामी सबैले मिलेर परास्त गर्नुको विकल्प छैन।'    

विरान्तोसँगै एकजना स्थानीय प्रहरी प्रमुख र उनका दुईजना सहयोगीमाथि पनि छुरा प्रहार भएको थियो। तर, उनीहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.