|

म्याग्दी : प्राचिन कालमा नुन र ऊनको ठाउँ भनेर चिनिने मुस्ताङ अहिले प्राकृतिक सुन्दरता र धार्मिक विश्वासका कारण 'सुन' फल्ने ठाउँको विम्व दिन थालिएको छ। खम्पा विद्रोहदेखि लिएर अहिले चीन र भारतको रणनीतिक दाउपेचको माध्यम बनेको मुस्ताङ सुन्दर प्रकृति र विविधतायुक्त धार्मिक सम्पदाकै कारण विश्वभर चर्चामा छ।

प्राकृतिक दृश्यावलोकन र तीर्थस्थल दर्शनका लागि मुस्ताङमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्छन्। यस अर्थमा मुस्ताङ प्रकृति र अध्यात्मको फ्यूजन रुप हो। प्राकृतिक तथा धार्मिक दृष्टिकोणबाट निकै महत्वपूर्ण स्थलका रूपमा रहेको मुस्ताङ दुई उच्च हिमश्रृङ्खला धौलागिरि र नीलगिरी हिमालको बीचमा अवस्थित छ।

लामो समय तिब्बतीहरूको शासन रहेको मानिने मुस्ताङमा रीतिरिवाज र धार्मिक संस्कृतिहरू तिब्बतिसँग मिल्दोजुल्दो छ । समयअनुसार फरक स्वरूपमा देखिने मुस्ताङमा माथिल्लो भागहरूमा हिउँ पर्न सुरु गर्दा तल्लो भूभागमा जाडो सुरु भइसकेको हुन्छ  । 

मुस्ताङ नेपाल र तिब्बतमा परापूर्वकालमा व्यापारिक नाकाका रूपमा रहेको थियो । अन्नपूर्ण हिमशृंखलाको उत्तरमा पर्ने भएकाले मुस्ताङमा अन्य ठाउँको तुलनामा कम वर्षा हुने गरेको छ ।

लोभ्याउने प्रकृति र सिकाउने संस्कृति 
मुस्ताङको जल,जमिन र जंगल तिनै चीज मानिसहरुका लागि अत्यन्त उपयोगि भएका मुस्ताङलाई राम्रोसंग चिनेका  रंगराज शास्त्रीले बताउछन्। हिन्दुहरूको पवित्र स्थलका रूपमा रहेको मुक्तिनाथदेखि प्रसिद्ध दामोदर कुण्ड, कागबेनीलगायतका स्थानहरूको विशेष महत्व छ।

विविधतामय भूगोल,सेता र शुभ्र हिमश्रृङखला,कलकल बगेको कालीगण्डकी,भेडा,च्याङ्ग्रा,चौंरीगाई र याकको बथान,लहरै लागेर उकाली ओराली चढ्दै र झर्दै गरेका पर्यटकको ताँती,खच्चड र घोडाको बथान,तल्लो भेगमा स्याउ,उवा, साग र आलुको आग्र्यानिक खेती, गुम्वा,पहाडमा खोपिए जस्ता देखिने ओढार आदिले पर्यटकको मन खिच्न सफल भएका स्थानीय व्यवसायी धनवहादुर गौचन बताउछन्। 

आधुकिताले नछोएको रैथाने संस्कृति 
मुस्ताङ अव आधुनिकतातर्फ उन्मूख भैरहेको छ । माटोका घरहरु विस्थापित हुने क्रममा छन् । कंक्रिटका ठूल्ठूला भवनहरु ठडिएका छन् । मुस्ताङीहरुको आर्थिक स्थिति अव काठमाण्डौं,पोखरा लगाएतका ठूला सहरका प्रख्यात व्यापारी व्यावसायीहरुको भन्दा कम छैन । 

मुस्ताङको उत्तरी भेग तिब्बतियन संस्कृतिबाट प्रभावित छ भने दक्षिणी भेगमा छिमेकी जिल्लाको पनि केही प्रभाव परेको छ । बौद्ध धर्म बढी मान्ने हुनाले घ्याङ र गुम्बामा पूजाआजा गर्ने लामा, झुमा बस्ने परम्परा कायमै छ। घरको र गाउँको रक्षार्थ मूल ढोकामा याक, भेडाको टाउको झुन्ड्याउने, गाउँको वरपर ढुंगाको धार्मिक ग्रन्थका मन्त्रहरू लेख्ने, परम्परागत माने निर्माण गर्ने र हिँड्दाखेरि मानेलाई दाहिने पारेर हिँड्ने चलन रहेको छ ।

जिल्लामा बौद्धमार्गीहरू पनि प्रशस्त भएकाले बौद्ध धर्मअनुसार प्रत्येक बौद्ध धर्मावलम्बीहरूले आफ्नो परिवारको माहिलो छोरोलाई लामा र माइली छोरीलाई झुमाका रूपमा गुम्बामा चढाउनुपर्ने अनिवार्य प्रावधान रहेको छ । 

मुस्ताङको नामाकरण 
मुस्ताङलाई तिब्बतको एक भागका रूपमा उभ्याइने गरेको जनविश्वास अहिले पनि रहेको छ । मुस्ताङ जिल्लाको नामनै तिब्बती भाषाबाट भएकाले पनि जनविश्वासलाई आधार मान्न सकिन्छ ।

तिब्बतियन भाषामा मन भनेको औषधि र थाङ भनेको चौरबाट ‘मनथाङ’ औषधि पाउने चौरका रूपमा यसको नाम विस्तार भएको र बिस्तारै ‘मनथाङ’ बाट अपभ्रंश हुँदै मुस्ताङ भएको विश्वास गरिन्छ । 


मुक्तिनाथलाई उजिल्याउने कालीगण्डकी र कागबेनी 
हिन्दू र बौद्ध समुदायको आस्थाको प्रतिक मानिने मुक्तिनाथ प्रशिद्ध तीर्थस्थल मध्येको एक हो । मुक्तिनाथको दर्शनका लागि विश्वभरका हिन्दु र वौद्ध समुदायका मानिसहरु आउने गर्दछन् ।

मुक्तिनाथलाई उजिल्याएर संसारभर चिनाउने माध्यम भनेका कालीगण्डकी र कागबेनी हुन् । मुस्ताङलाई मध्यभाग पारेर बग्ने कालीगण्डकीको आफ्नो छुटै विशेषता रहेको छ । हिन्दुहरूका लागि नगई नहुने स्थानको रूपमा रहेको मुक्तिनाथ कालीगण्डकीमा दुर्लभ मानिने शालिग्राम पाइने भएकाले त्यसको थप महत्व रहेको छ ।

कालीगण्डकी र कागबेनीको संगमस्थल (कागबेनी) मा श्राद्ध गर्नाले पितृहरू मोक्ष हन्छन् भने धार्मिक मान्यता रहेको छ । सोहीअनुसार हरेक दिन कागबेनीमा पितृ कार्य गर्नेको संख्या उल्लेख्य रहने गरेको छ । जिल्लाको जातिगत विविधिताको कारण सामाजिक रीतिरिवाज र प्रचलन भने फरक रहेको छ ।

मुस्ताङ घुम्‍ने याम 
यस्तो विविधतामय प्राकृतिक सुन्दरताले युक्त र आध्यात्मिक महत्वले पूर्ण मुस्ताङ भ्रमणको उपयुक्त समय शुरु भएको छ । जाडोसँगै हिउँ पर्ने सिजन भएकाले पर्यटकहरूका लागि असोजदेखि मंसिरसम्म यात्राका लागि राम्रो मानिन्छ । माघ अन्तिमदेखि फागुनबाट पुनः नयाँ सिजन सुरु हुने गर्दछ ।
 पछिल्लो समय स्याउको मार्फा कोसेलीका रूपमा रहेको छ ।

उत्पादित स्याउबाट बनाइएको मार्फाले मुस्ताङ जोनमाझ छुट्टै प्रभाव बनाएको छ । समग्रमा मुस्ताङ घुम्न उत्कृष्ट गन्तव्यका रूपमा चिनिने गरेको छ। 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.