मनोरञ्जन

मूर्तिभञ्जकको मूर्ति (निबन्ध)
SHARES

पुस २५, २०७३

    अजङ्गको कदका रुपचन्द्र बिष्ट एक जटिल ग्रन्थि, एक रोमाञ्चक रहस्य, एक विचित्र मानवजस्ता लाग्थे। पहिलो पटक भेटेर तिनका लय नमिलेका कुरा सुन्ने जोसुकैलाई पनि लाग्दो हो— यो मानिस तामसी हो, सन्काहा हो अथवा यो ‘ठिस्’ हो। यसको दिमागका एक–दुईवटा तार पक्कै खुकुलिएकै होलान्! तर त्यही क्षणमा तिनको असामान्य व्यक्तित्वको सतहमुनि लुकेको कुनै चुम्बकीय तत्वले उसलाई नजानिँदो गरी आफूतिर खिच्दो पनि हो। रुपचन्द्र बिष्ट आफ्नो लवाइ र खवाइमा, चिन्तन र वचनमा, आदर्श र आचरणमा लुखुर–लुखुर सनातनी गोरेटोमा हिँड्ने सरदर मानिसभन्दा बिछट्ट बेग्लै थिए। उनका विचारको मौलिकता, उनका आदर्शको आकर्षण र उनका आचरणको शक्ति त्यही उनको बेग्लोपनबाट पैदा भएको थियो। उनको त्यो बेग्ल्याइँ दुई जिब्रे कुरा, पाखण्डी अभिनय वा छलकारी आश्वासनमा होइन, कथनी र करनीको मितेरी साइनोमा थियो, आदर्श र आचरणको सङ्गतिमा थियो। उनी जे भन्थे, त्यो गर्थे। उनी जे गर्थे, चुसिएका र हेपिएका, दबिएका र बक् हरिएका जनहरूका लागि गर्थे। अनि उनी जे गर्थे, त्यसबाट आफू कुनै फल पाउने आशा कहिल्यै राख्दैनथे। उनको सेवाको दाउ पछि मेवा खानु थिएन। उनी जे गर्थे, केवल जनजागरणका लागि गर्थे, केवल न्यायका लागि गर्थे, केवल सत्य, शिव र सुन्दरका लागि गर्थे।

    रुपचन्द्र बिष्ट साँचो अर्थमा मूर्तिभञ्जक थिए। उनी जहँजहाँ पाइला टेक्थे, त्यहाँ मूर्ति भञ्जन गर्न अर्थात् मूर्ति तोड्न उनी बेत्तोडले आफ्नो विचारको घन उठाइहाल्थे। त्यो सत्यको मखमली खोल हालिएको झुठको मूर्ति हुनसक्थ्यो। त्यो न्यायको चहकदार जलप लगाइएको अन्यायको मूर्ति हुनसक्थ्यो। त्यो सत्यको भ्रान्तिकारी आवरणमुनि छोपिएको असत्यको मूर्ति हुनसक्थ्यो। र, त्यो सदाचारको सुन्दर खोलभित्र लुकाइएको दुराचारको कुरुप मूर्ति हुनसक्थ्यो। रुपचन्द्र बिष्ट आफ्नो मूर्तिभञ्जन अभियानमा एक अाँधी थिए, एक आतङ्क थिए। रुपचन्द्र एकमा अनेक थिए। चिन्तक पनि आफैँ, आफ्नो चिन्तनलाई मूर्त रुप दिने व्यूहरचनाकार पनि आफैँ, त्यो व्यूहरचनालाई व्यवहारमा साकार रुप दिने अभियन्ता पनि आफैँ। एक छाँटका एकल अभियन्ता! जो जो उनको अभियानको पछि लागे, ती उनले ‘आऊ’ भनेर आएका थिएनन्। ती उनको आकर्षणबाट डोरिएर यस्सै आएका थिए। ती उनको चिन्तन, कर्म र आचरणको सुवासबाट मोहित भएर आएका थिए ।

    लाजमर्नु कुरो, अहिले उनै साहसिक मूर्तिभञ्जक रुपचन्द्र बिष्टको मूर्ति खडा गरिएको छ। सुन्छु, मूर्ति खडा गर्नेहरू उनकै अभियानका सहयात्रीहरू हुन्। सके यी मूर्तिपूजकहरू रुपचन्द्रपथका ज्ञाता र प्रवक्ता, अनुयायी र साधक भनी आफूलाई चिनाउनमा खुबै गर्व गर्दा हुन्। तर, मूर्तिभञ्जक रुपचन्द्रकै मूर्ति खडा गरेर तिनले रुपचन्द्रका आदर्शको बिम्बमा ध्वाँसो त दलिदिएका छन् नै, तिनले आङ्खनै हातले ध्वाँसो दलेर आफ्नो अनुहार पनि हेरिनसक्नु बनाएका छन् ।

    छत्तीस सालको जनमत सङ्ग्रहको चेतन–प्रवाहको धक्काले जब शाही पञ्चायतको धनु हल्लाइदियो, रुपचन्द्र बिष्ट पञ्चायती राजनीतिको मैदानमा हाम्फाले। उनले आफ्नो राजनीतिको नाउँ ‘जनमुखी’ राखे। उनले चलनचल्तीको कुनै दर्शन वा राजनीतिक आदर्शको म अनुयायी हुँ भनेनन्। बरु शाही पञ्चायतका अाँखा छल्न उनले ‘थाहा’ शब्द रोजे। त्यो ‘थाहा’ उनको दर्शन, सिद्धान्त, आदर्श सबैथोकको एकल प्रतीक थियो। उनले ‘थाहा’का अनेक आकारका रबरछाप बनाए र जहाँ गयो त्यहाँ उनी भकाभक ‘थाहा’ छाप ठोक्दै हिँडे। सडकका भित्तामा ‘थाहा’ छाप, घरका भित्तामा ‘थाहा’ छाप, चौतरी–देउरालीमा ‘थाहा’ छाप, युवाहरूका छाती–छातीमा ‘थाहा’ छाप। नागबेली परेको जीवन–यात्रामा वाहन चालक र प्रधानाध्यापकबाट प्रधानपञ्च हुँदै उनी ‘जनमुखी’ शैलीमा राष्ट्रिय पञ्चायतको चुनाव लड्न पुगे। त्यो पनि उही ‘जनमुखी’ शैलीमा। हातमा एक अम्मलको पर्चा छ, मुखमा छ ‘ए भाते, कुकुरहरू’ हो! कुमबाट हाते माइक झुन्डिएको छ, कबाडीखानाबाट झिकिएजस्तो पत्रु स्कुटरमा चढेका छन्। सित्तीमा कसैको केही नलिने उनको कठोर नीति छ। उसो त विचार र आदर्शबाहेक उनी कुनै पनि भौतिक वस्तु सित्तीमा कसैलाई नदिन प्रतिबद्ध छन्। चुनावी खर्च जोड्न उनी सुका–मोहोरमा ‘भाते, कुकुरहरू’लाई पर्चा हातहातै बेच्छन्। वचन त्यस्तो क्षुद्र छ, तैपनि मानिसहरू हाँसी–हाँसी उनका पर्चा किनेर बडो खुल्दुलीसाथ पढ्छन्। रुपचन्द्रको मनोरचना र अभिव्यक्ति शैली तिनले बुझेका छन्। र नै तिनका नजरमा रुपचन्द्रको ‘भाते, कुकुरहरू’ क्षम्य छ।

    राष्ट्रिय पञ्चायतको चुनावी सरगर्मी जारी छ। जताततै भित्ताभरि अरू उम्मेवादरहरूका एकदमै भड्किला चुनावी फोटा टाँसिएका छन्। रुपचन्द्रको त्यस्तो केही छैन। ती भन्छन्— ‘चुनाव लड्ने फोटाले होइन, विचारले हो। राजनीति गर्ने अनुहारले होइन, भावनाले हो ।’ उनको त्यो भनाइमा मूर्तिभञ्जनको हुङ्कार बोल्छ। तर, उनै रुपचन्द्रलाई श्रद्धा टक्रयाउन भनी उनैले भन्ने गरेका ‘भाते, कुकुरहरू’ले अहिले उनको कर्मथलो पालुङमा उनको आदर्शलाई क्रुरतासाथ कुल्चिँदै उनको निष्प्राण र भावशून्य मूर्ति ठड्याएका छन्। त्यो मूर्तिमा रुपचन्द्रको प्रिय आदर्शलाई गिज्याइएको त छ नै, त्यसमा कर्मकाण्डीय मूर्तिपूजाप्रतिको भयानक आसक्ति पनि लेपन गरिएको छ ।

    कुरा फेरि उही पञ्चायती चुनावका। रुपचन्द्र सूत्रवचनहरूमा आफ्नो राजनीतिको अर्थ ट्याक्क भर्छन्। अनि उनी आफ्नो अभियानलाई ‘निष्पक्ष अभियान’ भनी अथ्र्याउँछन्। तैपनि पक्षधरताको ध्वजा उचालेर उनी उद्घोष गर्छन्— ‘श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन, छाप्राको राजनीति दरबारले गरेर हुँदैन ।’ उनी कुरा घुमाएर आफ्नो चिन्तनको सार प्रकट गर्छन्— ‘हामी कसैका होइनौँ, कोही हाम्रा होइनन्। हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रा ।’ उनको मनको पन्तुरोभरि जनचेतना जगाउने राजनीतिका यस्ता सूत्रवचनहरू छन्, र उनको झोलामा छ पेट भर्ने रुखोसुखो रासन। उनी जजसका घरमा बस्छन्, आफ्नो र घरबेटीको रासन बाँडीचुँडी खान्छन्। खातिरदारी उनलाई मन पर्दैन, खुला र सादापन पाए उनी फुरुङ्ग पर्छन्। उनी फिरन्ते भेषमा मकवानपुर जिल्लाका दुर्गम र विकट भेगका एक–एक अभावग्रस्त छाप्राहरू चहार्छन्। उनी पलेँटी कसेर गुन्द्रीमा बस्छन् र मन फुकाएर गाउँलेहरूसँग बात मार्छन्। आफू सूत्रमा छोटोमा छिटो बोल्छन्। र, अरूहरूलाई मनका बह पोख्न मनग्गे मौका दिन्छन्। यसरी माओका शब्दमा उनी गाउँलेहरूसँग माछो र पानीको साइनो गास्छन्। यी हुन्, ‘थाहा’ आन्दोलनका प्रणेता ‘जनमुखी’ रुदाने ।

    जिब्रामा विचारको तेजस्वी घन छ। रुपचन्द्र मूर्तिभञ्जन गर्ने आफ्नो तुफानी यात्रामा गतिमान् छन्। जे जे हो र जो जस्तो हो, उनी त्यसलाई प्वाक्क त्यस्तै भनिदिन्छन्। उनलाई न केहीको डर छ, न कसैको त्रास । के प्रशासक, के शासक, के साहु, के मठाधीश सबैलाई उनी ‘ए भाते, भ्रष्टाचारी, दुराचारी’ भन्न बाँकी राख्दैनन्। यसो भन्छन् र भनिनेको साँचो चिनारी उसकै अाँखासामु उदाङ्गो पारिदिन्छन्। उनलाई कसैका अगाडि निहुरिएर हात पसार्नु छैन। उनको अदम्य नैतिक शक्तिको मुहान त्यहीँ छ ।

    ‘जनमुखी’ भेषमा नवीन विचारको शक्तिले ओतप्रोत भएर जब रुपचन्द्रले राष्ट्रिय पञ्चायतमा पाइला टेके, यो कहाँको को आइलाग्यो भनेर राजाका गोटीतुल्य पञ्चहरू तिल्मिलाए। पञ्चायतलाई ‘राष्ट्रियता’ र ‘विकास’को मायावी झल्लरीभित्र सजाइएको थियो। उनले त्यो झल्लरी ध्वाध्र्वारी च्याते। र भने— ‘भाते हो! यो महाभ्रष्टाचारी व्यवस्था हो ।’ त्यो महाभ्रष्टाचारी व्यवस्थाका नियम र कानुन, नीति र कार्यक्रम बनाउने राष्ट्रिय पञ्चायतको अध्यक्षलाई पञ्च ‘माननीय’हरूले निहुरिएर ‘सम्माननीय’ भन्नुपर्थ्यो। रुपचन्द्रले त्यसो भन्न इन्कार गरे। अध्यक्ष नाउँको जीव उनलाई ‘माननीय’ भनी पुकार्थ्यो। उसलाई पनि उनले बराबरीको साइनो लगाएर ‘माननीय’मात्र  भने। राजाका छायारुपी पञ्चहरूको भीडमा खैलाबैला मच्चियो। र, उनलाई ‘माननीय’ फिर्ता लिएर ‘सम्माननीय’ भन्न गर्नुविधि करकाप गरियो। तर ‘थाहा’को तत्वबोध भएका रुदानेले टेरपुच्छर लगाएनन्। छाती फूकाएर उभिँदै बेलायती बैठकको सभाकक्ष नै थर्किने गरी उनले भने— ‘कोही ‘सम्मानीय’ हुन जनता ‘जाननीय’ हुनुपर्छ। त्यसै भइन्छ ‘सम्माननीय’? बस्, ‘थाहा’सँग जोरी खोज्ने ‘भाते’ पञ्चहरू मुखामुख गर्दै तैँचुप् मै चुप् भए।

    मूर्तिभञ्जक रुपचन्द्रको ‘थाहा’ अभियान निख्ला वचनको आत्मतुष्टिकारी विलास थिएन। सिर्जना र निर्माणको चक्र पनि त्योसँग नङ–मासुझैँ गाँसिएको थियो। रुपचन्द्रका सिर्जनशील हात शिक्षा र कृषि, सडक र सहकारीतिर पनि लहसिए। बाटो खन्ने अगुवा आफैँ। ढुङ्गा बोक्ने अगुवा आफैँ। बारी खन्ने अगुवा आफैँ। आफैँ आफनो खटनकर्ता। आफैँ आफ्नो कुल्ली। रुपचन्द्रका ‘नारी, किसान, कलिला’हरूले उनलाई अाँखाका नानीमा र हृदयको झोलीमा प्रेमले सजाएर राखेको त्यसै हो र?

    ‘थाहा’ फगत चेतनाका ‘जनमुखी’ तरङ्गहरू उनिएर बुनिएको खुकुलो आन्दोलन थियो। रुपचन्द्रमा न सङ्गठनको संरचना बनाउन उत्रो चिन्ता थियो, न त नेतृत्वको तहगत पङ्क्ति खडा गर्न चासो नै थियो। उनी चेतना र आदर्शको विशाल छाता थिए। त्यो छातामुनि ओत लाग्न मानिसहरू यसै डोरिएर आउँथे। छयासील सालमा जब बहुदलीय प्रजातन्त्र फक्र्यो, ठूला दलका प्रजातन्त्र र जनवादका उपासक हौँ भन्नेहरूले चुसाहा सेठहरूको मुक्त बजारमा लगेर आदर्शजति बुझाइदिए, र आफू टपरी बोकेर सत्ताको भान्सामा लुसुक्क छिरे। ‘जनमुखी’ ‘थाहा’ आन्दोलन राजनीतिका यी अगस्ती खाओवादीहरूको घेराउमा पर्‍यो। यो मिचियो, यो किचियो, यो छिन्नभिन्न भयो र यो अलपत्र पर्‍यो। अनि रुपचन्द्रको बाँकी जीवन पराजित मुद्रा, एक्लोपना, उदासी र सुस्केरामा सकियो ।

    ‘थाहा’ चिन्तन सूत्र कविता र सूत्र गद्यमा रहस्यजस्तो भएर यत्रतत्र छरिएको थियो। न त्यसको व्यवस्थित खाका खिचियो न सामान्य जनले सहजै बुझ्ने भाषामा त्यसलाई लिपिबद्ध गरियो। आखिरमा कुनै रहस्यमय गुप्त ज्ञानझैँ त्यो रुपचन्द्रको एकान्तबाससँगै भूमिगत भयो। रुपचन्द्रका अनुयायीहरू जो थिए, तिनले ‘जनमुखी’ ‘थाहा’पथको राम्ररी भेउ नै नपाएका अल्पज्ञानी बटुवाहरूको जस्तो अभिनय गरे। हुँदाहुँदा अहिले ती मूर्ति–भञ्जक रुपचन्द्रको आदर्शलाई लतारेर निष्प्राण र रुढिमुखी मूर्तिमा पछार्न पो पुगे। लाग्छ, यो ‘जनमुखी’ ‘थाहा’पथको कारुणिक दुर्दशा हो।

    विडम्बनावश, मूर्ति–भञ्जक रुपचन्द्रको मूर्तिको अनावरण माओवादी अध्यक्ष प्रचण्डका करकमलबाट भयो। यी विद्रोही नेतालाई ‘मेरो एक्काइसौ“  शताब्दीको जनवाद मूर्ति पूजासँग असहमत छ’ भन्ने वाक्यधरी फुरेन। दृश्यमा देखेँ, रुपचन्द्रको मूर्ति अनावरण गरिने थलोमा ‘महान् मार्क्सवादी सौन्दर्य चिन्तक’ भनीकन कहलिएका मोहन वैद्य किरण पनि हाजिर थिए। ती मूर्ति–भञ्जक रुपचन्द्रको मूर्ति स्थापना गरिने थलोमा फड्के किनाराको साक्षी बसेको दृश्य मलाई बडो हास्यास्पद लाग्यो। तिनको सौन्दर्यशास्त्रमा मूर्ति–भञ्जन र मूर्ति पुजाबीच कुनै भेद नै पो नभएको हो कि!

    थाहा छ, ‘जनमुखी’ ‘थाहा आन्दोलन’मा ‘नारी, किसान, कलिला’हरूलाई खुबै सम्मानका नजरले हेरिन्थ्यो। तिनको जागरण, तिनको मुक्ति र तिनको सुख नै यो आन्दोलनको एकमात्र अभीष्ट थियो। रुपचन्द्रको मूर्तिको अनावरण कुनै बालिकाको कलिलो हातबाट भएको भए ‘थाहा’कर्मीहरूले कमसेकम रुपचन्द्रको आदर्शलाई बिर्सेका रहेनछन् भनेर चित्त बुझाउने एउटा लुरे उपाय त हुन्थ्यो  कि! तर, ‘नारी, किसान, कलिला’हरूलाई भुसुक्कै बिर्सेर प्रचण्डको भेषमा तिनले शक्तिको मुख ताके। 

    अनर्थ गरियो। मूर्ति–भञ्जक रुपचन्द्र बिष्टको आदर्शलाई उनैको निष्प्राण मूर्तिमा गिराएर उपहास गरियो।

     

    (निबन्ध संग्रह इतर विचारबाट साभार)

खगेन्द्र संग्रौला

संग्रौला प्रगतिशील साहित्य र पत्रकारितामा सक्रिय छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]