|

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए।

६४ औँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा शुक्रबार यहाँ आयोजित प्रहरी दिवस मूल समारोह तथा श्रद्धाञ्जलि एवं पुनः मिलन कार्यक्रममा उनले समय र प्रविधिको विकाससँगै अपराधिक गतिविधिमा परिवर्तन भइरहेकाले अपराध रोकथाम गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीलाई प्रविधिमैत्री बनाउनु आवश्यक भएको बताए।

उच्चतम प्रविधिको प्रयोगका माध्यमबाट क्षमतायुक्त साथै दक्ष जनशक्ति उत्पादन गरी अनुसन्धान मैत्री वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए। नेपाल प्रहरीले विभिन्न भौतिक स्रोत, साधन तथा जनशक्तिको अभावमा पनि देश र जनताको सेवामा अनवरत क्रियाशिल रहेको उल्लेख गर्दै उनले गण्डकी प्रदेश प्रहरी देशमै नमूना प्रहरीको रुपमा विकास भइरहेको बताए। 

गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रहरीको समुन्नत विकासका लागि आफूले संघीय सरकारसमक्ष विशेष पहल गरिरहेको उनले बताए। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सबैको एकताबद्ध पहलमा दण्डहिनता अन्त्यका लागि अथक प्रयास गर्नुपर्ने बताए।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले नागरिकमैत्री सुरक्षित वातावरण, कानुनको सर्वोच्चता र जनताको सर्वोपरिता, संगठित अपराध नियन्त्रण र अनुसन्धानजस्ता जटिल कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने बताउँदै सरोकारवाला निकायसँग सहकार्यका लागि प्रहरी समुदाय–प्रहरी साझेदारी अवधारणाका माध्यमबाट जनतासमक्ष पुगेको बताए।

नेपाल प्रहरीको पूर्वाधार विकास, भौतिक संरचना निर्माण र प्रविधियुक्त अनुसन्धान पद्धतिको विकास अहिलेको अहम् आवश्यकता र अपरिहार्यता बनेकोमा जोड दिँदै उनले प्रहरी संगठनमा प्रादेशिक संरचना स्थापित भइसकेको अवस्थामा पूर्वाधार विकासका लागि प्रदेश सरकारको निरन्तर साथ र सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरे।

कार्यक्रममा संघीय प्रहरी एकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले अमर प्रहरी परिवारलाई दोसल्ला ओढाइ सम्मान गरे भने विभिन्न खेलकूद प्रतियोगितामा विजयी खेलाडी र प्रहरीको भौतिक तथा आर्थिक पक्षमा सहयोग गरी शान्ति सुरक्षा अमनचयनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.