|

काठमाडौं : सुन्धाराको आकाशे पुल नजिक एक हुल मान्छे हातमा सयपत्रीको गमला बोकेर लामबद्ध उभिए। उनीहरूले लहरै गमला मिलाएर राखे। पानी सिञ्चन गर्न तयार भएर बसेकाले ती गमलामा पानी हाले।

बडारेर सफा पारिएको सडकको किनारामा लहरै राखिएका गमला देखेर पैदलयात्रीले समेत चाख मानेर हेरे, अनि भने ‘आहा हाम्रो काठमाडौं।' सडकका किनारामा लहरै राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको ठूलाठूला फोटो टाँसिएको छ।

फोटोमुनि लहलह फुलेका सयपत्री छन्। शरद ऋतुको समय फूलैफूलको मौसम। अनि नेपालीको चाडबाडको समय पनि। हिमाल, पहाड, तराई सबैतिर फूल फूलेका छन्। त्यही फूल राजधानीको सडकमा चिनियाँ राष्ट्रपतिको स्वागतका लागि राखिएका छन्। 

दुई दशकपछि चिनियाँ राष्ट्रपति नेपालको दुई दिवसीय राजकीय भ्रमणका लागि शनिबार आउँदै  छन्। भ्रमणलाई सफल बनाउन भइरहेका तयारीमध्येको एउटा दृश्य हो सुन्धाराको। गमलामा फूल रोप्दै गरेका रामगोपाल श्रेष्ठले भने, ,पाहुना आउँदा घर आँगन सिँगार्ने, सफा सुग्घर बनाउने चलन नै हो। हामीले त्यही गरेका हौँ।' 

नेपाली संस्कृतिले पाहुनालाई भगवानको स्वरुप मान्ने गरेको छ। नेपालीले पाहुनाको स्वागत हृदयदेखि नै गर्ने गरेका छन्। सोहीअनुसार सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको सडक चिटिक्क पारेको छ। सडक किनारामा बनाइएका स्वागतद्वारमा लेखिएको छ ‘सगरमाथा र गौतमबुद्धको जन्मस्थल नेपालमा स्वागत छ।’ यस्तै स्वागतका लागि तयार गरिएका फ्लेक्समा शे–फोक्सोन्डो ताल, बिपी राजमार्ग, स्वयम्भूनाथ, पशुपतिनाथ, गौतमबुद्धको जन्मस्थललगायतका  तस्वीर राखिएको छ। 

राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा लगाइएका बिरुवा काँटछाँट र गोडमेल गरिएको छ। राजधानीको मुटुमा रहेको तीनकुनेलाई रामचन्द्र बस्नेत र उनको समूहले कल्की, पाम, धुपीका बिरुवा रापेर हराभरा बनाएका छन्। यस्तै, विभिन्न प्रजातिका फूल रोपिएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघले चिनियाँ राष्ट्रपतिको स्वागतमा स्वागतद्वार बनाएका छन्। यस्तै नेपाल टेलिकम, कर्मचारी सञ्चयकोष, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकलगायतका निकायले स्वागतद्वार बनाएका छन्।

स्वागतद्वारलाई सकेसम्म मौलिक र नेपाली कला र संस्कृति झल्काउने प्रयास गरिएको छ। काठमाडौँ महानगरले चिनियाँ राष्ट्रपतिको स्वागतलाई सकेसम्म काठमाडौँ उपत्यकाको संस्कृतिलाई झल्काउने प्रयास गरेको छ। नेपाल र चीनबीच शताब्दीऔँ पुरानो मैत्रीसम्बन्ध रहँदै आएको छ।

विशेष गरी विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल रहेको नेपाल र अधिकांश चिनियाँले समेत सोही धर्मलाई अनुशरण गरेका कारणले पनि विशेष सम्बन्ध रहँदै आएको छ। राष्ट्रपतिको स्वागतमा राखिएको द्वारमा लेखिएको ‘गौतमबुद्धको जन्मस्थलमा स्वागत छ’ भनेर लेखिएको नाराले नै त्यस्तो सम्बन्धलाई मुखरित गरेको छ। 

तार व्यवस्थापनमा सक्रिय प्राधिकरण 

यस्तै नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा असरल्ल रहेका तार व्यवस्थापनको काम  गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा विमानस्थल, तीनकुने, नयाँ बानेश्वर, लैनचौर, रत्नपार्कलगायतका स्थानमा तार व्यवस्थापन गरेको छ। यस्तै, कुलेश्वर, कालीमाटी, टेकुलगायतका स्थानमा पनि सडकबत्ती थप गरिएको छ भने तार व्यवस्थापन गरिएको छ।

प्राधिकरणको बानेश्वर वितरण केन्द्रका प्रमुख बाबुराम सुवेदीका अनुसार श्क्रबार दिनभर नै आफ्नो क्षेत्रको विद्युतीय तार तथा  सडकबत्ती थप गरी व्यवस्थित गरिएको छ। यस्तै नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक तथा अन्य सम्बद्ध संघ संस्थाले ‘बकेट’ सहितको क्रेन परिचालन गरी तार व्यवस्थापन गरिएको हो। चिनियाँ राष्ट्रपतिको सवारी मार्गमा पर्ने सबै प्रकारका तार व्यवस्थापनको काम शुक्रबार अबेरसम्म सक्ने गरी तयारी गरिएको छ।

प्राधिकरणको रत्नपार्क वितरण केन्द्र, बानेश्वर र कुलेश्वर वितरण केन्द्रले मातहतका सबै क्षेत्रमा तार व्यवस्थापन गरेको हो। शहरी सौन्दर्य अभिवृद्धिका लागि पनि तार व्यवस्थापन जरुरी रहेको विषयमा विगतदेखि नै कुरा उठ्दै आएको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै एक सार्वजनिक सूचनामार्फत तार व्यवस्थापनका लागि अनुरोध गरेको थियो।

यस्तै सोल्टी होटल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भट्टेडाँडा र फुल्चोकीको रिपिटर टावरमा समेत नियमित र एकै भोल्टेजको विद्युत् उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई बुधबार नै आग्रह गरिसकेको छ। 

विशेष गरी नेपालको प्यागोडाशैलीको अनुशरण पनि चीनले गरेको बताइन्छ। अरनिको, भृकुटीले जोडेको दुई देशको सांस्कृतिक सम्बन्ध पछिल्लो दिनमा अझै विस्तारित भएर गएको छ। आर्थिकरुपमा सबल र सक्षम शक्तिको रुपमा स्थापित भएको चीनले नेपालसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राखेको छ। 

पछिल्लो पटक चिनियाँ राष्ट्रपतिले अगाडि सारेको बिआरआइको संकल्पलाई नेपालले आत्मसात् गरिसकेको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बिआरआइमा हस्ताक्षर गरेको थियो। विश्वमा नै भौतिक पूर्वाधार निर्माणमा ख्याति कमाएको चीनले नेपालको आर्थिक विकासमा पनि विगतदेखि नै खुल्ला हृदयले सहयोग गर्दै आएको छ।

विशेष गरी राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशीलगायतका आयोजनामा चिनियाँ निर्माण व्यवसायीले काम गरिरहेका छन्। चिनियाँ राष्ट्रपतिको स्वागतका लागि गरिएको तयारीले पनि दुई देशको सम्बन्ध जनस्तरसम्म अभिवृद्धि भएको सहजै अनुमान गरिएको छ। सडक कालोपत्रे गर्ने, ट्राफिक संकेत निर्माण गर्नेदेखि नयाँ राख्ने तथा सडक आसपास बोटबिरुवा रोप्ने काम सकिसकेको छ। 

माइतीघरमण्डलालाई सजाएर आकर्षक बनाइएको छ। सजावटमा नेपाली सेना, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाका कर्मचारी आजसम्म पनि खटिएका छन्। विगतमा पनि अन्तर्राष्ट्रिय विशिष्ट व्यक्ति नेपाल आउँदा यसैगरी सिँगार्ने गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.