|

पर्वत : आर्थिक अवस्था कमजोर भएपछि मुटुको भल्भ र नशामा आएको समस्याको उपचार गराउन पर्वतका एक युवाले आर्थिक सहयोगको अपिल गरेका छन्।

जिल्लाको फलेवास नगरपालिका ११ पाङराङ घर भएका १९ वर्षीय भीमबहादुर कुँवरको भल्भ परिवर्तन गर्नका लागि आर्थिक समस्या भएको हो। भीमबहादुरको परिवारले सामान्य कृषि पेसा अंगाल्दै आएको र घरको आर्थिक अवस्था दयनीय रहेका कारण ठूलो रकम खर्च गरेर उपचार गराउन कठिन भएको उनका दाजु सन्तोष कुँवरले बताए।

उनका अनुसार भीमको उपचारको लागि जसोतसो जोहो गरेर झन्डै ३ लाख रुपैयाँ खर्च गरिसकिएको छ। तर, अहिलेसम्म भल्भमा देखिएको समस्यालाई न्यूनीकरण गर्नमा मात्र उक्त रकम खर्च भएपछि शल्यक्रियामार्फत भल्भ नै परिवर्तन गर्न मोटो रकम आवश्यक पर्ने भएको हो। ‘अस्पतालले आउँदो मंसिरको १४ गते मुटुको शल्यक्रिया गरेर भल्भ परिवर्तन गर्ने भनेको छ’ दाजु सन्तोषले भने, ‘शल्यक्रियाका लागि आवश्यक पर्ने रकममध्ये ४ लाख रुपैयाँ अस्पताल आफैँले बेहोर्छु भनेको छ। यति नै रकम लाग्छ भने निधो छैन। हामीले पनि धेरै पैसा जुटाउनुपर्ने बाध्यता छ।’

गंगालाल हृदय रोग केन्द्रमा मुटु रोगीहरूको उपचारमा सघाउनका लागि दाताहरूबाट प्राप्त भएको कोषबाट चार लाख रुपैयाँ सहयोग हुने आश्वासन आएको सन्तोषको भनाई छ। घरमा रहेको र आफन्तबाट खोजिएको पैसा शल्यक्रिया पूर्वकै अवस्थामा सकिएपछि अब आवश्यक पर्ने रकम जुटाउन मुस्किल परेको भीम बहादुरको परिवारले बताएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि भीमबहादुरलाई ६ दिनसम्म पर्वत सदरमुकाम कुस्माको कुस्मा अस्पताल राखेपछि थप उपचारको लागि पोखरा पठाइएको थियो। पोखरामा पनि ६ दिनसम्म राख्दा स्वास्थ्यमा सुधार नभएपछि र मुटुमा समस्या देखिएपछि पोखराबाट गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौं लगिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.