|

उत्तरी छिमेकी मुलुक चीनबाट करिब दुई दशकपछि राष्ट्रपति स्तरीय भ्रमण सुरु भएको छ। यस भ्रमणलाई ऐतिहासिक र नेपालका लागि लाभदायी हुने टिप्पणी हुँदै आएको छ। राष्ट्रपति सीको भ्रमणले प्रदेश १ का लागि कस्तो अर्थ राख्छ भनी भ्रमण सन्दर्भमा मुख्यमन्त्री शेरधन राईसँग हाम्रा मोरङ संवाददाता अर्जुन आचार्यले गरेका कुराकानी :

२३ वर्षपछि नेपालमा चिनिया राष्ट्रपतिको भ्रमण हुँदैछ। यसको ऐतिहासिक महत्त्व के रहन्छ र नेपालले कसरी लाभ लिन सक्छ?

अहिले नेपालमा स्थिर र बलियो सरकार बनेको अवस्था छ। उक्त सरकारको नेतृत्व कम्युनिष्ट पार्टीले गरिराखेको छ। संसारका कम विकसित मुलुकहरुमध्ये नेपाल यस्तो मुलुक हो, जहाँ लगानीका क्षेत्र र सम्भावनाहरु प्रसस्त छन्। 

अर्कोतर्फ नेपालमा समृद्धि र समग्र पक्ष सुधारोन्मुख भइरहेको देशमा पर्दछ। यस हिसाबले पनि चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण धेरै अर्थमा ऐतिहासिक सावित हुनेछ। २३ वर्षपछि चिनियाँ राष्ट्रपति सीको भ्रमण नेपालमा भइरहेको छ। यसले धेरै ठूलो महत्त्व र अर्थ राख्दछ।

कतिपय विश्लेषकहरुले चीनले नेपालमा आफ्नो प्रभाव बढाउन खोजको र हस्तक्षेप गर्न खोजेको अर्थमा पनि विचारहरु व्यक्त गरिरहेका छन्, यसलाई कसरी लिनुहुन्छ?

चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई मानिसहरुले विभिन्न दृष्टिकोणबाट हेर्न र बुझ्न सक्छन्। विश्लेषण गर्न सक्छन् र जोड्न सक्छन्। तर, कुनै पनि हिसावले न हस्तक्षेप जोडिन्छ, न स्वार्थसँग जोडिन्छ। यसभन्दा अगाडि नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले चीनको भ्रमण गर्नुभएको छ। त्यस तहमा दुई समकक्षीबीच भेट भएको छ, कुराकानी भएको छ। राष्ट्रपतिज्यूले नेपाल भ्रमणको निम्तो दिनुभयो। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चीनको भ्रमण गर्नुभयो। नेपालको समग्र अवस्थाको ब्रिफिङ गर्नुभयो। अपिल गर्नुभयो। 

नेपाल राजनीतिक अस्थिरताबाट मुक्त भएको, लामो राजनीतिक अन्यौल अन्त्य भएको र देश विकास र समृद्धितर्फ उन्मुख भएको अवसरमा भ्रमण भएको छ। यसलाई नेपालको हित र लाभमा अधिकतम हामीले उपयोग गर्नु सक्नु पर्दछ। त्यसै हिसाबले सरकारले तयारी गरेको छ। हामीले पनि प्रदेशको तर्फबाट त्यही ढंगले सुझाव दिएका छौं।

त्यसपछि चीनले पनि नेपाललाई नजिकबाट हेर्नु, बुझ्नु चासो राख्ने स्वभाविक हो। किन भने नेपाल र चीनबीच लामो समयदेखिको सामाजिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध रहँदै आएको छ। यस हिसाबले पनि चीनले नेपालप्रति सकारात्मक दृष्टिबाट, सदासयदापूर्ण भावबाट हेर्नु, बुझ्नु र त्यसपछि सहयोग गर्नु, एकापसमा सहकार्य गर्ने कुरा बिलकुलै स्वभाविक हो। त्यसमा पनि नेपाल राजनीतिक अस्थिरताबाट मुक्त भएको, लामो राजनीतिक अन्यौल अन्त्य भएको र देश विकास र समृद्धितर्फ उन्मुख भएको अवसरमा भ्रमण भएको छ। यसलाई नेपालको हित र लाभमा अधिकतम हामीले उपयोग गर्नु सक्नु पर्दछ। त्यसै हिसाबले सरकारले तयारी गरेको छ। हामीले पनि प्रदेशको तर्फबाट त्यही ढंगले सुझाव दिएका छौं।

चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट प्रदेश १ लाई दीर्घकालीन के फाइदा हुन्छ? 

यो भ्रमणबाट दीर्घकालीन हिसावले सबैभन्दा ठूलो लाभ प्रदेश १ ले लिँदैछ। किमाथांका नाकाको सडक निर्माणाधीन छ। किमाथांका–जोगबनी नाका खोल्ने विषय यस पटक प्राथमिक एजेण्डाभित्रै राखिएको छ। उक्त नाका खोलिए त्यो लाइफ लाइन सडकको रुपमा सावित हुनेछ। जुन नाकाले प्रत्यक्षरुपमा भारत र चीनलाई पनि जोड्ने छ। र, मेरुदण्डमा प्रदेश १ रहनेछ। 

दीर्घकालीन हिसाबले पहिलो लाभ हामीले लिनेछौं। कृषि, उद्योग, पर्यटन, जलस्रोत क्षेत्रमा प्रसस्त सम्भावना प्रदेश १ मा छ। त्यस सम्भावनाहरुप्रति चिनियाँहरुको ध्यानाकर्षण भएको छ। यसपटक पनि चिनियाँ राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूसँगको भेटघाटमा पनि ती कुराको चर्चा, परिचर्चा हुनेछ। हामी ठोस ढंग र योजनाबद्ध ढंगले चिनियाँ लगानीकर्तासँग औपचारिक रुपमा केही प्रस्तावहरुमाथि छलफल गर्न गइरहेका छौं। यस अर्थमा यो भ्रमणबाट धेरै लाभ हुनेमा विश्वस्त छौं।

प्रदेश १ सरकारको तर्फबाट संघीय सरकारलाई केही एजेण्डा पठाएको भन्ने जानकारीमा आएको छ। ती के के हुन्? 

हामीले बृहत् विराट क्षेत्रको अवधारणा, चार लेनको चक्रपथ निर्माण, औद्योगिक पार्क निर्माण, नमुना आधुनिक कृषि फर्म सञ्चालन, विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजनाको प्रस्ताव अघि बढाएका छौं।

यस्तै, केचना–सगरमाथा फाष्ट ट्रयाक, ट्रंक लाइनबाट खानेपानी वितरण, तमोर या कोशी नदीबाट पानी आपूर्ति गर्ने र पानीको निर्यात गर्ने योजना तयार गरेका छौं। हाम्रा प्राथमिकतामा रहेका योजनाहरुलाई राष्ट्रपति सीको भ्रमणमा छलफलमा एजेण्डा बनून् भन्ने संघीय सरकारलाई अनुरोध गरेका छौं। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.