|

काठमाडौं : सरकारले जलासय र अर्ध जलासययुक्त जलविद्युत आयोजनाबाट उत्पादित विजुलीको खरिददर (पीपीए) १२ रुपैयाँ ४० पैसा निर्धारण गरेको छ। उर्जा मन्त्रालयले आयोजनाको प्रकृति हेरी जलासय र अर्ध जलासययुक्त आयोजनाको पीपीए दर ७ रुपैयाँ १० पैसा देखि १२ रुपैयाँ ४० पैसासम्म निर्धारण गरेको हो। 

उर्जा मन्त्री जनार्दन शर्माका अनुसार हिउँद याममा उत्पादित विजुलीको खरिददर महंगो राखिएको छ भने वर्षायामको सस्तो छ। जलासय आयोजनालाई मंसिर १५ देखि जेठ १६ सम्मका लागि प्रतियुनिट १२.४० रुपैयाँ र जेठ १५ देखि मंसिर १६ सम्मका लागि प्रतियुनिट ७ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।

त्यस्तै अर्धजलासय आयोजनालाई मंसिर १५ देखि जेठ १६ सम्म पिक आवरमा १०.५५ र नन पिक आवर ८.४० रुपैयाँ तोकिएको छ। अर्ध जलासय आयोजनामा जेठ १६ देखि मंसिर १५ सम्मको खरिद दर भने ४ रुपैयाँ ८० पैसा तोकिएको छ। नदी बहावमा आधारित आयोजनाहरुको मूल्य पुसदेखि चैतसम्म ८.४० रुपैयाँ, र बैशाखदेखि मंसिरसम्म ४.८० रुपैयाँ तोकेको छ। सरकारले यो दरबाट निजी क्षेत्र जलविद्युत उत्पादनमा आकर्षित हुने विश्वास लिएको मन्त्री शर्माले बताए। 

जलासय आयोजनाका लागानीकर्तालाई १७ प्रतिशत प्रतिफल प्राप्त हुने गरी यो दर निर्धारण गरिएको उर्जामन्त्री जनार्दन शर्माले बताए। मन्त्री शर्माले आवश्‍यक परेमा दरमा परिमार्जन गर्न सकिने समेत बताए। 'सरोकारवालासँग राय मागेका छौँ, यसमा पछि आवश्यक भए दरमा परिमार्जन पनि हुन सक्छ' मन्त्री शर्माले भने।

पीपीए दर निर्धारणको लागि उर्जा मन्त्रालयले मन्त्रालयका सहसचिव चिरञ्जीवि चटौतको संयोजकत्वमा गठन भएको समिति गठन गरेको थियो।  चटौतको संयोजकत्वमा गठन भएको समितले सिफारिस गरिएको प्रतिवेदनको आधारमा मूल्य निधारण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.