|

डडेल्धुरा : अगरगढी नगरपालिका ५ खलंगामा अवस्थित ऐतिहासिक अमरगढी किल्लाको सरसफाइ गरिएको छ। समुद्री सतहबाट लगभग ६ हजार ५०० फिट उचाइमा रहेको किल्लाको सरसफाइ गरिएको हो।

शनिबार सामाजिक एकता क्लव डडेल्धुराको अगुवाइमा युवासँगै प्रदेशसभा सदस्य, नगरप्रमुखलगायतको समूहले किल्ला सरसफाइ गरिएको हो। किल्लाभित्र जथाभावी रुपमा उम्रिएका भारपात उखेरेर किल्लाको सफाइ गरिएको छ। 

सुदूरपश्चिम प्रदेशसभाका सदस्य कर्णबहादुर मल्ल, अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, सामाजिक एकता क्लबका प्रतिनिधि, ग्रीन अर्थ सोसाइटी नेपालका प्रतिनिधि, समाजसेवी, जिल्लास्थित पत्रकारको सहभागितामा सरसफाइ गरिएको हो। आगामी दिनमा पनि सरसफाइलाई निरन्तरता दिइने क्लवले जनाएको छ।

किल्ला जीर्ण

द्वन्द्वकालमा नेपाली सेना बसेको उक्त किल्लामा अहिले सेनाले छाडेपछि उचित सरसफाइ र संरक्षण नहुँदा किल्ला जीर्ण बन्न थालेको छ। गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘अमरगढी किल्ला’ पनि परेको भएपनि किल्ला संरक्षणमा स्थानीय सरकार र किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिले ध्यान नदिँदा जीर्ण बन्न थालेको हो।

किल्ला बाहिर पेटी निर्माण गरिएको छ । तर, त्यो पनि अधुरै रहेको छ। अमरगढी नगरपालिकाले भने योजनाबद्ध रुपमा किल्लाको संरक्षण गर्ने जनाएको छ।

किल्लाको दूराअवस्था देखेर हिनताबोध भएको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले किल्लालाई व्यवस्थित गर्न सके पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने बताए। सबैले आ-आफ्नो क्षेत्रबाट यसको प्रचार-प्रसारमा अग्रसर हुनुपर्ने उनको भनाइ थियो। डडेल्धुराको सदरमुकाम बागबजारदेखि किल्लासम्मको बाटोलाई पनि व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो।

चालू आर्थिक वर्षकमा संघीय सरकारले किल्लाका लागि ससर्त अनुदान तर्फ २० लाख रुपैयाँ विनियोजन गरेको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए। सय नयाँ पर्यटकीय गन्तव्यमा अमरगढी किल्ला पनि परेकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट थप ५० लाख रुपैयाँ किल्लाका लागि आउने उनको भनाई छ।

डडेल्धुराको अमरगढी नगरपालिका यही किल्लाको नामबाट २०५४ सालमा नामाकरण गरिएको हो। नगरपालिकाले स्थापनापछि २०५६ सालमा किल्लालाई आफ्नो मतहतमा ल्याएको थियो। तर, २०५८ सालमा तत्कालीन माओवादी द्धन्द्धका बेला जिल्लालाई सुरक्षा दिन यो किल्ला नेपाली सेनाले आफू मातहत ल्याएको थियो।

त्यसपछि किल्ला पर्यटकका लागि प्रतिबन्ध लगाइएको थियो। २०५८ देखि २०६६ सालसम्म किल्ला सेना मतहत रह्यो। स्थानीयको पटक-पकटको प्रयासपछि २०६६ साल पुसदेखि अमरगढी नगरपालिकाले रेखदेख र सञ्चालन गर्ने जिम्मा पाएको हो।

बडाकाजी अमरससिंह थापाद्वारा निर्मित यो किल्ला विशाल ढुंगाले कलात्मक तरिकाले बनाइएको छ। किल्लाभित्र युद्ध गर्नका लागि सैनिकहरूका लागि २२ वटा गुफाहरू बनाइएको छ। त्यस्तै, युद्ध छल्न तथा सफलताका लागि शस्त्र निरोध गर्ने मार्ग निर्माण गरिएको छ। अहिले भएका किल्लाको माथिल्लो भागका ठूलाठूला रूखहरूका कारण किल्लाकै ऐतिहासिक गौरव अझै झल्किन्छ भने किल्लाको बीच भागका रहेको भैरवको मन्दिरले धार्मिक महत्व पनि झल्काउँछ।

छिमेकी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङका साथै कैलाली, कञ्चनपुरबाट समेत घुम्नका लागि पर्यटक आउँछन्। सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशबाट पनि डडेल्धुरा आउने व्यक्तिहरूहरू एकपटक अमरगढी किल्ला पुगेर नै फर्किन्छन्।

विषेश गरी सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालय, कलेजले विद्यार्थीलाई अमरगढी किल्ला घुमाउन ल्याउँछन्। सडक मार्ग भएर यहाँ जहजै रुपमा पुग्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.