|

इलाम : गत जेठ १९ गते पाँचौ संस्करणको माइभ्याली गोल्डकपको आय-व्यय सार्वजनिक गर्दा अध्यक्ष धिरेन्द्र चेम्जोङलगायत सम्पूर्ण पदाधिकारीहरू निराश देखिन्थेँ। प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न भयो। ए डिभिजन सहित विदेशी क्लबहरू प्रतियोगितामा सहभागी थिए। 

अफ्रिकी खेलाडी सम्मिलित क्यामरुनको दाफिन्सको खेल हेर्न इलामको टुँडिखेल भरिएको देख्दा प्रसन्न बनेका अध्यक्ष चेम्जोङ २ महिनापछि आय–व्यय सार्वजनिक गर्दा भने निराश देखिनुको कारण थियो आर्थिक भार। आयोजकहरूले प्रतियोगिताको नाफा १७ लाख २५ हजार ८६२ रुपैयाँ देखाए। तर वास्तविकतामा भने आयोजकहरू नाफामा थिएनन्। 

चैत्र २७ गतेबाट सुरु गरेको प्रतियोगिता चैत्र ५ गतेसम्म सम्पन्न हुँदा आयोजकको खर्च ६८ लाख ८९ हजार ४७१ खर्च गरे। तर आय–व्यय सार्वजनिक गर्दासम्म ६४ लाख ८३ हजार ३३३ रुपैया मात्र प्राप्त गर्न सफल भएका थिए। पाउनु पर्ने २१ लाख ३२ हजारका कारण आयोजकहरूको नाफा १७ लाख बढी देखिएको हो। त्यो रकम उठ्ने नउठने निश्चित थिएन ।

उठेको खण्डमा आयोजकहरूको अपेक्षा अनुसारको नाफा हुन्थ्यो। दर्शकहरूबाट आयोजकले गेट मनी ३० लाखमाथि संकलनको अपेक्षा गरेका थिए। तर दाफिन्सको खेलका दिनबाहेक अन्य दिन रंगशालामा खेलाडीको उपस्थिति तुलनात्मक रुपमा न्यून थियो।

‘आमन्त्रण गरे अनुसार ए डिभिजनका क्लबसहित विदेशी क्लबहरू आए। दर्शक आएनन्’ चेम्जोङले भने। पूर्वी पहाडको सबैभन्दा सभ्य र भव्य छवि बनाएको माइभ्याली खेल्नका लागि ए डिभिजनका क्लबहरू तछाड-मछाड गर्दै इलाम आउर्ने गर्थे र यस पटकको सहभागिताले प्रतियोगिताको अस्तित्वलाई संकट पार्न सक्ने अवस्था देखिएको छ। 

आयोजकले अनुमान गरेको आधा रकम पनि दर्शकबाट नउठेपछि समस्या सिर्जना भएको चेम्जोङ बताउँछन्। माइभ्याली मात्र होइन देशभर आयोजना हुने प्रतियोगिताहरूलाई दर्शक धान्ने समस्या छ। देशभर आयोजना हुने प्रतियोगिताको अपेक्षाको मुख्य स्रोत भनेकै दान र चन्दा हो।

गत बैशाखमा सम्पन्न मेची नेत्रालय गोल्डकप समेत तोकिएको समयभन्दा झन्डै १ घन्टामात्र ढिला सुरु हुन्थ्यो। ढिलाई हुनुको मुख्य कारण दर्शकको पखाई। 

प्रतियोगिता आयोजना महँगो बन्दै

प्रायोजकहरूले समेत कुबल गरेको रकम समयमा नदिँदा आयोजकहरूलाई प्रतियोगिताको पुरानो गरिमालाई कायम राख्न समेत सकस देखिन्छ। ‘ए’ डिभिजनका क्लब ल्याएर फुटबल प्रतियोगिता सञ्चालन गर्न खर्चका हिसाबले महँगो छ। त्यसमाथि पनि एन्फाले प्रतियोगिता नियमनका लागि ल्याएको नयाँ मापदण्डले आयोजकहरूमाथि अझै भार थप्ने चिन्ता छ।

क र ख बर्गको प्रतियोगिता बन्नका लागि कम्तीमा पनि ६ वटा ए डिभिजनका क्लब हुनुपर्ने मात्र नभई पुरस्कार राशी पनि क्रमश कम्तीमा १० लाख र ६ लाख तोकेको छ। यी मापदण्ड नपुगे वर्ग घटने निश्चित जस्तै छ। 

माइभ्यालीले ६ लाख रुपैयाँ पुरस्कार दिएको छ। पूर्वी पहाडको सर्वाधिक राशीको मात्र नभई देशकै प्रतिष्ठित क्लब र खेलाडीहरूको सहभागिता रहने कारणले पनि माइभ्यालीलाई क वर्गको प्रतियोगिता भनिदै आएको थियो।

प्रतियोगिता भर खेलाडीलाई दैनिक एक हजार रुपैयाँदेखि १५ सय रुपैयाँ उपलब्ध गराउनु पर्छ। भनसुन गर्दा पनि चलेका क्लबलाई तीस हजार रुपैयाँ भन्दा बढी दिनुपर्छ। यसैगरी खेलाडी र खेल पदाधीकारीको यातायात र आवास खर्च पनि आयोजकले धान्नु पर्छ। पुरस्कार राशी, प्रचार-प्रसार खर्च पनि महँगो नै छ। तर आयस्रोतको बाटो भने नहुँदा चन्दा र दानमै प्रतियोगिता सक्नु पर्ने आयोजक बताउँछन।

मनाङ र थ्री स्टारको रजगज

थ्री स्टार र मनाङ मर्स्याङदीलाई सहभागी गराउँदा उनीहरूको सबै माग पूरा गर्नुपर्ने हुन्छ। नाम उल्लेख नगर्ने सर्तमा एक प्रतियोगिता आयोजक भन्छन्, ‘मनाङ र थ्री स्टारलाई सहभागी नगरान मिल्ने भए गराउने थिएनौ के गर्नु दर्शक उनीहरूले नै धानेका छन्।’ ती क्लबहरूले आफना एक जना पनि खेलाडी र पदाधिकारी कम गर्दैनन्।

‘मनाङले २६ ल्याउँछु भन्छ २५ गर्नु न भन्दा पनि बरु खेल्दैनौं भन्छन्। बाध्य भएर ल्याउनुपर्छ। अरुलाई भन्दा म्याच अलाउन्स पनि बढी दिनुपर्छ’ एक आयोजक समितिका संयोजकले भने।

क्लबहरूको माग पूरा गर्ने आयोजकहरूसँग अरु कुनै स्थायी श्रोत पनि छैन। २ दशकदेखि निरन्तर चल्दै आएका बुढासुव्वा र तिलोत्तमा गोल्डकप समेत व्यवसायीक घरानासँग प्रायोजन र चन्दा मागेरै चलाउँछन्। माइभ्यालीले समेत बेलायत तथा अरब मुलुकमा रहेका इलामेलीहरूको सहयोग र गोर्खा ब्रुअरीको टुर्वोगलाई मुख्य प्रायोकजकको रुपमा पहिलो संस्करणबाटै सम्झौता गर्दै आएको छ। 

खेल आयोजना गर्ने क्लबको आयस्रोतको अरु कुनै बाटो छैन। प्रायोजकले रकम नदिँदा चन्दाका भरमा प्रतियोगिता भइरहेको छ। कतिपय आयोजकले चन्दाका लागि ‘फोर्स’ नै गर्ने गरेको गुनासो पनि आउने गरेको छ। नभए पनि जवरजस्ती टिकट बेच्ने चलन पनि सुरु भइसकेको छ। 

एन्फाबाट भौतिक सामग्री सहयोग

फुटबल बिकासका निम्ती स्थापित अखिल नेपाल फुटबल संघले प्रतियोगिता आयोजकहरूलाई म्याच बल र केही सामाग्री बाहेक अन्य आर्थिक सहयोग उपलव्ध गराउने गरेको छैन् । गत बर्ष केही प्रतियोगिताहरुलाई क्षमता र स्तरीयताको आधारमा आर्थिक सहयोग दिएको भए पनि यस वर्षका लागी भएन भौतिक सामग्री मात्र उपलव्ध गराउने एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले बताए। 

‘गत बर्ष सुचिकृत भएका ४/५ वटा गोल्डकपकलाई आर्थिक सहयोग दिएका थियौं। यस वर्ष छैन’ उनले भने, ‘प्रतियोगिताको लागि आवश्यक पर्ने म्याचबल, गोलपोष्ट नेट, कर्नर फ्ल्याग लगायतका सामग्रीहरू आयोजकको माग अनुसार दिने गरेका छौं।’

आयोजकको माग अनुसार एन्फाले केल्मी ब्रान्डको सामग्रीहरू उपलव्ध गराउँदै आएको छ। फुटबल संघले गत बर्षबाट सम्झौता गरेर नेपाली फुटबल टिमले प्रयोग गर्ने जर्सी, ट्रयाक, जुत्तालगायतका सामग्रीहरू केल्मीको प्रयोग गर्दै आएको छ।

प्रतियोगिताको रेफ्री र म्याच कमिसनर खर्च समेत आयोजकको काधमा आउँछ। एक जना फिफा रेफ्रीलाई कम्तीमा पनि प्रति दिन ३ हजार रुपैयाँ भत्ता उपलव्ध गराउनुपर्ने एन्फाले तोकेको छ। राष्ट्रिय रेफ्रीले २५०० प्राप्त गर्दा एन्फा रेफ्रीलाई २ हजार रुपैयाँ उपलव्ध गराउनुपर्ने हुन्छ। 

एएफी र फिफा ट्रेनिङ पाएका म्याच एसेसरलाई ३ हजार र अन्यलाई २ हजार रुपैयाँ प्रतिदिन भत्ता उपलव्ध गराउनुपर्ने एन्फाले मापदण्ड तोकिदिएको छ। जसका लागी चन्दाको विकल्प छैन। एन्फाको मापदण्ड अनुसार विस्तारै आर्थिक सहयोगलाई समेत जोड दिने नेम्वाङले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.