|

तनहुँ : बन्दीपुर गाउँपालिका १ चिसापानी डुम्रेस्थित यातायात व्यवस्था सेवा कार्यालयले सवारी कर, रुट इजाजत लिन, सवारीसाधन आयकर अशुल गर्दै आएको छ। यस कार्यालयबाट लाइसेन्स नवीकरणको काम गर्ने अनुमति पाएको छ।

गण्डकी प्रदेश सरकारको भदौ २५ गते बसेको मन्त्री स्तरीय निर्णयले यस कार्यालयबाट लाइसेन्स नवीकरणको काम गर्न अनुमति दिइएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्णय गरेपनि कर्मचारी नपठाउँदा लाइसेन्स नवीकरणको काम भने गर्न सकेको छैन। कार्यालयमा लाइसेन्स नवीकरणका लागि पुगेका सेवाग्राहीको काम हुन सकेको छैन।

यातायात व्यवस्था सेवा कार्यालयले कम्प्युटर अपरेटर नहुँदा नवीकरणको काममा समस्या भएको जनाएको छ। कार्यालयमा लाइसेन्स नवीकरणको कामका लागि कम्प्युटर अपरेटरको अभावले गर्दा नवीकरण गर्न आएका सेवाग्राही फर्किन बाध्यता छन्। सवारी कर, सवारी इजाजत नविकरण, रुट इजाजत लिन, सवारी साधन आय कर तिर्न सकिने कार्यालयलाई लाइलेन्स नवीकरण गर्न पाउने अधिकार दिइएको छ।

‘अधिकार पायो तर कर्मचारी आएनन्’, कार्यालय प्रमुख विश्वकुमार श्रेष्ठले भने, ‘लाइसेन्स नवीकरणको लागि कम्प्युटर अपरेटर चाहिन्छ। हामीसँग कम्प्युटर अपरेटरको काममा दख्खल भएको कर्मचारी छैन। काम गर्न समेत सकिएको छैन।’ 

कर्मचारी नआएकोले कम्प्युटर अपरेटरको तालिम लिनको लागि एक जना कर्मचारी खटाउने तयारी भइरहेको श्रेष्ठले बताए। ‘करारमा कर्मचारी राख्ने अधिकार हामीसँग छैन। विभागले पनि कर्मचारी पठाउन सकेका छैनन्’, श्रेष्ठ भने, 'अनलार्नबाटै काम गर्नुपर्ने हुन्छ। अपरेटरको काम गर्नका लागि यहाँ भएका कर्मचारीमा त्यस्तो दख्खल छैन। त्यसैले काम गर्न सकेका छैनन्।’

कार्यालयमा हाल ८ जनाको दरबन्दी रहेको छ। काम थपिए पनि दरबन्दी भने थप नभएको उनले बताए। सरकारको नीति तथा निर्णय बमोजिम दिनानुदिन बढ्दै गएको सवारीको चापलाई व्यवस्थित गर्न, सेवाग्राहीलाई सर्वसुलभ तथा सहज रुपबाट सेवा प्रवाह गर्न डुम्रेमा कार्यालय स्थापना गरिएको हो।

डुम्रेमा कार्यालय स्थापना हुँदा यातायात कार्यालयहरूमा देखिएको भिडलाई केही हदसम्म सहज रुपमा सेवा प्रदान गर्न मद्दत पु्गेको छ। यहाँ कार्यालय स्थापना भएपछि विशेष गरी तनहुँ लगायत लमजुङ, मनाङ, गोरखा, चितवनको मुग्लिन, कुरिनटार, धादिङका केही भाग र तनहुँको कोत्रेसँग जोडिएको कास्कीको क्षेत्रलाई सेवा दिन सहज भएको छ।

हाल दैनिक कम्तिमा १०० देखि १५० जना सेवाग्राही आउने गरेको कार्यालयका अधिकृत कमल कँडेलले जानकारी दिए। डुम्रेबाट सम्पूर्ण सेवा दिइने भएपछि सेवाग्राहीको चाप भने बढ्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.