|

जनकपुरधाम : मिथिलाञ्चलमा आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। असोज पूर्णिमाका दिन पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ। 

मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवं शीतल रातिका रूपमा प्रसिद्ध मानिएको छ। कोजागराका राति भगवती श्रीलक्ष्मीले स्वयं निरीक्षण गर्ने र रातिमा जागरानमा बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने विश्वाससमेत रहेको छ। 

यस अवसरमा  कतिपय परिवारमा कुल देवताको स्थानमा विशेष प्रकारले कमलदलको अरिपन गरी भगवती लक्ष्मीको र कतिपय स्थानमा कुवेर र इन्द्रको पूजा  गर्ने चलन रहेको पाइन्छ। मैथिल संस्कतिको एउटा प्रमुख अङ्ग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाइ खाने, एकअर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने परम्परा रहेको छ। त्यस्तै मिथिला क्षेत्रमा मङ्सिर, माघ, फागुन, जेठ र असारमा विवाह भएका वरलाई कोजागरामा चुमाउने परम्परा रहेको छ।

यो विवाह भएको वर्षमा मनाइने गरिन्छ। यस अवसरमा वधुको घरबाट वरको घरमा भार (पाहुर) पठाइन्छ। भारमा फलफूल, मिठाइ, दही, मखान, केरा आदि  पठाइने गरिन्छ। कोजागरामा वरका लागि वधु पक्षबाट नववस्त्र, आभूषणका साथै खेल, मनोरञ्जनका सामग्री पनि पठाइने गरिएको पाइन्छ।

कोजागरा वरसित सम्बन्धित पर्व हो। यसमा वरको नै चुमाओन हुन्छ। वधु ससुरालीमा भएमा वर र वधु दुवैको संयुक्तरूपमा चुमाओन गरिने चलनसमेत रहेको छ। चुमाओन विधिमा शरीरका शीर्षदेखि चरणसम्म पाँच प्रमुख स्थानलाई चुमाउने गरिन्छ। संस्कृतिविद् रामभरोस कापडीका अनुसार हातका पाँच औँला पञ्चमहाभूतका प्रतीक भएकाले  पाँच स्थानको स्पर्शले शरीर ऊर्जावान हुने गर्दछ।

चुमाओन भनेको आशीर्वादको एउटा प्रकार ठानिने हुँदा यो कार्य ज्येष्ठ र श्रेष्ठ वर्गले मात्र गर्नु हुने मान्यता रहेको छ। चुमाओन सकेपछि ज्येष्ठ–श्रेष्ठ पुरूषवर्गद्वारा वैदिक मन्त्रका साथ दूर्वाक्षत दिएर आशीर्वाद दिइने चलन पाइन्छ। यस अवसरमा मिठाइ, मखान, पान बाँडिने गरिन्छ। महिलावर्गमा तेल–सिन्दूर लगाइदिने परम्परा रहेको छ।

यसपछि पचीसी खेल खेल्ने गरिन्छ। पचीसी एउटा खेल–विशेष हो, जसमा  आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसठ्ठी घरमा खेल खेलिने गरिन्छ।  खेल खेल्ने बेलामा घरका व्यक्ति वर र वधुका पक्षमा विभाजित भई खेल खेलेर मनोरञ्जन गर्दछन्।

यस अवसरमा जनकपुरधामको जानकी मन्दिरमा कोजागरा उत्सवसमेत मनाइने गरिन्छ। सो उत्सवमा जानकी मन्दिरका महन्थद्वारा भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गरिने चलन रहेको छ।

शरद पूर्णिमाको चन्द्रमालाई पूर्ण यौवन सम्पन्न चन्द्रमा मानिन्छ। यस दिनको ज्योत्स्नामा अमृत तत्वको वर्षा हुने विश्वास रहेको छ। यस दिनको ज्योत्स्नामा डुल्नाले शरीरमा अमृत तत्वको प्रभाव वृद्धि हुने मान्यता पनि रहेको छ। कोजागरा पर्वलाई जागृति पर्व पनि मानिएको छ त्यसैले यस पर्वलाई विष्णुत्वको प्रतीकका रूपमा समाजले स्वीकार गरेको पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.