|

कञ्चनपुर :  कञ्चनपुरको भीमदत्त नगरपालिकाको चुरे फेदीमा रहेको धार्मिक पर्यटकीय स्थल रौटेलामा पर्यटन भ्रमण बर्षलाई लक्षित गरी १९ फिटको त्रिशुल राखिएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी भीमदत्त नगरपालिकाका सबै वडाका प्रतिनिधित्व हुने गरी बैजनाथ मन्दिर नजिक धार्मिक पर्यटकीय मार्गको प्रस्थान विन्दुमा त्रिशुल राखिएको छ।

 नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भ्रमण वर्ष–२०२० सफललाई सफल बनाउन सन २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गर्नु भएको थियो। नगर प्रमुख विष्टको घोषण अनुसार रौटेलामा त्रिशुली राखिएको छ।

‘भीमदत्तले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न कार्यक्रम अघि सारेको छ , त्यस अन्र्तगत सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्ष घोषणा गरिएको छ,’ नगर प्रमुख विष्टले भने,‘पर्यटन वर्षलाई मध्यनजर गरी रौटेलामा १९ फिटको त्रिशुल राखिएको छ, त्यसमा सबै वडाको प्रतिनिधित्व छ।’

रौटेला धार्मिक पर्यटकीय स्थल भएकाले सबै वडाको प्रतिनिधित्व हुने गरी त्रिशुल राखिएको नगर प्रमुख विष्टले बताउनु भयो। प्रचारका लागि रौटेलामा यस अघि होर्डिङ्ग बोर्ड लगाइएको छ। धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि रौटेलादेखि ब्रह्मदेबसम्म धार्मिक पर्यटकीय मार्ग निर्माण गरिएको छ।

रौटेलादेखि ब्रह्मदेबसम्मका धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाकाले प्राथमिकता दिएर काम अघि  बढाएको छ। रौटेला नजिक बाराकुण्डा क्षेत्रका सबै १२ कुण्ड पुनःभरण गरिएका छन। बाराकुण्डामा पिकनिक स्पट निर्माण गरिएको छ। यसैगरी बाराकुण्डाबाट विष्णु मन्दिर धामसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ।

भारतका पूर्णागिरी माताका दर्शनार्थीहरुलाई रौटेला बाराकुण्डासम्म पुगाउने लक्ष्य सहित बाराकुण्डाका कण्डहरु पुनःभरण गरिएका हुन। पूर्णागिरी माताका दर्शनार्थीहरु धार्मिक पर्यटकीय मार्ग भएर बाराकुण्डा पुगाउने लक्ष्य राखिएको छ। पूर्णागिरी माताका दर्शनार्थीहरु ब्रह्मदेब र महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा पूजाआजाका लागि वर्सेनी आउने गरेका छन।

सरकारले गत वर्ष भम्केनी धाम, रौटेला र ब्रह्मदेबलाई एक सय नयाँ गन्तव्य सूचीमा समावेश गरेको थियो। नगर प्रमुख विष्टले ती नयाँ गन्तव्यलाई मध्यनजर गरी प्रचार र पूर्वाधार निर्माण अघि बढाउनु भएको हो। भम्केनी धाममा निर्माण भई रहेको नेपाल आमाको मूर्तिका लागि नगरपालिकाले एक करोड सहयोग गर्ने भएको छ। त्यस मध्ये चालु आर्थिक वर्षमा ५० लाख सहयोग प्रदान गरिने नगर प्रमुख विष्टले बताउनु भयो।

पश्चिमी सीमा नाका गडाचौकीमा नेपालको राष्ट्रिय झण्डा गाड्ने कार्य अघि बढेको छ। झिलमिला तालसम्म पक्की सडक निर्माण गरिएको छ। झोलुङ्गे पुल किनारमा उद्यान निर्माण सुरु गरिएको छ। झोलुङ्ग पुल सौन्दर्यकरणीका लागि नेपाल पर्यटन बोर्डसित सहकार्य गरी सोलार जडान गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि झोलुङ्ग पुलदेखि बागफाँटासम्म निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्गको ट्रयाक खोलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.