|
फाइल फोटो

  • अर्जुन आचार्य-

विराटनगर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसमा एमालेलाई प्रवेश निषेध भनेर उत्तेजक कुरा नगर्न मधेस केन्द्रित दलहरुलाई आग्रह गरेका छन्। सोमबार नेकपा एमाले मोरङको आठौं अधिवेशनको विराटनगरमा उद्घाटन गर्दै ओलीले सम्हालिएर बोल्न मधेस केन्द्रित दलहरुलाई चेतावनी दिए।

'आवेशको कुरा नगर्नुस उत्तेजक कुरा नगर्नुस् नेकपा एमाले हामी आक्रमण गर्न जादैनौं। एमालेमाथि कसैले आक्रमण गर्छ भने साह्रै नराम्रो मूल्य चुकाउनुपर्छ। एमाले दुम दबाएर भाग्ने पार्टी होइन' उनले भने ‘राणा शासन देख्यो, पञ्चायत देख्यो, राजतन्त्र  देख्यो जेलनेल देख्यो, धेरै चिज देखेर भोगेर आएको छ, अनि एमालेले पार्टीलाई मधेसमा प्रवेश गर्न दिन्न भन्ने? अलिक थान्काका कुरा गर्नुस्।’

विराटनगरको वीरेन्द्रसभागृहमा खचाखच भरिएका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले मधेशी मोर्चाका नेताहरुप्रति तिखो व्यंग्य गरे। उनले कुनै पनि हालतमा सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव पारित हुन नदिने बताए। राजनीति नभएकाहरूले जातीयता, भाषिक र भुगोलको कुरा लिएर विद्वेषको कुरा गर्छन्,’ ओलीले भने, ‘मधेश र मधेशका जनता सम्पन्न भएमा राजनीति गर्ने बाटो बन्द हुने डरले मधेशी नेताले विकास र समृद्धि भन्दा भावनाका कुरा गरेर राजनीति गरिरहेका छन्।’

मधेशी नेताहरू मधेशमा विकास नचाहने तर एमाले तराइलाई समृद्ध बनाउन लागेको ओलीले बताए। 'एमाले नहुँदो हो त अहिले नेपालको टाउकोमा विदेशीले टेक्ने थिए,’ ओलीले दाबी गरे, ‘राष्ट्रिय स्वाभिमान बचाउने काम एमालेले गरेको हो।’

नेतृत्वका लागि रस्साकस्सी

नेकपा एमाले मोरङको अधिवेशनबाट चार वर्षे कालकालका लागि नयाँ नेतृत्व चुनिदैछ। राजधानीपछिको राजनीतिको केन्द्र रहेको मोरङ एमालेको अधिवेशनलाई एमालेका नेताले पनि महत्व दिएका छन्।

विगतदेखिकै गुटगत पहिचानका आधारमा यस पटक पनि नेकपा एमाले मोरङको अधिवेशनमा कडा प्रतिष्पर्धा हुने देखिएको छ। नेकपा एमालेले पछिल्लो समय सर्वसम्मत नेतृत्व चयनको अभ्यास अघि बढाएको भएपनि मोरङमा त्यसको सम्भावना झिनो बन्दै गएको छ। मनाङ, मुस्ताङ, पाल्पा लगायतका जिल्लामा सर्वसम्मतरुपमा जिल्ला नेतृत्व चयन गरेको एमालेले बाग्लुङमा त्यो विधिलाई निरन्तरता दिन सकेन। मोरङमा पनि करिव निर्वाचन निश्चित भइसकेको छ।

संस्थापन पक्ष र माधव कुमार नेपाल पक्षधरले नयाँ नेतृत्वका लागि छुट्टा–छुट्टै दाबी प्रस्तुत गरेका छन्। नयाँ नेतृत्वका लागि अहिलेसम्मका अध्यक्ष महेश रेग्मीले पुनः उमेदवार बन्ने चाहना राखेका छन्। रेग्मी माधवकुमार नेपाल पक्षधर हुन्। यस्तै संस्थापन पक्षबाट अघिल्लो कार्यकालका अध्यक्ष रहेका विनोद ढकालले पनि अध्यक्षमा दाबी गरेका छन्। दुवै पक्षले आ–आफ्नो पक्षको प्यानल खडा गरिसकेका छन्।

अध्यक्ष रेग्मीको टिमबाट सत्यनारायण चौधरी उपाध्यक्ष, विद्या चाम्लिङ सचिवको टुंगो भइसकेको छ। यस्तै राजकुमार ओझालाई सहसचिवमा अगाडी सारिएको छ।

यता ढकाल पक्षले भने उपाध्यक्षमा रामलाल साह र सचिवमा सांसद तथा वर्तमान सचिव ऋषिकेश पोखरेल तथा सहसचिवमा धना तामाङलाई अगाडी सारेको छ।

अधिवेशनमा ८ सय ८२ जना प्रतिनिधि र १ सय १५ जना स्वयंसेवक परिचालन भएका छन्। ३ दिनसम्म चल्ने अघिवेशनले पार्टीको ४ वर्षे कार्यकालको समिक्षा गर्दै भावी कार्ययोजना तय गर्नेछ। यसअघि एमाले मोरङको जिल्ला अधिवेशन २०६९ पुस १५ गते सम्पन्न भएको थियो। उक्त अधिवेशनबाट अध्यक्षमा महेश रेग्मीले झिनो मतले विजयी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.