महासचिवमा जानकी गुरुङको उम्मेदवारी

|

काठमाडौं : गैर आवसीय नेपाली संघको आगामी दुई वर्षे कार्यकालका लागि वर्तमान उपाध्यक्ष कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि बेलायतबाट उम्मेदवारी घोषणा गरेका उनले सोमबार काठमाडौंमा फेरि उम्मेदवारी घोषणा गरेका हुन्।

होटल रोयलसिङ्गीमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दा ६ जना अन्य पदाधिकारीका उम्मेदवारले पनि उम्मेदवारी घोषणा गरेका छन्।

उपाध्यक्षमा अमेरिकाबाट प्रतिनिधि केश अर्याल, अमेरिकाबाटै रविना थापा र अष्ट्रेलियबाट मन केसीले उम्मेदवारी घोषणा गरेका छन्। एक महिलासहित उपाध्यक्षमा पाँचजना उपाध्यक्ष रहने व्यवस्था एनआरएनएमा रहेको छ।

महासचिवमा बेल्जियमबाट प्रतिनिधि रहेकी जानकी गुरुङले उम्मेदवारी घोषणा गरेकी छन्। कोषाध्यक्षमा बेलायतबाट प्रतिनिधि रहेका सोम सापकोटा उठ्ने भएका छन्। त्यस्तै मध्यपूर्व उपाध्यक्षमा कतारबाट नरेन्द्र भाटले उम्मेदवारी घोषणा गरेका छन्।

आचार्यले एनआरएनएलाई सबै गैरआवासीय नेपालीहरुको अपनत्व महसुस गर्ने साझा संस्थाक रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन्। 'संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउन मैले आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना अघि सारेर अध्यक्षको उम्मेदवारी दिएको छु', आचार्यले भने।

लोकतान्त्रिक समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका आचार्यले 'मातृभूमिमा समृद्धि कर्मभूमिमा संस्कृति' भन्ने‍ नारालाई मुख्य अभियानका रुपमा अघि सार्ने प्रतिवद्धता जनाए।

एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको कार्यकालमा अघि सारिएको र एनआरएनए आइसीसीद्वारा पारित भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणबद्ध रुपमा कार्यान्वयनमा लगिने पनि आचार्यले प्रतिवद्धता गरेका छन्।

यस्ता छन् आचर्यका प्रतिवद्धता

गैरआवासीय नेपाली संघ बेलायत हुँदै गैरआवासीय नेपाली अभियानमा होमिएको १२ वर्षपछि म युरोप संयोजक हुँदै अहिले संघको केन्द्रीय उपाध्यक्षको रुपमा काम गरिहेको छु। गैरआवासीय नेपाली संघलाई सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा र अपनत्व महशुस हुने खालको संस्था निर्माण गर्न मैले आफ्ना उम्मेद्वारी घोषणासँगै १० बुँदे कार्ययोजना सार्वजनिक गरेको छु। संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउन मैले आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना अघि सारेको छु।

गैरआवासीय नेपाली संघमार्फत् गैरआवासीय नेपाली र नेपाललाई जोडन र गैरआवासीय नेपालीको पूँजी र सीप नेपालको विकासमा लगाउन ‘समृद्ध नेपाल हाम्रै जीवनकालमा’ भन्ने नारा साकार गर्ने उद्देश्यले यो योजना अघि सारेको छु। आर्थिक मात्रै होइन संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसँग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिका लागि बौद्धिक तथा आर्थिक लगानी भित्र्याउने योजना अघि सारेको छु।

मर्यादित र व्यवस्थित वैदेशिक रोजगार देश निर्माणको आधार बनाउन मैले पसिना फण्डको परिकल्पना गरेको छु, जसमा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन ६ बुँदे कार्ययोजना अघि बढाएको छु। अहिले नेपालको सबैभन्दा ठूलो चिन्ताको विषय सुरक्षित रोजगारी र कामदारको जीवनरक्षाको विषय हो। पसिना फण्ड नामक उक्त कोषमा जम्मा भएको रकम नेपालको हितमा साथै लगानीकर्तालाई पनि मुनाफा हुने आकर्षक लगानीमा लगाइनेछ। यसका साथै आगामी दुई बर्षभित्र वैदेशिक रोजगार राहत कोष दोब्बर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्या परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुको समस्या बुझ्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, सीप विकास केन्द्रको स्थापना गर्ने, लगायतका कार्ययोजना अघि सारेको छु।

हामीले सुरुदेखि नै गैरआवासीय नेपालीलाई नागरिकताको विषय उठाउँदै आएका छौं। यो विषय संविधानमै उल्लेख भइसकेको छ। अहिले संसदमा नागरिकता विधेयक विचाराधीन अवस्थामा छ, यसलाई निष्कर्षमा पुर्‍याउन गैरआवासीय नेपालीलाई नागरिकताको आधारमा छुट्टै पासपोर्ट उपलव्ध गराउन पहल गर्ने, नेपाली नागरिकको हैसियतले हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट पार्न पहल गर्ने लगायतका कार्ययोजना पनि मैले अघि सारेको छु।

गैरआवासीय नेपाली लगानीकर्ता बाहेक एनआरएनएका सदस्यको सम्पर्क र सम्बन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, धेरैभन्दा धेरै मुलुकहरुसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति एवं दोहोरो करमुक्ति सम्झौता गर्न संस्थागत पहल गर्नेछु। नेपालका सबै नियोगहरुमा एनआरएनए एनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गर्न नेपालमा लगानीः उन्नतिको बिहानी कार्यक्रम अघि सारेको छु।

नेपाल सरकारले परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना गरेको ब्रेन ग्रेन सेन्टरलाई प्रभावकारी बनाउने र ब्रेन ड्रेनलाई ब्रेन ग्रेनतर्फ अगाडि बढाउने योजना छ।एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा अघि सारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणबद्ध रुपमा कार्यान्वयनमा लगिने छ। आगामी २ वर्षभित्र संगठनको सदस्य संख्या कम्तिमा एक लाख पुर्‍याउने, विदेशमा हुर्किरहेका युवा पुस्तालाई नेपाल, नेपाली भाषा, सभ्यता र संस्कृतिसँग जोडन मेरो उच्च प्राथमिकता हुनेछ।

युवा तथा महिला सबै आयोजनमा पहिला कार्यक्रम अन्तर्गत प्रवासी महिला र युवा सम्बद्ध कार्यक्रमलाई प्राथमिकता दिने, सबै एनसीसीहरुमा अनिवार्य रुपमा एकजना महिला उपाध्यक्ष हुने गरी नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता अघि सारेको छु। यसैगरी, नेपाल चिनौं अभियान अन्तर्गत विदेशमा हुर्किएका पुस्तालाई नेपालमा स्वयंसेवा गर्न प्रोत्साहित गर्ने, युवा उद्यमशीलताको विकास र सडक सुरक्षा लगायतका कार्यक्रम रहेका छन्।

नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन मेरो मुख्य जोड रहनेछ। त्यसका लागि पर्यटन सम्वन्धि कार्यक्रम गर्न सवै एनसीसीहरुलाई प्रोत्साहित गर्ने, सरकार र पर्यटन बोर्डसँग समन्वय गरी काम गर्ने योजना छ।

‘मातृभूमिमा समृद्धि कर्मभूमिमा संस्कृति’ लाई मूलमन्त्र मानेर नेपाली भाषा, भेष, साहित्य, कला र संस्कृतिको सम्वर्धन र प्रवर्धन गर्न विभिन्न कार्यक्रम अघि सारेको छु। ‘एनआरएनए हाम्रो, बनाऔं यसलाई अरु राम्रो’ भन्ने अभियानलाई सशक्त बनाउन, र एनआरएनएलाई सबै गैरआवासीय नेपालीहरुको अपनत्व हुने किसिमको साझा संस्थाका रुपमा विकास गर्न विगत जस्तै तपाईंहरु सबैको सुझाव, सल्लाह र समर्थनका लागि हार्दिक अनुरोध गर्दछु।

अन्त्यमा भर्खरै सकिएको नेपालीहरुको महान चाड विजयादशमी तथा आउँदै गरेको  शुभ दिपावली तथा छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.