उपमहानगरबाट तीन पटक फाइल चाेरी

|

जनकपुरधाम : महोत्तरीको मनरा घर भएका दिपककुमार सिंह र उनका भाई अभिषेक सिंहको जनकपुरधाम उपमहानगरपालिका ८ स्थित किता नम्बर ८४ र ४७ को ३ कट्ठा १८ धुर जग्गा छ। तर त्यो जग्गा सिंह दाजुभाइले भोगचलन गर्न पाएका छैनन्।

करोडौंको उक्त जग्गा भोगचलनका लागि उपमहानगरपालिकादेखि अदालतसम्म उनीहरू धाइरहेका छन्। पीडित दिपकले  पत्रकार सम्मेलन गरी जग्गाको भोगचलन गर्न नपाएको गुनासो गरे। निजी जग्गाबाटै ४२ फिटको बाटो बनाउन दबाब स्थानीय केही व्यक्तिले दिएको उनले बताए। उनले भने, ‘यहाँ १० फिटको बाटो छ। तर एकतर्फ (मेरो जग्गा तिरबाट) थप ३२ फिट बाटो बनाउन खोज्दा अन्यायमा परेका छौं।’

आफ्नो निजी जग्गा पनि भोगचलन गर्न नदिएको र जग्गा घेर्न खोज्दा मार्नेसम्मको धम्की दिने गरेको दिपकले पीडा सुनाए। ‘पिलर गाडेर जग्गा घेर्न खोजेको थिए’, उनले भने, ‘तर यहाँका गुण्डा र दलाल आएर उखेलेर फाल्यो।’ उनले  भने,'यहाँका केही दलाल र गुण्डाले जग्गा नै अरुको हो भनेर उपमहानगरपालिकाको न्यायिक समितिमा ६/७ जनाबाट उजुरी गर्न लगाएको छ।'

सिंह दाजुभाइको नाममा रहेको जग्गा परिक्रमा रोडमै टाँसिएको छ। जग्गाको दक्षिणतरिबाट १० फिट बाटो छ। उक्त बाटो भएर केही पश्चिम पुग्दा गुठीको जग्गा कब्जा गरी दिगम्बर राईसहितका केही व्यक्ति घर समेत बनाइसकेका छन्।

राई बृहत्तर जनकपुर क्षेत्र विकास कोषका पूर्व अध्यक्ष पनि हुन्। उनीसहितका केही व्यक्तिले नै जग्गा भोगचलन गर्न नदिएको सिंह दाजुभाइ बताउँछन्। दिपक प्रश्न गर्छन्, ‘मेरो आफ्नो निजी जग्गा हुँदा उपमहानगरपालिकाले गुण्डा र दलालको लोभमा परेर विभिन्न बहाना बनाई घेर्न समेत दिएको छैन। तर यहाँ गुठीका सयौं बिघा जग्गा कब्जा गरेकालाई घर बनाउन नक्सा समेत दिएको छ। यो कसरी सम्भव भयो?’ रकम लेनदेन र पावरको बलमा नक्सा पास भइरहेको समेत उनले आरोप लगाए।

उपमहानगरपालिकाबाट फाइल चोरी

जग्गा घेर्न दिपकले पटक-पटक उपमहानगरपालिकामा निवेदन दर्ता गराए। तर उपमहानगरपालिकाबाट उनको निवेदन फाइल नै चोरी भएको छ। फाइल चोरी एक पटक पनि होइन्, पटक पटक भयो। ९ महिनामा तीन पटक निवेदन दिएको फाइल चोरी भएपछि केही दिन अगाडि चौंथो पटक दिपकले निवेदन दिएका छन्।

उपमहानगरपालिकाका कर्मचारीदेखि न्यायिक समितिका संयोजक तथा उपप्रमुख रीता झासम्मको मिलोमतोमा निवेदन फाइल चोरी हुने गरेको पीडितको आरोप छ। दिपक भन्छन्, ‘सबैको मिलोमतो छ। निवेदन दिएपछि निर्णय गर्न चाहेका छैन। त्यही भएर फाइल चोरी भयो भनेर पन्छिदै आएको छ।’ 

अदालत निषेधाज्ञाको बेवास्ता

उपमहानगरपालिकाबाट समेत न्याय नपाउने देखिएपछि पीडित दिपक जिल्ला अदालत पुगे। अदालतमा जग्गा भोगचलनका लागि रिट निवेदन दर्ता गराए। अदालतले पनि जग्गा भोगचलन गर्न दिन निषेधाज्ञा जारी गर्‍यो। तर त्यो निषेधाज्ञालाई समेत वास्ता गरेको देखिँदैन। पीडित दिपकले निषेधाज्ञा जारी भए पनि उपमहानगरपालिकाले वास्ता गरेका नगरेको गुनासो पोखेका छन्।

अदालतको निषेधाज्ञा देखाउँदै उनले भने, ‘यहाँ गुण्डाराज चलेको छ। हामी कसरी न्याय पाउने? हजुरहरूले पहल गरिदिनुपर्‍यो।’ उनले अब न्याय नपाए आफ्नो जग्गामै आत्महत्या गर्ने समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.