|

सोलुखुम्बु :  सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफै सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन्। चाडपर्वको अवसरमा विभिन्न बाहाना पारी यात्रुलाई ठगेको सुचनाको आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाई गर्दै आएको छ।

प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र प्रहरी नायव उपरिक्षक नारणप्रसाद चिमोरिया आफै सडकमा आएर नागरिकको गुनासो सुनेको यो पहिलो हो। पछिल्लो समय जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलिले बढी भाडा लिने सवारीलाई कार्वाही गर्दै यात्रुको रकम फिर्ता गराईरहेको छ। बारम्बार सचेत गराउँदा समेत बिभिन्न बाहाना पार्दै यात्रुलाई बढी भाडा लिएपनि कतिपय यात्रु स्वयम्ले ढाँटेर दोषिलाई उन्मुक्ति दिने काम गरेको पाईएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए। उनले भने, 'ट्राफिक प्रहरीको सक्रियता सन्तोषजनक छ, तर पनि स्थलगत गुनासो  सुन्ने र आगामी योजना निर्माण गर्ने गरि रातीनै सडकमा गयौ, हेर्‍र्यौ धेरै कुरा बुझ्यौ।’

४४ जना यात्रुको भाडा फिर्ता

आइतबार ओखलढुङगाबाट  सोलुखुम्बु भित्रिएको सवारीसाधानमा चेकजाँच गर्दा ७ जना यात्रुबाट ५० का दरले बढी लिएको पाएपछि रकम फिर्ता गराईएको प्रहरी नायव उपरिक्षक नारायण चिमोरीयाले जानकारी दिए। ओखलढुंगा सल्लेरीको लागि ४५० भाडा कायम गरिएको छ।

 सोमबार पनि थुलुङदुधकोशीको दिप्लीघाटबाट सल्लेरी आउँने जीपले निर्धारण गरिएको भन्दा ३ सय बढी भाडा लएपछि फिर्ता गराईएको प्रहरीले जनाएको छ। २९ जना यात्रुको जनही ३ सय भाडा फिर्ता गरिएको ट्राफिक प्रहरी नारयणबहादुर बस्नेतले जानकारी दिए। 

दिप्लीघाट देखी सल्लेरी सम्मको ७ सय भाडा निर्धारण गरिएको भएपनि यातायात व्यवसायीले एक हजार लिदै आएका छन्। यस्तै सोमबारनै काठमाडौं जाने ८ जना यात्रुबाट बढी लिएको भाडा फिर्ता गराएको प्रहरीले जनाएको छ। सल्लेरी काठमाडौं १ हजार ६०० भाडा निर्धारण गरिएको भएपनि २ जनाबाट २ हजार र अन्य ६ जना बाट १ हजार ८०० भाडा लिएको पाईएको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए।

भाडा फिर्ता पाएपछि यात्रु हर्षित 

बढी तिरिएको रकम फिर्ता पाए पछि यात्रु भने निकै खुसि भएका छन्। प्रमुख जिल्ला अधिकारीसहितको टोलिले चेकिङ गर्दै थिए पत्रकार समेत रहेका जुबुका डाकमान राईले भने, “मलाई यो कार्य देखेर अत्यान्तै खुसी लाग्यो, यस्तो चेकिङ निरन्तर भयोभने अझै राम्रो हुन्छ ।”

कुनै  सवारी साधनले बढी भाडा लिएको खण्डमा १०० नम्बरमा फोन गरेर जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ। अहिले पनि टिकट काउण्टरका कर्मचारीले गाडी अभाव तथा सिट नभएको भन्दै सल्लेरी देखी काठमाडांैका लागि २ हजार सम्म लिदै आएका छन्। पछिल्लो पटक जिल्ला प्रशासनमा यातायात व्यवसायी सहितको बैठकले सल्लेरी काठमाडौं  एक हजार ६०० भाडा निर्धारण गरेको छ।

प्रहरीकै अगाडी भाडा बुझाउँनुपर्ने 

टिकट नदिने र प्रहरीको चेकिङ सकिएपछि मात्रै भाडा लिन थालेपछि प्रहरीकै रोहबरमा भाडा तिर्न लगाउँने र गाडी छुटाउने सम्मको काम प्रहरीले गर्दै आएको छ। यो अवधिमा १ सय भन्दा बढी सवारी कार्वाहीमा परेको प्रहरीले जनाएको छ।

अहिले अस्थायी जिल्ला ट्राफिक प्रहरी पोष्ट र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुृक्त टोलीले बिहान ४ बजेदेखि राति १०ः३० बजे सम्म नियमीत ड्यूउटी गर्ने गरेको प्रहरी नायव उपरिक्षक नारणप्रसाद चिमोरियाले जानकारी दिए।  'बेला बेलामा रातको कुनै प्रवाह नगरि हामी पनि बाहिर निस्केर हिडिरहेका हुन्छौ।' उनले भने, 'कसैले ठगिएको महशुस भए प्रहरीलाई खबर गर्नुहोला, तत्काल कार्वाही हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.