४ सय ४ को हाजिर, १ सय १६ उपस्थित : कोरम नपुगेर बैठक स्थगित

|

काठमाडौं : सोमबारको संसद बैठकमा स्थानीय तह निर्वाचन सम्बन्धी विधेयकमाथि छलफलको कार्यसूची थियो। विधेयकमा २७ जना सांसदले आफ्नो धारणा राखे। उपप्रधानमन्त्री तथा गृह मन्त्री विमलेन्द्र निधिले सांसदले उठाएको प्रश्नमाथि जवाफ दिए।

मन्त्रीको जवाफ सकिए लगत्तै सभामुख ओनसरी घर्तीले विधेयक विचार गरियोस् प्रस्ताव पारितको प्रक्रिया अघि बढाइन्। बैठकमा गणपूरक संख्या यकिन गर्न नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले माग गरे।

काफ्लेले माग गरेपछि सभामुखले आवश्यक संख्या पुर्‍याउन तीन मिनेटको घन्टी बजाइन्। सांसदको गणना सरु भयो। बैठक सञ्चालनका लागि १ सय ४९ सांसद आवश्यक पर्ने भएपनि १ सय १६ जना मात्र उपस्थित थिए। कोरम नपुगेपछि सभामुख ओनसरी घर्तीले बैठक आधा घन्टासम्म स्थगित गरिन्। त्यसपछि संख्या पुर्‍याएर बैठक सञ्चालन भयो।कहाँ थिए सांसद ?

सोमबारको संसद बैठकमा ४ सय ४ जना सांसदले हाजिर गरेका थिए। स्थानीय तह निर्वाचनका लागि आतुर सांसदहरु विधेयकको छलफलमा भने त्यति चासो दिइरहेका थिएनन्।

बैठकमा केहीबेर सहभागी भएर कोही बाहिर आएर चौरमा गफिरहेका थिए।  कतिपय सांसद क्यान्टिनमा खाजा खाँदै थिए। सांसदहरु आ आफ्नो तालमा व्यस्त हुँदा संसद भवनभित्र अधिकांश कुर्सीहरु खाली थिए। 

दलको ह्वीप समेत मानेनन् 

नेपालको संविधान धारा ९४ अनुसार कुनै पनि प्रस्ताव पारित गराउनका लागि संसदको एकतिहाई संख्या आवश्यक पर्छ। संसदीय अभ्यासमा आफ्नो प्रस्ताव पारित गराउनका आवश्यक मत जुटाउने दायित्व सरकारको हुन्छ। सोमबार स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमाथि विचार गरियोस् प्रस्ताव पारित गराउन पनि सत्ता पक्षले आफ्ना सांसदलाई ह्वीप नै जारी गरेका थिए। कांग्रेसले सोमबार ह्वीप जारी गरेको थियो भने माओवादी केन्द्रले आइतबार नै आफ्ना सांसदलाई सचेत गराएको थियो। तर दुबै पार्टीका सांसद निजी काममा व्यस्त भएपछि संसद बैठक प्रभावित बन्यो।

कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले मन्त्री जति कार्यक्रममा व्यस्त र सांसद सिंहदरबारतिर रहेकाले पछि फोन गरेर बोलाएको बताए। 'आजै ह्वीप जारी गरेको थिएँ प्राय सांसद आफ्ना काममा व्यस्त थिए पछि फोन गरेर बोलाएँ,' उनले थाहाखबरसँग भने।

यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले केहीले अनुमति लिएर गएपनि अधिकांश भने आफ्नै काममा व्यस्त भएको उल्लेख गरे। 'हिजै ह्वीप जारी गरेको थिएँ', उनले भने,' केहीले अनुमति लिएर बाहिर जानुभएको थियो कतिपय सिंहदरबारस्थित मन्त्रालयहरुमा थिए।'

सत्तारुढ दलले आफ्ना सांसदलाई फोन गरेर बोलाएपछि बैठक दोस्रोपटक बसेको थियो। त्यसले स्थानीय तह निर्वाचन विधेयक माथि विचार गरियोस् प्रस्तावलाई सर्वसम्मतिले पारित गर्‍यो। संसद बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.