|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारले प्रयोग गर्ने भाषाबारे असन्तुष्टि जनाएका छन्। अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवर्द्धनका लागि दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको‌ मंगलबार उद्घाटन गर्दै प्रम ओलीले  सामाजिक सञ्जालले सभ्यताको पर्खाल भत्काउँदै लगेको पनि गुनासो गरेका छन्। 

नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टि जनाए।

पछिल्लो समय नेपालको सभ्यता क्षय हुँदै गएकोमा प्रधानमन्त्रीले बताए। 'सामाजिक सञ्जालले सभ्यताको पर्खाल भत्काएका छन्', प्रधानमन्त्री  ओलीले भने, 'सञ्चार माध्यमले अरुको नक्कल गरेर आदरार्थी शब्द पनि बिर्सिएका छन्। पत्रकारहरुले बुवालाई पनि तपाईं भन्‍दैनन्।'

उनले नेपालको भाषा-संस्कृति र पूर्वीय सभ्यतालाई नबिर्सिन पनि सचेत गराएका छन्। ओलीले विकसित र पश्चिमा मुलुकको संस्कृतिको देखासिकी गर्दा नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँपुस्ताले बिर्संदै गएकोमा चिन्ता व्यक्त गरे।

पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भइरहेका भाषा र सञ्चारमाध्यमले प्रयोग गर्ने आर्दरार्थी शब्दलाई लिएर उनले तीव्र असन्तुष्टि जनाएका छन्। 

'विकसित देशको संस्कृतिको सिको गर्ने नाममा सभ्यताका पर्खाल बागमतीमा फालिएका छन्। शिष्टता र मर्यादाको कसैलाई मतलब छैन। पत्रकारले बुवालाई पनि तपाईं भन्दैनन्, तिमी भन्छन्', ओलीले गुनासो गर्दै भने, 'अंग्रेजीको लोभमा यो सबै भएको छ। एउटा ‘यु’ शब्दको लोभले बुवालाई तपाईं भन्‍न छाडेका छन्। यो सबै डलरवाला, ‘यु’ वालाहरू ‘यु’ बाटै सबै मिलाउँछन्। आफ्नो सभ्यता भुलेर 'यु' वालातिर रमाउने भ्रम पर्न थालेको छ। हामीकहाँ सानालाई तिमी र ठूलालाई तपाईं भनिन्छ। एउटा सामाजिक मर्यादामा रहेर भाषाको प्रयोग गरिनुपर्छ।' 

ओलीले नेपाल ज्ञान र विद्वताका लागि विश्वको अग्रणी मुलुक भएको पनि बताए। अरु देशका मानिसहरु ढुंगाको भरमा शिकार गर्दै गर्दा नेपालमा बेदका ऋचाहरुको रचना भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

'न्यूटनले गूरुत्व आकर्षणको नियम  पत्ता लगाउनु भन्दा धेरै अघि भाष्करचार्यले यो नियम पत्ता लगाएका हुन्', प्रधानमन्त्री ओलीले भने, 'उनीहरुले प्रचार प्रसार गरेर हाम्रा पुर्खाको पत्ता लगाएको कुरालाई ओझेल पारे।' पुर्खाहरुले आफ्नो अनुभूतिलाई ज्ञानका रुपमा विकास गर्न हजारौं वर्षअघि योगदान गरेको प्रधानमन्त्रीले बताए। 

प्रधानमन्त्रीले व्यवस्था परिवर्तन भएपछि देशमा थिति बसेको पनि बताए। उनले कतिपयलाई विधिको शासन मन नपरेर पुरानै धङधङी पालिरहेको पनि जिकिर गरे।

कुनैबेला पुर्खाहरुले भन्‍ने गरेको ‘सर्वे भवन्तु सुखिन’लाई वर्तमान सरकारले राष्ट्रिय आकांक्षाको रुपमा सुखी नेपाली समृद्ध नेपालको रुपमा अघि सारेको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपाली संस्कृति सभ्यताको परिचायक भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालीहरुलाई साँस्कृतिक रुपमा पनि पूर्वजहरुले बाटो देखाइदिएको उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.