|

काठमाडौं : समायोजनको लफडाले दशैंलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यकर्मीको फेरि भीडभाडले मेला सुरु भएको छ। पूर्वदेखि पश्चिमका जिल्लाबाट मन्त्रालय आइपुगेका स्वास्थ्यकर्मीका कारण मन्त्रालयमा भीड लागेको हो।

मन्त्रालय समायोजन भएको पत्र हुलाकमार्फत सम्बन्धित ठाउँमा नै पठाउने भने पनि आफ्नो समायोजन कहाँ भएको भन्‍ने नै थाहा नभएपछि स्वास्थ्यकर्मीहरू समायोजन पत्रको फोटो हेर्न र  खिच्नको लागि मात्र भए पनि मन्त्रालय आएका बताउँछन्। समायोजन सकिएर अन्य मन्त्रालयका कर्मचारी कार्य क्षेत्रमा गइसकेको भए पनि स्वास्थ्यकर्मीको समायोजन भने झनै बल्झिएको छ।

आफू कहाँ परेँ भन्ने थाहा पाउनकै लागि सोमबारदेखि नै स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकर्मीहरू बिहानैदेखि लाइनमा बसिरहेका छन्। तर, मन्त्रालयले समायोजनपत्र नभई पत्रको फोटो खिच्न पाउने व्यवस्था गरेको छ। एक स्वास्थ्यकर्मीले भने, ‘हामीलाई समायोजनको पत्र सम्बन्धित ठाउँमानै आउँछ भनिएको थियो। तर, आएन। मलाई आफू कहाँ परेछु भन्ने थाहा नै भएन, जसले गर्दा हेर्न मात्र आएको हुँ।‘

आफ्नो पत्रको फोटो खिच्नकै लागि दशैँलगत्तै दैलेखबाट काठमाडौं आएका अहेब विनोदकुमार कठायतको आफ्नै गुनासो छ। उनले समायोजनमा गुनासो निवेदन दिएकै थिएनन्। तर उनको नाममा गुनासो छ, भनेर हाल दैलेखबाट काभ्रे समायोजन गरिएको छ। ‘म दैलेखको मान्छे, काभ्रे पुगेँ के गर्ने गर्ने?’, उनले प्रश्न गरे।

सुत्केरी स्याहार बिदामा रहेको आफू यस्तो सुनेपछि यहाँ आएको उनले बताए। ‘उता सुत्केरी श्रीमतीलाई खाना पकाएर दिने मान्छे नै छैन। यो समायोजनले त दिनु दुःख दियो’, उनले भने।

उता मुगुका हेल्थ असिस्टेन्ट विष्णु बहादुर शाहीको पद घटुवा भएको पत्र गएपछि उनी पनि मन्त्रालयमा गुनासो गर्न आएका छन्। उनीजस्ता पद नमिलेका कैयौँ स्वास्थ्यकर्मी पनि यतिखेर मन्त्रालय धाइरहेका छन्। कहिले मिल्ने टुंगो नै छैन।

स्वास्थ्य मन्त्रालयले भने स्वास्थ्यकर्मीको समायोजनपत्र उनीहरू कार्यरत कार्यालयमै पठाउने बताएको छ। मन्त्रालयले धेरै संख्यामा रहेका अहेब र हेल्थ असिस्टेन्टनको समायोजनको पत्र वितरणमा केही समस्या भए पनि त्यो चाँडै नै समाधान हुने बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.