|

काठमाडौं : सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उत्तरी छिमेकी राष्ट्र चीनको राष्ट्रपति सी जिनपिङको भ्रमणमा चीनलाई केही दिन नसके पनि सम्मान दिएको बताएका छन्। मंगलबार राजधानीमा संचार केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले असाधारणरूप नेपाल सरकार र नेपाली जनताले राष्ट्रपति सीलाई सम्मान दिएको बताएको हुन्।

सीको भ्रमणले नेपाल अब भूपरिवेष्ठित राष्ट्रबाट भू-जडित राष्ट्र भएको मन्त्री बाँस्कोटाको भनाइ छ। 'नेपाललाई अब विकास र समृद्धिको लागि हौसला मिलेको छ,' उनले भने। नेपाललाई आर्थिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए। 'नेपाल सरकारले विकास र समृद्धिको सपना देखेको थियो चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सपना अब योजनामा बदलिने छ' उनले थपे।

चीनसँग नेपाल अब भौतिक पुलमार्फत जोडिने क्रम सुरु भएको उनको भनाइ थियो। विगतका वर्षमा चीनसँग धार्मिक र सांस्कृतिक रुपमा जोडिएको भन्दै उनले  यो भ्रमणले नेपालमा विकासको ढोका खोलिएको विश्वास व्यक्त गरे।

'२३ वर्षअगाडि अहिलेको जस्तो नेपाल थिएन। त्यसैले पनि नेपालले धेरै प्रगति गरेको चीनले देखिसकेको छ' उनले भने। राष्ट्रपतिको भ्रमणले बहुआयामिक अर्थ बोकेको उनको भनाइ छ।

सीको भ्रमणलाई आमनागरिक र सम्पूर्ण राजनीतिक दलले समर्थन गरेको उनले बताए। 'यसमा सर्वसाधारण नागरिकको असाधारण समर्थन थियो,'उनले भने। नेपाली जनताको समर्थनले चीनीयाँ राष्ट्रपति समेत खुसी भएको सन्देश विभिन्न सञ्चार माध्यमबाट पाएको उनले बताए। उनले देशभित्र र बाहिर पनि नेपालबारे राम्रो सन्देश गएको उनले बताए।

'चीनभन्दा नेपाल भूगोल र आर्थिक दृष्टिकोणले सानो छ,' उनले भने,' भावना, नेपाली मन तथा नेपाली जातिको संस्कृतिले नेपाल ठूलो छ।' नेपाली नागरिकप्रति सदासयता प्रकट गरी राष्ट्रपति दुई दिने भ्रमणमा राष्ट्रपति आएको उनको भनाइ थियो।

चीन सरकारले नेपालमा भइरहेका उत्पादित वस्तुमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए। उनले भने, 'यसले उत्पादन क्षमतामा वृद्धि भई सामाजिक रुपान्तरणलाई अगाडि बढन सहयोग गर्छ।'

देश तथा विदेशमा रहेर नकारात्मक टिप्पणी गर्नेलाई पनि राम्रो सन्देश दिएको उनको धारणा थियो। चीन सरकारले ऊर्जा, पर्यटन, सञ्चार र उद्योग क्षेत्रमा सहयोग गर्ने गरि सम्झौता भएको उनले प्रष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.