|
फोटो : अनुदानमा ल्याइएको ट्र्याक्टर निर्माण सामाग्री बोक्न प्रयोग गरिँदै

अर्जुन आचार्य
विराटनगर
: मोरङमा यस आर्थिक वर्षमा कृषि अनुदानका १३ सय ९० वटा ट्रयाक्टर भित्रिएका छन्। राजस्व छुटमा विराटनगर भन्सारबाट भित्रिएका यी ट्रयाक्टर कृषिको काममा प्रयोग हुनुपर्ने हो। तर ट्रयाक्टरको प्रयोग व्यापारिक प्रयोजनमा हुने गरेको छ। 

विभिन्‍न सप्लायर्सको नाममा भित्रिएका ती ट्र्याक्टरको प्रयोग इँटा, ढुंगा, बालुवा, उद्योग, हार्डवेयरका पसलले गरिरहेका छन्। यसरी ट्र्याक्टर खरिद गर्ने सप्लायर्सहरुमा विराटनगरका १९ वटा छन्।

कुबेर एण्ड सन्स ट्रेड लिंकले २ सय ३२, महावीर अटोमोबाइल्सले ९६, नाथ अटो मोबाइल्सले १ सय ५४ वटा, नेपाल टे«ड एण्ड सर्भिस लिंकले ९५ वटा, राजेश सप्लायर्स एण्ड ट्रेडर्सले १ सय ९४ वटा, आर.आर. कन्ट्रक्सन प्यासिफिक इन्टरप्राइजेजले ५० वटा, विवेक अटो मोबाइल्सले १ सय ३१ वटा कृषि सहुलियतका ट्र्याक्टर भित्र्याएका छन्। 

‘कृषि प्रयोजनका लागि भनेर राजस्व छुटसहित ल्याइएका ट्र्याक्टरको दुरुपयोगले वास्तविक कृषि क्षेत्रको विकास भएको छैन,’ पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेलले भने, ‘सरकारले ट्र्याक्टरको व्यावसायिक प्रयोजन रोकेर वास्तविक कृषि क्षेत्रमा लगाउनुपर्‍यो ,’ पब्लिक फोरमले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएको जानकारी अध्यक्ष ढुंगेलले दिए।

कृषि प्रयोजनका ट्र्याक्टरको प्रयोग शहरी क्षेत्रमा हुँदा ट्राफिक जामको समस्या अझै बढ्दै गएको उनको भनाइ छ। यता जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले ट्र्याक्टरको दुरुपयोगको विषयमा चाँडै कदम चाल्ने बताए।

‘हाम्रो पनि अहिलेसम्म यस विषयमा ध्यान गएको थिएन,’ पौडेलले भने,‘चाँडै कार्ययोजना बनाएर अनुगमन सुरु गर्छौं।’ मोरङमा ५ हजार बढी कृषि अनुदान सहुलियतका ट्र्याक्टर प्रयोगमा रहेको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.