|

जनकपुरधाम : जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपाका संघीय सांसद प्रमोद साहलाई भोलि जिल्ला अदालत धनुषामा पेश गर्ने भएको छ।

काठमाडौंबाट पक्राउ गरी धनुषा ल्याउन ढिलो भएपछि सांसद साहलाई आज अदालतमा पेश गर्न सकिएन। जनकपुर विमानस्थलबाट सिधा जिल्ला प्रहरी कार्यालय लगिएका सांसद साहलाई केही बेरमा अदालत लगियो। तर न्यायाधीश क्वाटरमा गइसकेका कारण फर्काएर पुनः जिल्ला प्रहरी कार्यालय लगिएको छ।

सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद साह जहाज ढिलो हुँदा जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गर्नुका साथै म्यानेजर विजय सिंहमाथि हातपात गरेका थिए। उनीमाथि मैगलबार नागरिक उड्डयन प्राधिकरणले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको छ। मुद्दामा दोषी ठहर भए सांसद साहलाई ५ वा १० वर्ष कैद सजाय हुने व्यवस्था रहेको धनुषाका एसपी शेखर खनालले जानकारी दिए।

आन्दोलनको चेतावनी

राजपा प्रदेश सांसद तथा प्रमुख सचेतक प्रमेश्वर साहले सांसद साहलाई पक्राउ गरेको विरोधमा भोलिदेखि आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले नागरिक उड्डयन कार्यालयसँग मुद्दा फिर्ता लिन आग्रह गरे। उनले यदि मुद्दा फिर्ता नलिए आन्दोलन थेग्नका लागि तयार भएर बस्न चुनौती दिए।

यस्तै सांसद साहका श्रीमती तथा प्रदेश सांसद मिरा साहले विरामी छटपटाइ रहेको अवस्था देखेर बुद्ध एयरका कर्मचारीसँग बुझ्न खोज्दा उल्टै धाकधम्की देखाउँदा घटना घटेको बताइन्। उनले जनताको आवाज बोल्दा पक्राउ गरी मुद्दा चलाउँनु गलत भएको पनि बताइन्। उनले प्रश्न गरिन– एउटा निर्वाचित जनप्रतिनिधिले जनताको पीडा नबुझे कसले बुझिदिने ?

अनुसन्धान नै नगरी सिधै मुद्दा दर्ता गरेर प्रशासनले जानेरै फसाउन खोजेको स्पष्ट भएको उनले बताइन्। उनले पनि मुद्दा फिर्ता लिएर लापरबाही गर्ने बुद्ध एयरलाई नै कारबाही गर्नुपर्ने माग गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.