|

नेपालगन्ज :  पश्चिम नेपालका थारु गाउँमा माघी पर्वको रौनक सुरु भएको छ। माघी पर्व थारु समुदायको नयाँ वर्ष भएकोले पनि १५ दिन अघिदेखिनै थारु गाउँमा माघी पर्व सुरु भएको हो। 

१५ दिन अघिदेखि नै बैजापुर गाविसका थारु गाउँमा माघीको रौनक सुरु भइसकेको बैजापुर गाविस–६ का वरघर लाहुराम थारुले बताए। उनले बैजापुरका बासिन्दाले माघीको तयारीलाई तिव्रता दिएको बताए । ‘थारु समुदायमा माघीको लागि काठदाउरा गर्ने र पात टिप्ने, माछा, मासु, तरकारीको जोहो गर्ने लगायतका कार्य धमाधम भइरहेका छन्,' उनले भने। 

थारु गाउँमा माघीको नाचगान समेत सुरु भइसकेको बैजापुर गाविस–६ का वरघर तुल्सीराम चौधरीले बताए। उनले थारु गाउँमा माघीको रौनक बढेसँगै चहलपहल बढेको बताए।'चारैतिर माघीको चहलपहल सुरु भएको छ, कोही माछा, मासुको जोहो गर्ने त कोही पात टिप्ने, काठदाउरा गर्ने काममा थारु समुदाय ब्यस्त छन्,' उनले भने।

माघीको तयारी स्वरुप पश्चिम नेपालका थारु समुदायका यूवायूवती नाचगानको तयारी समेत गरिरहेका देखिन्छन्। माघीमा घर–घरमा गएर थारु संस्कृति अनुसारको मघौटा नाच नाचिने भएकोले नयाँ पुस्ताका युवायुवती नाचगान सिकेका हुन्। पछिल्लो समय युवायुवतीले माघीमा नेपाली परम्परागत नाचगानसमेत गर्न थालेका छन्।

माघी मान्‍न युवा गाउँ फर्किदै

माघी पर्व नजिकिदै गएपछि कामका लागि बाहिर गएका युवासमेत घर फर्किने क्रम बढेको छ। कामका लागि खाडीमुलुक गएका र भारत गएकाहरु घर फर्किन थालेको चिसापानी गाविस–३, च्यामाका गणेश चौधरीले बताए। उनले मना र अध्ययनका लागि घर बाहिर गएका यूवायूवती माघी मनाउन गाउँ आउन थालेको बताए। 'सुनसान गाउँमा माघी नजिकिएपछि चहलपहल बढेको छ, धेरै वर्ष पहिले घर छोडेका यूवा समेत गाउँ आएका छन्,' उनले भने।

माघी मनाउन विदा मिलाएर आउने क्रम सुरु भइसकेको टिटिहिरियाका मंगल थारुले बताए। उनले दसैँ, तिहारको भन्दा धेरै युवा माघी मनाउन आउने गरेको बताए। उनले भने,'विदेशमा भएकाहरु समेत माघी मनाउन आउँछन्, नेपालमा भएका त छुट्दै छुट्दैनन्।'

माघीपर्व आउनु एक महिनादेखि नै विभिन्न तयारी गर्दै आएको थारु अगुवाहरुको भनाइ छ। माघीका लागि गाउँमा चहलपहल बढ्नुका साथै देश बाहिर र भित्र रहेका युवा समेत घर फर्किन थालेको बर्दिया बबई नगरपालिका– ७ का अगुवा लहानु थारुले बताए। उनले गाउँ–गाउँमा रातभर आगो बाल्ने चलन अनुसार दाउरा संकलन, पिसान कुटान, रंगरोगन र खानाका परिकारका लागि चाँजोपाजो मिलाउनमा थारु समुदायका महिला ब्यस्त भएको बताए।

विद्यालयमा ३ दिन बिदा गर्ने छलफल सुरु

थारु समुदायको नयाँ वर्ष एवम् महान पर्वमा सरकारले एक दिनमात्र बिदा दिने भएपनि बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका थारु बाहुल्य क्षेत्रका विद्यालयले कम्तीमा ३ दिन स्थानीय विदा दिने गरेका छन्।

माघे सक्रान्तिको अघिल्लो दिन मासु काट्न भएकोले त्यहि दिनदेखि केटाकेटी विद्यालय नजाने गरेको बैजापुर गाविसका समाजसेवी एवम् वरघर लाहुराम थारुले बताए। उनले पुस मसान्त, माघ १ र २ गते थारु समुदायका बालबालिका विद्यालयमा अनुपस्थित हुने गरेको खुलासा गरे।

'माघ १ गते माघी नै भइहाल्यो, २ गते माघी डेवान र पुस मसान्तमा मासु काट्ने भएकोले बालबालिका विद्यालय जान मान्दैनन्,' थारुले भने,'स्थानीय बिदाका लागि बैजापुरस्थित विद्यालयमा छलफल सुरु भएको छ।’

माघी महोत्सवको तयारी

माघीकै अवसरमा विभिन्न पश्चिम नेपालका ठाउँमा मेला लाग्ने गर्दछ। बर्दियाको ठाकुरद्वारा, दाङको रिहार, बाह्रकुने दह, कैलालीको बेहडाबाबा, घोडाघोडी ताल, बाँकेको बैजापुरस्थित भुवरभवानी लगायतका ठाउँमा ठूलो मेला लाग्ने गर्दछ। 

पछिल्लो समय माघी महोत्सव समेत हुन थालेको छ। थारु समुदायको नयाँ बर्ष एवम् महान् पर्वको अवसरमा बाँकेको टिटिहिरिया गाविस पेडारीमा यहि पुस २७ गतेदेखि २९ गतेसम्म र दाङको चखौरामा माघ ११ र १२ गते माघी महोत्सव हुने भएको छ। माघी महोत्सवमा थारु परम्परागत माघौटा नाचगानका साथै थारु परम्परागत खानाका परिकारको ब्यवस्था गरिएको छ। 

दाङको चखौरामा आयोजना हुने माघी महोत्सवमा ५ जिल्लाका सांस्कृतिक टोलीका साथै थारु अगुवाको सहभागिता रहने बेस बाँकेका अध्यक्ष लाहुराम थारुले बताए। उनले महोत्सवमा थारु सांस्कृतिक प्रतियोगिता समेत हुने जानकारी दिए। 

बाँकेको पेडारीमा हुने महोत्सवमा पनि सांस्कृतिक प्रतियोगिता हुने ओजरिया सित्तर परिवारका अध्यक्ष दिपक कुमार थारुले जानकारी दिए। उनले महोत्सवमा आउनेहरुका लागि थारु परिकारको ब्यवस्था समेत गरिएको बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.