|

बैतडी : सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा खर काट्दा यहाँका महिलाहरुले लडेर अकालमै ज्यान गुमाउने गरेका छन्। एक महिनाको अवधिमा खर काट्दा लडेर तीन जनाको मृत्यु भइसकेको छ।

गत शनिवार मात्रै सुर्नया गाउँपालिका–४ की श्रीमती रमा महाराको ज्यान गएको छ। स्थानीय जैसिया भीरमा खर काटिरहेका बेला चिप्लेर लड्दा रमाको घटनास्थलमै मृत्यु भएको हो। भदौ अन्तिम सातादेखि खर काट्ने सिजन सुरु भएकाले महिलाहरुले घाँस काट्ने लोभमा जोखिम मोलेर भीरमा जाने गरेका दोगडाकेदार गाउँपालिका–६ लामाखेतका कमला भण्डारीले बनाइन्।

बैतडीसहित सुदूर पश्चिमका महिलाको भीरमा गएर खर काट्नुपर्ने बाध्यता रहेको देहिमाडौंका हीरा बोहराले बताइन्। ‘घरमा गाई, भैंसी पालेका हुन्छन्,’ उनले भनिन्, ‘गाईवस्तुका लागि जोखिम मोलेर घाँसका लागि खर काट्नुपर्छ।’ यहाँका अधिकांश महिलाले मात्रै खर काट्छन्। उनले थपिन्, ‘पहाडका खर बढीजसो भीरमै हुन्छ।’

यही असोज २२ मा पनि सुर्नया गाउँपालिका–५ की ४८ वर्षीया राजमति विष्टको पनि खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो। गत भदौ ३० मा सिगास गाउँपालिका–८ पुतलीपुरकी १४ वर्षीया नारुली बोहराको खर काट्ने क्रममा छोटेधार थाँचर भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको थियो।

यस क्षेत्रमा भीरवाट लडेर मृत्यु भएका घटनाहरु प्रहरीलाई जानकारी नगर्ने गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए। प्रहरीलाई जानकारी गराए प्रक्रिया पु¥याएर शव परीक्षण गरेपछि मात्रै दाहसंस्कार गर्नुपर्ने झण्झटले प्रहरीलाई खबर नगर्ने गरिएको पाण्डेय बताउँछन्।
 
यो सिजनामा काटेको खर सुकाएर थुप्रो बनाई हिउँदमा गाई भैंसीलाई खुवाउने गरिन्छ। जिल्लाका सबैजसो घरपरिवारले गाई भैंसी पालेका हुन्छन्। दैनिकि चलाउनका लागी समेत यहाँका नागरिकले गाईभैंसी पाल्ने गर्दछन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.