उपसभामुखसँग मन्त्री पद नसाट्ने

|

काठमाडौं : उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे अफ्ठेरोमा परेकी छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीबाटै सभामुखमा निर्वाचित कृष्णबहादुर महरा गम्भीर आरोपमा पदबाट बाहिरिएपछि तुम्बाहाम्फेमाथि पनि संकट आइलागेको हो। 

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ। यस्तोमा महराले पद छाडेपछि नेकपाले उपसभामुख पद समाजवादी पार्टीलाई दिएर नयाँ सभामुख आफ्नै दलको राख्ने तयारी गरेको छ। 

नेकपाको यो तयारीपछि त्यही दलबाट निर्वाचित तुम्बाहाम्फेलाई पदमा रहिरहन समस्या भएको हो। तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित महरा बलात्कार आरोपमा पदबाट बाहिरिएपछि विकल्प खोज्न थालिएको छ।

तत्कालीन अवस्थामा सभामुख र उपसभामुख फरक दलबाट निर्वाचित भएका थिए। तर एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनिसकेपछि कांग्रेसले एकै दलबाट दुवै पदमा रहनु संविधानविपरीत हुने आवाज उठाउँदै आएको छ।

प्रधानमन्त्रीले बोलाए
पद गुमाएपछि महरा प्रहरी हिरासतमा छन्। यता उपसभामुख तुम्बाहाम्फेलाई यही आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएर सम्भावित विकल्पबारे छलफल गरेका छन्। सरकारी निवास बालुवाटारमा बोलाएर ओलीले उपसभामुखको ‘मुड’ बुझ्न खोजेको स्रोतले दाबी गरेको छ। 

‘प्रधानमन्त्रीले यही आइतबार बालुवाटारमा बोलाएर आधा घण्टा छलफल गर्नुभयो। तर उहाँ राजीनामाबारे केही कुरा निकाल्नु भएन’, उपसभामुखनिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले उहाँ (उपसभामुख) को ‘मुड’ बुझ्न खोजेको बुझेका छौँ।’

ओलीले त्यो भेटका क्रममा सभामुखको पदपूर्तिबारे एकपटक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने उपसभामुखलाई बताएका थिए। ‘पहिले सभामुख माओवादी केन्द्रको कोटाबाट निर्वाचित थिए। अहिले पार्टी एउटा भएको छ, पुरानो शक्ति सन्तुलन छैन’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँ (प्रचण्ड) जीले यसबारेमा के भन्नुहुन्छ? बुझ्छु, सल्लाह गर्छु।’

दुई अध्यक्षबीच मंगलबार बालुवाटारमा भेटवार्ता भएको थियो। स्रोतका अनुसार दुई अध्यक्षको छलफलपछि तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने निचोड निस्किएको छ। 

प्रधानमन्त्रीले उपसभामुखसँगको भेटका क्रममा दशैँ–तिहारले गर्दा प्रक्रिया लम्बिएको बताउँदै अब टुंग्याइजाने जवाफ दिएका थिए। स्रोतका अनुसार उपसभामुखलाई राजीनामा गराइ सभामुख आफैँले राखेर उपसभामुख समाजवादी पार्टीलाई दिने तयारी नेकपाले गरेको छ। 

सभामुखको दोष मलाई? 

यता, उपसभामुख तुम्बाहाम्फेले भने सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको दोष आफूलाई थुपारेर ‘बलिको बोको’ जस्तै नबनाउन नेताहरूलाई आग्रह गरेकी छन्। 

‘महराको गल्तीको दोष मलाई नदिइयोस्, एउटाले गरेको गल्तीको दोष मैले किन भोग्ने?’, उपसभामुखले नेताहरूसँग प्रश्न गरेकी छन्, ‘प्रदेश र संघीय संसदमा पुरुष सभामुख छन्। उपसभामुख महिला छन्। संघीय संसदमा अब सभामुखको पहिलो दाबी मेरो हुनु स्वभाविक पनि हो।’

तुम्बाहाम्फेले सभामुखको पहिलो दाबेदार उपसभामखु हुनु स्वाभाविक भन्दै प्रधानमन्त्रीसँग पनि त्यही तर्क अघि सारेकी छन्। ‘प्रधानमन्त्रीसँग सभामुख पदमा आफ्नो दाबी स्वाभाविक भएको उहाँले बताउनुभयो’, स्रोत भन्छ, ‘मलाई उपसभामुख छाडेर मन्त्री बन्ने रहर छैन।’

बालुवाटारको तयारी

प्रधानमन्त्रीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार भएको छलफलका क्रममा उपसभामुखलाई राजीनामा गराउने निचोड निकालेका थिए। ‘बालुवाटारको तयारी हेर्दा राजीनामा गराउने भन्ने छ’, स्रोत भन्छ, ‘पार्टीको कुनै नेता या अध्यक्ष कसैले पनि उहाँ 
(उपसभामुख) मन्त्रीका लागि तयारी हुनु भनेको छैन।’

उपसभामुख तुम्बाहाम्फेले पनि उपसभामुखबाट हटेर आफूले मन्त्री पद नखाने अडान राखेकी छन्। ‘उहाँ (उपसभामुख) मन्त्री नखाने मुडमा हुनुहुन्छ। पार्टीले निर्देशन दिएको अवस्थामा बेग्लै कुरा हो’, उनीनिकट एक सहयोगी भन्छन्, ‘मन्त्री हुँदा पद साटेजस्तो हुन्छ। लोभ गरेजस्तो हुन्छ भनेर नखाने अडानमा हुनुहुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.