|

तनहुँ : प्रकृति परक महिनामा वनस्पतिको पूजा गर्ने भएकाले पर्वत, तुलसी, नदी, जल, जमिनको पुजन गरिने समयमा वैदिक सनातन हिन्दु धर्मको प्रचारप्रसार र प्रवर्द्धनका लागि व्यास अवतरण भूमिमा विश्व-हिन्दु महामिलन आयोजना गरिने भएको छ।

गण्डकी प्रदेशस्थित तनहुँको व्यास नगरपालिकाअन्तर्गत उत्तरबाहिनी शुक्ला र पूर्वबाहिनी माहेन्द्री नदीको संगमस्थल व्यास पराशर क्षेत्र दमौलीमा सत्यवती र पराशरका पुत्ररत्नका रूपमा वेदादि शास्त्रप्रवर्तक भगवान् वेदव्यास (श्रीकृष्ण द्वैपायन)को २८औं अवतरण भएको स्थल हो। कार्तिक महिनामा वेदमार्गअनुसार भूमिप्रतिको सेवा गर्ने समय मानिन्छ। 

वेदव्यास अवतरण भूमिलाई विशेष गरी सनातन हिन्दु धर्मको विश्व महामिलनको केन्द्र बनाउन र प्रचारप्रसार गर्न महर्षि वेदव्यासको अवतरणभूमि एवं महर्षि पराशरको तपोभूमि व्यास पराशर क्षेत्रमा हिन्दु महामिलन पर्व गरिने भएको हो। यही कात्तिक १५ देखि २३ गतेसम्म तनहुँको व्यास नगरपालिका-३ व्यास गुफा क्षेत्र दमौलीमा विश्व ओमकार हिन्दु महामिनल पर्व एवं अष्टोत्तरशत (१०८) श्रीमद्भागवत ज्ञानमहायज्ञ गर्न लागिएको महर्षि वेदव्यास अन्न क्षेत्रका संरक्षक शान्ति स्वरुपानन्द गोविन्द बाबाले जानकारी दिए।

बाबाका अनुसार व्यास भुमिलाई विश्वमाझ प्रचारप्रसार गर्नुका साथै नेपाल भ्रमाण वर्ष २०२० मध्य नजर गर्दै यहाँको प्रवर्द्धनका लागि महामिलन पर्व आयोजना गरिएको हो। ‘महामिलनमा स्वदेशी तथा विदेशी भक्तजनको सहभागिता रहने अपेक्षा छ,’ उनले भने। 

वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा हिन्दु महामिलन पर्व एवं ज्ञानमहायज्ञ गरिने भएको छ। पर्वमा श्रीमद्भागवतका मर्मज्ञ आचार्य श्रीहरिप्रसाद अर्यालले प्रमुख वाचकत्व गर्नेछन्। उनका अनुसार पर्वका अवसरमा विभिन्न सन्तमहात्माहरूको उपस्थिति रहनेछ भने नैष्ठिक ब्रह्मचारी एवं विद्वान् पण्डितहरूको सामूहिक वाचकत्वमा अष्टोत्तरशत (१०८) श्रीमद्भागवत ज्ञानमहायज्ञ हुनेछ।

उनका अनुसार यज्ञबाट संकलित रकम व्यास पराशर क्षेत्रमा रहेका संस्कृत गुरुकुलहरूमा अध्ययनरत ब्राह्मण, बटुकहरूका लागि सहयोग गरिनेछ। त्यस्तै व्यासभूमिको विकास र गरिमा बढाउने क्षेत्रमा खर्च गरिने उनले जानकारी दिए। महामिलनको उद्घाटनपूर्व नगर परिक्रमा गर्नुका साथै कलश यात्रा, विभिन्न झाँकी गरिनेछ। भागवत् पूजा, रुद्राभिषेक, हवन, श्रीमदभागवत लगायत पाठपारायण, हरिनाम संकिर्तन, विभिन्न जातिका मौलिक संस्कार र संस्कृति झल्किने झाँकी प्रदर्शन समेत गरिनेछ।

वेदानुयायी प्रतिष्ठान नेपाल, व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष, पराशर आश्रम संरक्षण समिति, श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्सङ्ग समिति र विश्व हिन्दु महासंघ नेपाल तनहुँको संयुक्त आयोजनामा विश्व हिन्दु महामिलन पर्व गर्न लागेको हो। महामिलन पर्वले व्यासभूमिको प्रचारप्रसारमा टेवा पुग्ने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विश्वास लिए।

‘व्यास भुमिको प्रवद्र्धनका लागि सनातन हिन्दु धर्ममा आवद्ध संघसंस्था मात्रै नभई सम्पूर्ण क्षेत्रका व्यक्ति तथा संघसंस्थाको सहयोग गर्नुपर्छ, सबै क्षेत्रबाट पहल गरेमा सहज रुपमा विश्वमाझ छिटै नै चिनाउन सकिन्छ,’ उनले भने।

यसअघि पनि व्यास अवतरण क्षेत्रमा १८ महिने अखण्ड हरिनाम किर्तन लगाइएको थियो। त्यतिखेर पनि विश्वका विभिन्न ठाउँबाट भक्तजन तथा साधुसन्तको सहभागिता रहेको र उनीहरुले सनातन हिन्दु धर्म र व्यास पराशर क्षेत्रको टेवा पुगेको थियो।

धार्मिक पर्यटनको केन्द्र

यस स्थलमा एसिया महादेशको मात्रै नभएर युरोपियन देशहरूबाट समेत सनातन हिन्दु धर्मका विषयमा अध्ययन गर्न धार्मिक पर्यटकहरू आउने गरेका छन्। धार्मिक पर्यटकहरू व्यासको तपोभूमिको गुफामा बसेर ध्यान गर्ने समेत गरका छन्। यस क्षेत्रमा महर्षि वेदव्याससँग सम्बन्धित दर्शनीय व्यास गुफा, पराशर गुफा, शुक्ला (सेती) र माहेन्द्री (मादी) नदीको पवित्र संगम, मत्स्योदरी कुण्ड जस्ता धार्मिक, ऐतिहासिक एवं प्राकृतिक स्मारकहरू समेत रहेका छन्।

यसै गुफामा बसेर भगवान वेदव्यासले वेदको विस्तार, १८ पुराण, महाभारत, ब्रह्मसुत्र आदिको रचनासमेत रचना गरेको उल्लेख धार्मिक पुस्तकमा पाइन्छ। समय समयमा यहाँ हुने विभिन्न धार्मिक अनुष्ठान, देशविदेशका विशिष्ट विद्वान्, धर्माचार्य, साधुसन्त धार्मिक वैदिक सनातन धर्मावलम्वी, श्रद्धालु भक्तजनहरुको आवागमन तथा नियमित वेदाध्ययन, सत्संग, भजन संकिर्तन, संस्कृत विद्यालय एवं विद्यापीठ, अन्नक्षेत्र, गुरुकुल सञ्चालनले व्यास भूमिको गरिमा अभिवृद्धि गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.