|

काठमाडौं :  इन्जिनियरिङ पढ्न काठमाडौं आएका जीवन शर्मा कहिल्यै इन्जिनियर बनेनन्। बरु जनताका गायक बने। इलेक्ट्रिकल इन्जिनियरिङ ६ सेमेस्टरसम्म पढे। त्यसपछि के भयो त? ठट्यौली पारामा उनी भन्छन्, '२०३६ सालमा पञ्चायतविरुद्ध आन्दोलनमा लागियो। अनि छोराको धनाढ्य हुने खतरा टर्‍यो।'

पंक्तिकारले जनगायक जीवन शर्मालाई कुनैंदिन उनको डेरामा पुगेर सोधेको थियो, 'तपाईं इन्जिनियर भएको भए घट्टेकुलोमा त आफ्नै घर हुन्थ्यो होला है?' जिज्ञासा सुनेर शर्माले मुसुक्क हाँस्दै भने, 'के हुन्थ्यो र म इन्जिनियर नभएर, यहाँ घरको संख्या कम पनि त भएको छ र ?'

सामान्य जीवन बाँचिरहेका शर्माले जीवनमा ठूला ठूला अवसर नपाएका होइनन्। तर जनताको दु:ख बेदना गाउने मान्छे जनता जस्तै हुनुपर्ने बताइरहे। उनी भन्थे, 'जुन दिन हरेक जनता सुखी हुन्छन्, समृद्ध हुन्छन्। त्यसै दिन म पनि बिलासी जीवन बाँचुला।'

उनै जनताका लोकप्रिय गायकले जीवनमा धेरै हण्डर र ठक्कर खाए। जनताका लागि गीत गाउँदा गाउँदै आफनो जीवनको लय कहाँनेर बिग्रियो? उनैलाई थाहा छैन। न त यसमा कुनै पश्चाताप नैं छ।

बुधबार उनलाई त्रिवि शिक्षण अस्पतालमा भेट्दा भने अलि भावुक देखिए। सधैँ ओठमा मुस्कान नछुटाउने शर्मा अहिले छोरो बिरामी हुँदा तनावमा छन्। उपचारका लागि आर्थिक अभावले पिरोलेको छ। 'सबथोक सहन सकिने रहेछ। तर सन्तानको पीडामा मल्हम पट्टी लगाउन नसक्दा एउटा बाबुले कल्पना गर्नै नसक्ने पीडाबोध गर्नु पर्ने रहेछ,' उनले सुनाए।

उनका माहिला छोराले खाना खाने क्रममा मासु खाँदा छातीको बीच भागमा हड्डी छड्के परेर अड्किएको देखियो । त्यसको उपचारका लागि पहिलो पटक गरिएको अप्रेशन पनि सफल नभएपछि छोराको स्वास्थ्यअवस्था झन् जटिल बन्दै गइरहेको छ । छोराको उपचारका लागि फेरि अझ ठूलो गर्नुपर्ने भएको छ । तर त्यसका लागि उनीसँग आवश्यक रकम छैन। यद्यपि सर्वहारा जनताको पक्षमा लागेर हिँडेको मान्छेले भोगेका जुनसुकै कठिनाइ आफ्ना निजी सम्पति हुन् भन्‍ने ठान्छन् उनी।

तर छोराको उपचारमा सहयोगका लागि हात फैलाउनु बाहेक  उनीसँग अब विकल्प छैन। जनताको पक्षमा उभिएका उनै जनगायकलाई आज जनताको साथको खाँचो छ।

तीन दशकभन्दा लामो गायन यात्रामा हालसम्म रक्तिम परिवारको नेतृत्व गरिरहेका उनको संस्थाबाट करिब चार दर्जन गीति एल्बम बजारमा आएका छन्।

अहिलेसम्म ५ सयको हाराहारीमा गीतहरू रेकर्ड भइसकेका छन्। उनका गीत मन नपराउने बिरलै होलान्। कम्युनिस्ट विचारधाराले प्रभावित भए पनि उनका गीत सबै वर्गका मान्छेलाई उत्तिकै लोकप्रिय छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.