|

दमक : झापाको दमक-५ की खेमकुमारी ओलीको दैनिकीमा केही समययता परिवर्तन आएको छ। अरुवेला सधैं घरमै हुने उनी अचेल दिन भरि स्यानीटरी प्याड उत्पादन गर्छिन्।

केही समयको तालिम पछि उनी अन्य एकल महिलाहरूसँगै मिलेर यसको व्यावसायिक उत्पादनमा लागेकी हुन्। उत्पादन गरेपछि कहाँ बेचौँला भन्ने तनाव पनि छैन। यसको सबै जिम्मा नगरपालिकाले लिएको छ। उनी मात्रै होइन, उनीजस्ता एकल महिलाहरू अहिले संयुक्त रूपमा यसको व्यावसायिक उत्पादनमा लागेका हुन्।

यहाँका एकल महिलाहरू उद्यमशिलताका लागि संगठित भएका हुन्। उनीहरूले एकल महिलाको सञ्जाल गठनसँगै आयमूलक काम शुरु गरेका छन् भने त्यसबाट प्राप्त आम्दानीलाई नियमित बचतमा समेत सञ्चित गर्न थालेका छन्।

एकल महिला समूह, दमक बनाएर संगठित भएका उनीहरू हाल सेनीटरी प्याड उत्पादनमा जुटेका छन्। समूहमा आवद्ध महिलाहरूले संयुक्त रूपमा प्याड बनाउने गर्छन्। उनीहरूले बनाएका प्याड नगरपालिकाले खरिद गर्ने निश्चित गरेको छ। त्यसैले उनीहरूलाई बजारको समस्या पनि छैन।

‘हामी दिनभरि भेला भएर यहाँ बनाउँछौँ, बनाएको सबै नगरपालिकाले किनिदिने भनेपछि कहाँ बेच्नु भन्ने समस्या पनि छैन’ संयुक्तरूपमा प्याड उत्पादन गर्दै आएकी दमक-५ की खेमकुमारी ओलीले भनिन् ‘एकै ठाउँ भेला भएर काम गर्दा अनुभव पनि आदानप्रदान हुन्छ भने सामूहिक भावनाको पनि विकास हुँदो रहेछ।’

सामूहिक रूपमा प्याड उत्पादन गर्नुपूर्व डेढ दशकदेखि घरैमा टेलर्स व्यवसाय गरेरसमेत नियमित आम्दानी गर्दै आएको उनले बताइन्। सीप र आम्दानी नभएका महिलाहरूलाई भने संयुक्तरूपमा उद्यम शुरु गरेपछि आत्मविश्वास पनि बढेको छ। घरमा दिन भरि त्यसै बस्नु भन्दा यहाँ आए पछि सीप सिकेकाले यसैबाट आम्दानीसमेत गर्न सकिने हिम्मत बढेको दमक-१० की अम्बिका श्रेष्ठले बताइन्।

अहिले प्याड बनाइ रहेको र आगामी दिनमा अन्य पोशाक बनाउनसमेत सिक्ने र यसैबाट थप आम्दानी गर्ने उनको योजना छ। उनीसँगै दमक-८ की गायत्रा भट्टराई पनि दिन भरि अरू साथीहरूसँगै प्याड बनाउने कार्यमा जुट्ने गरेकी छन्। नगरपालिकाले तालिमपछि आम्दानीको बाटोसमेत देखाएकाले अरू साथीहरूसँगै दिन भरि काम गर्ने गरेको उनले बताएकी छन्।

समूहमा २९ वर्षदेखि ६५ वर्षसम्मका एकल महिलाहरू आवद्ध छन्। उमेर र अनुभवको विविधताले पनि समूहमार्फत एक अर्काका अनुभव आदनप्रदान, सीप आदान प्रदान र उद्यम सञ्चालनका लागि पनि सामूहिक भावना जागेको समूहकी संयोजक सावित्रा प्रसाईंले बताइन्। सामूहिक रूपमा सीप सिकेको र उद्यमका लागि पनि सामूहिक रूपमा अभ्यास गरिरहेको उनको भनाइ छ।

अहिले एकल महिलाहरू पुनः प्रयोग गर्न मिल्ने प्रकारको प्याड उत्पादन गरी रहेका छन्। उनीहरूका लागि आवश्यक कच्चा सामग्री (कपडा), सिलाई मेशिन तथा अन्य औजारहरूसमेत नगरपालिकालेनै व्यवस्था गरि दिएको हो।

बजार र आम्दानी निश्चित

कतिपय व्यवसायमा उत्पादित सामग्री बिक्री नहुँदा लगानीकर्ता र उद्यमीले घाटा पनि सहनु पर्छ। वस्तु उत्पादन गरे पनि बजार खोज्नु अर्को चुनौती हुन्छ। तर एकल महिलाहरूले उत्पादन गरेका प्याडका लागि बजारको कुनै चिन्ता छैन।

यस्तै, उनीहरूले आफ्नो कामका आधारमा ज्यालासमेत पाउने भएपछि जति उत्पादन गर्न सक्यो त्यति नै उनीहरूको आम्दानीको आधार पनि तयार भएको छ। उनीहरूले प्याड बनाएको प्रतिगोटा ४० रुपैयाँका दरले ज्याला पाउने नगरपालिकाले जनाएको छ।

उनीहरूले बनाएका सबै प्याड नगरपालिकाले खरिद गर्दैछ। ती प्याड खरिद गरी नगर भित्रका विद्यालयहरूमा विद्यार्थीको उपयोगका लागि प्रदान गर्ने नगर उपप्रमुख गीता अधिकारीले बताएकी छन्। बजारमा पाइने प्याड प्रयोग गरेपछि फाल्नु पर्ने र त्यो फाल्नका लागि समेत समस्या हुने गरेको छ।

तर, गुणस्तरीय कपडा र सिलाइबाट उत्पादन गरिएको यस प्रकारको प्याड पुनः प्रयोग गर्न मिल्ने भएकाले यसबाट छात्राहरूलाई अध्ययनमा पनि सघाउ पुग्ने उनको भनाइ छ। गत वर्ष नगरपालिका तथा केही संस्थाले समेत विद्यालयमा छात्राका लागि निःशुल्क प्याड वितरण गरेका थिए।

महिनावारी भएका कारण कक्षाकोठा छोड्नु पर्ने तथा घरबाटै विद्यालय आउन नसक्ने अवस्थाको अन्त्यका लागि विद्यालयमा निःशुल्क प्याडको व्यवस्था मिलाउन अभियान नै चलाइएको थियो। यसबाट छात्राको कक्षा कोठामा नियमिततामा समेत सघाउ पुगेको नगरपालिका शिक्षा समितिले जनाएको छ। शुरुवाती समयमा नगरपालिकाले सीप प्रदान गरेको र सोही सीपलाई व्यावसायिक बनाउन आगामी दिनमा समेत बजार व्यवस्थापनमा सहयोग गर्ने उनले जनाएकी छन्।

सीपसँगै बचत

समूहमा आवद्ध महिलाहरूले आफ्नो आम्दानीबाट मासिक १ सय रुपैयाँ जम्मा पनि गर्न थालेका छन्। अहिले शुरुवाती समय भएको र केही बढी रकम जम्मा भएपछि आ-आफ्नो उद्यम शुरु गर्न पालैपालो सापटी चलाउने लक्ष्य रहेको समूहकी कोषाध्यक्ष अम्बिका आचार्यले बताइन्।

सीप सिकेपछि थोरै लगानी गरेर पनि प्याड व्यावसायिक रूपमा उत्पादन गर्न सकिने र अरू लुगाहरूसमेत सिउन सकिने भएकाले त्यस प्रकारको व्यवासय सञ्चालनमा कोषमार्फत् केही भए पनि सहयोग पुग्ने अपेक्षा रहेको उनले जनाइन्। हाल नगरका २४ एकल महिला यस समूहमा आवद्ध छन्। तर, सामूहिक काममा लागि भने आधाजसो नियमित आउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.