'बार्गेनिङ पावर' बढाउने हतियार

|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिममा एकदशक लामो कप्तानी भूमिकाबाट पारस खड्काले मंगलबार राजीनामा दिने घोषणा गरे। पारसको राजीनामाको घोषणासँगै नेपाली क्रिकेट क्षेत्र मात्र होइन सामाजिक सञ्जाल नै मंगलबार दिनभर पारसमय रह्यो। तर, पारसले कप्तानबाट पछि हट्ने निर्णय भने हठात आएको होइन्।

नैतिक रूपमा कप्तान बन्न अप्ठेरो

नेपाली टिमका कप्तान पारस खड्काले तत्कालीन क्यान भ्रष्टाचारमा डुबेको र खेलाडीको सेवासुविधामा ध्यान नदिएको आरोप लगाउँदै आएका थिए। २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपमा सहभागि भएर फर्किएपछि पारसले सबै खेलाडीको एकमत रहेको भन्दै तत्कालीन क्यान नेतृत्वको विरोध गरेका थिए।

पारसकै नेतृत्वमा उनीहरूले तत्कालीन कार्यसमितिविरुद्ध अख्तियारमा उजुरी गरेका थिए। साथै उनीहरूले आइसिसीमा समेत नेपाली क्रिकेट संघ भ्रष्ट भएको उजुरी दिए।

क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ, उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेलगायत १० जनाविरुद्ध अख्तियारले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा नै चलाएको थियो। तर, पछि उनीहरूले सफाइ पाए।

त्यसपछि चुनाव भयो तर त्यसपछि राष्ट्रिय खेलकुद परिषदले क्रिकेटको निर्वाचित कार्यसमितिमाथि हस्तक्षेप गर्‍यो। जसका कारण २०१६ मा नेपाली क्रिकेट आइसिसीको प्रतिबन्धमा पर्‍यो। प्रतिबन्धको तीन वर्षपछि जिल्लास्तरबाटै छनोट भएर आएका प्रतिनिधिहरूले पुरानो कार्यसमितिकै अधिकांस अनुहारलाई नेतृत्वमा ल्याएपछि भने पारसलाई कप्तानको रूपमा टिममा रहिरहन नैतिक दबाब परेको थियो। जसले गर्दा पनि उनले राजीनामा दिनुको विकल्प थिएन्।

पारसको चलाखी

पारसले मंगलबार राजीनामाको घोषणा प्रेस विज्ञप्ति निकाल्दै गरे। उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिए। तर, प्रक्रियागत रूपमा क्यान रहिरहेको अवस्थामा पहिलोपटक उनले क्यानलाई जानकारी गराउनुपर्ने थियो। उनले त्यसो गरेनन्।

अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पारसको राजीनामाको बारेमा केही जानकारी नभएको बताए। यद्यपि पारसले राजीनामा दिँदै आफ्नो समर्थकको सहानुभूति र क्यान नेतृत्वमाथि दबाब र 'बार्गेनिङ पावर' बढाउने हतियारका रूपमा प्रयोग गरे।

एक क्यान पधाधिकारी भन्छन् ‘राजनीति गर्न पारस पनि निकै सिपालु छन्। वर्तमान नेतृत्वलाई सहज होस भन्ने पनि अनि सामाजिक सञ्जालमार्फत दबाब 'क्रिएट' गर्दे पुनः बार्गेनिङ पावर बढाउने रणनीती अख्तियार गरे।’

सन् २०१४ को विश्वकपपछि पारसकै नेतृत्वमा क्यानविरुद्ध तलबभत्ताको आन्दोल नै गरे। उनीहरूले तत्कालीन समयमा पाएको सफलतालाई हतियार बनाएर खेलाडीहरूलाई आन्दोलनका लागि तयार बनाएका थिए।

कार्वाही नजिक पुगेर जोगिएका थिए

तत्कालीन समयमा भ्रष्टाचार प्रमाणित नभएपछि निर्वाचित कार्यसमितिले पारस खड्कालाई कप्तानबाट हटाउने तयारी गरेको थियो। क्यानको बहुमत कार्यसमितिले पारसलाई कप्तानबाट हटाउने माइन्युट तयार गरे पनि भोलिपल्ट सार्वजानिक हुनुअघि नै एक दैनिकमा पारस खड्कालाई कप्तानबाट हटाउने समाचार सार्वजानिक भएपछि चौतर्फी दबाब र कार्यसमितिमा नै विभाजन भयो। जसका कारण पारस सम्भावित कार्वाहीबाट बचे। उक्त निर्णय त्यतिकै गायब गरिएको थियो। सोही समयबाट नै चतुरबहादुर चन्दलगायत वर्तमान नेतृत्वका अधिकांस सदस्यसँग पारसको सम्बन्ध राम्रो थिएन्। त्यसैले उनले क्यानले केही निर्णय लिनुअघि नै बाटो सहज बनाए।

प्रतिबन्धका बेला खड्कालाई अवसर

पारस खड्काले नेपाली क्रिकेटलाई प्रतिबन्धभरि जीवन्त बनाउन उल्लेख्य योगदान गरे। तर, उनी विवादमुक्त रहन भने सकेनन्। धेरैले कप्तान आफैँ छनोटकर्ताका रूपमा रहँदा टिममा बायस हुने मत राखेका थिए। तर आइसिसीले उनलाई उक्त जिम्मेवारी निरन्तर दिइरह्यो।

पछिल्लो तीनवर्ष निरन्तर छनोटकर्ताको भूमिका निभाउँदा उनले राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरूलाई बाहिर राखेको आरोप लाग्ने गरेको छ। क्यान पधाधिकारी भन्छन ‘खेलाडीहरू बोल्न डराउँछन्। तर, उनको चेपुवामा परेर धेरैले अवसर पाएनन्। उनको नजिक रहने तर फर्मबाहिर भएका खेलाडीले पनि टिममा निरन्तर अवसर पाइरहे।’

पारसको कप्तान र नेपालको सफलता

विनोद दास कप्तान भएकै समयमा २००९ मा तत्कालीन क्यान अध्यक्ष विनयराज पाण्डेले हस्तक्षेप गर्दै पारसलाई कप्तानको भूमिका दिएका थिए। उमेर समूहमा कप्तानमा सफल पारसले विनोदको फर्म कायम रहेकै समयमा कप्तानी भूमिका निभाएपछि विनोद इन्जुरीका कारण बाहिरिए। विस्तारै पुनरागमनको प्रयास गरे पनि उनी टिममा पर्न असफल भए।

त्यसयताको दश वर्ष पारसले एकछत्र कप्तानको रूपमा नेपाली क्रिकेटमा राज गरिरहेका छन्। पारसले योबीचमा नेपाललाई डिभिजन पाँचबाट एकदिवसीय मान्यता प्राप्त राष्ट्रको रूपमा अघि बढाउन उल्लेख्य योगदान गरेका छन्।

पहिलो पटक पारसले सन् २००९ को एसिसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए। उनले तत्कालीक कप्तान विनोद दासको स्थानमा कप्तानी गर्ने अवसर पाएका थिए। २२ वर्षको युवा उमेरमा नै कप्तानीको जिम्मेवारी पाएका पारसले आफूलाई जिम्मेवार कप्तानको रूपमा परिष्कृत गर्दे लगे।

यो बीचमा सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपको नेपालको नेतृत्व गरेका पारसले नेपालका लागि एकदिवसीय र टी–२० शतक हान्ने रेकर्ड बनाएका छन्। पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल खेलमार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। त्यसयता उनले नेपालका लागि ६ एकदिवसीय, २७ टी–२० अन्तर्राष्ट्रिय, २ फस्ट क्लास, ४० लिस्ट ए र ५० टी–२० खेल खेलेका छन्।

डिभिजन पाँचबाट उनले नेपाललाई एकदिवसीय विश्वकपसम्म पुर्‍याउँदा जर्वजस्त रूपमा आफूलाई प्रमाणित गरेका छन्। उनको नेतृत्वमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्ने सौभाग्य प्राप्त गरेको थियो। त्यसैले उनको टाइमलाइनमा नेपाली क्रिकेटको सफलताको कथाहरू धेरै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.