|

बैतडी : बैतडीको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर नहुँदा स्थानीयबासिन्दालाई समस्या परेको छ।

प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ बर्षपछि गत वर्ष डाक्टर आएपनि गएको फागुन देखि स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट मुकेशकान्त दयालले जानकारी दिए। डाक्टर नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एक्सरे सेवा पनि प्रभावकारी हुन सकेको छैन्। उनले भने 'चोटपटक लागेर आएका बिरामीहरुको एक्सरे गरेपनि त्यसको रिपोट हेर्ने जनशक्ति नहुँदा एक्सरे प्रयोगविहिन भएको छ।' 

वि स २०५६ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक गतjर्ष स्थायी दरबन्दी डाक्टर आएका थिए।  प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर जीवन कार्कीको संघमा समायोजन भएपछि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए। प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टम गर्नुपर्ने केसहरु पनि पाटन अथवा सदरमुकाम पठाउनु पर्ने बाध्यता रही आएको छ।

मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका स्थानीयहरुलाई डाक्टर नहुँदा साह्रै समस्या भएको हो। यस्तै केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा गएको एकवर्षदेखि स्टाफ नर्सको दरबन्दी पनि खाली रहेको छ। यसले गर्दा पनि समस्या भएको स्वास्थ्य संयोजक चन्दको भनाइ छ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमाको सूचीकृत संस्था पनि हो। सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अफिसर, एक्सरे सेवा, इसजिी सेवा, अल्ट्रासाउण्ड सेवालगायतका सेवाहरु हुनुपर्ने हुन्छ। तर यी सबै जनशक्तिको अभावमा यी सेवाहरु प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरले दिन सकिरहेको छैन्। 

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा तल्लोसोराडबासीले समस्या भोग्नुपरीरहेको स्थानीय लक्ष्मण पार्कीले  बताए। उनले भने 'गाउँमै प्राथमिक उपचार केन्द्र छ उपचारलाई बाहिर जानुपर्ने बाध्यता छ।'

प्राथमिक स्वास्थ्यकेन्द्रमा डाक्टर नहुँदा सामान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी,उपक्षेत्रीय अस्पातल डडेल्धुरा जानुपर्ने बाध्यता रहेको छ। यसका साथै कुनै घटनापश्चात नागरिकको मृत्यु भएपछी शव परिक्षण गर्न समेत डाक्टर नहुँदा समस्या हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.