‘क्लब फुटबलका वादशाह’
‘क्लब फुटबलका वादशाह’
काठमाडौं : १६ अक्टोबर २००४ ला लिगा अन्तर्गत बार्सिलोना चौथो अवे खेलमा क्याटलान प्रतिद्वन्द्वी स्पानोएलविरुद्ध प्रतिस्पर्धा गरिरहेको थियो। ३० नम्बर जर्सी लगाएको १७ वर्षे केटो प्लेयर बक्समा मैदान छिर्ने समयको प्रतिक्षामा थियो। खेलमा बार्सा १-० ले अगाडि थियो।
निर्धारित समय सकिन केही मिनेटमात्र बाँकी थियो। तर त्यो १७ वर्षे केटोको मैदान छिर्ने पालो आएकै थिएन। आखिरीमा खेलको ८२ औ मिनेटमा त्यो घडी पनि आयो।
बार्साका प्रशिक्षक फ्रान्क रिजकार्डले तत्कालीन समयमा उत्कृष्ट मानिएका डेकोको स्थानमा मैदान प्रवेश गराएपछि ला लिगामा उसको डेव्यु भयो। ३४ हजार ४ सय दर्शकसामु डेव्यु गर्ने खेलाडी अरु कोही नभएर ‘क्लब फुटबलको वादशाह’ उपमा पाएका लियोनल मेसी थिए।
१७ वर्ष ३ महिना २२ दिनको उमेरमा स्पानोएलविरुद्ध लिगका उनको डेव्यु थियो। डेव्युको समयमा मेसीले लगाएको बुट समेत विशेष नै थियो। खेल मैदानमा प्रवेश गर्दा उनले तेश्रो संस्करणको नाइक एयर जुम टोटल ९० बुट लगाएका थिए।
जुन सन २००४ को युरोकपको लागि बनाइएको थियो। त्यो बुट वार्यन रोनी, लुइस फिगो, रोबर्टो कार्लोस, फ्रान्सिस्को टोटी, फर्डिनेन्ड र फर्नान्डो टोरेसको खुट्टामासमेत देख्न पाइन्थ्यो।
दोश्रो डिभिजनको सेगुन्डा लिगको अनुभव बटुलेका मेसीले एक वर्षमा नै पहिलो डिभिजनको क्लबमा स्थान बनाउन सफल भएका थिए।
स्पानोएलविरुद्धको खेल मेसीको लागि बार्साबाट डेव्यु खेल भने थिएन्। उनले १६ नोभेम्बर २००३ मा १६ बर्ष १४५ दिनको उमेरमा सिरिए क्लब र्पोटो विरुद्ध मैत्रीपूर्ण खेलबाट आफनो जीवनको औपचारिक खेल यात्रा सुरु गरेका थिए।
त्यसको एक वर्ष नबित्दै रिजकार्डको लिग टिममा उनले स्थान बनाए। उनी त्यस समयसम्ममा बार्सिलोनाको लागि डेब्यु गर्ने सबैभन्दा कम उमेरको तेस्रो खेलाडी थिए।
१ मे, २००५ मा अल्बासेट बोलाम्पिविरुद्ध क्लबका लागि कम उमेरमा आफ्नो पहिलो सिनियर गोल गरे। त्यसबेला मेस्सी १७ वर्ष, १० महिना, ७ दिनका थिए। उनकै सहयोगमा दुवै रेकर्ड १६ सेप्टेम्बर २००७ मा सहकर्मी बोजन क्रिचले तोडिदिए।
मेस्सीले आफ्नो पूर्व प्रशिक्षक फ्रान्क रिजकार्डको बारेमा भनेका छन् ‘उनले मेरो खेल जीवनको शुरुवात गराएको तथ्य म कहिल्यै भुल्न सक्दिनँ। उनले म १६/१७ बर्षको मात्र हुँदा नै ममा विश्वास जगाए।’ मेसीले बार्सा टिभीसँग करा गर्दै टिमबाट डेव्युको बारेमा भनेका छन्।
‘मेरो करियरमा यो एकदमै महत्वूर्ण मिति हो। मैले मेरो बाल्यकालको सपना पुरा गर्न सकेँ। सत्य त त्यो दिन एकदम रमाइलो थियो। म खुशी पनि थिएँ, तर धेरै नर्भस पनि। जब म सक्रिय भएर खेल्न थालेँ, मैले त्यो क्षणको आनन्द लिएँ। मलाई याद छ, मसँग गोलकिपरविरुद्ध साँच्चै राम्रो मौका थियो, तर मैले सदुपयोग गर्न सकिनँ। प्रशिक्षक रिजकार्डले खेलपछि मसँग आएर भने, ‘तिमीले त्यो मौका गुमायौ।’
बार्सा सन् २००४–०५ को सिजनको विजेता बन्दा मेसीले ८ खेलमा सहभागिताको मौका पाए। त्यसपछि उनी निरन्तर १४ वर्षदेखि बार्सा टिमको मुख्य खेलाडीका रुपमा मैदानमा उत्रिरहेका छन्।
१५ वर्षको अवधीमा उनले ६९२ क्याप जित्दै क्लबका लागि ६०४ गोल गरेका छन्। मेसीले हालसम्म क्लबका लागि १० ला लिगा, ६ कोपा डेल रे, चार च्याम्पियन्स लिग, ३ युइएफए सुपर कप, ८ स्पेनिस सुपर कप र तीन क्लब विश्व कप गरी ३४ ट्रफी दिलाउन योगदान दिएका छन्।
मेसीले पाँच पटक बालोन डि'ओर र सन् २०१९ को फिफा उत्कृष्ट खेलाडीको उपाधिसमेत आफ्नो पक्षमा पारेका छन्। मेस्सीले डेब्युको १५ वर्ष पुगेकै दिन छैटौँ पटक युरोपको सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट हात पारेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।