|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले प्रतिनिधिसभाको  रिक्त  सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन्। 

‘अहिले सभामुख पद रिक्त छ, नेपालको संविधानले पनि सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङको हुनुपर्छ भनेर व्यवस्था गरेको छ', उनले भने, 'हाम्रो पार्टी सभापतिले शेरबहादुर देउवाले भनेजस्तै हामी सभामुखमा उम्मेद्वारी दिन्छौं।’

रिपोर्टर्स क्लबको साक्षात्कारमा बिहीबार बोल्दै नेता बस्नेतले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको बताए। उनले भने,‘उहाँको भ्रमणको क्रममा सडक, हाईड्रोदेखि रेलसम्म सम्झौता भएका छन्। यो महत्वपूर्ण कुरा हो। तर, सहमति भएरमात्रै हुँदैन, कार्यान्वयन पक्षलाई पनि कडाईका साथ अघि बढाउनुपर्छ।’

साक्षात्कारमा बोल्दै उनले चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण भएपनि दौत्य सम्बन्ध स्थापना भएपछि पनि तीन वटा चिनियाँ राष्ट्रपति र ५ जना प्रधानमन्त्रीले नेपाल भ्रमण गरेको र सो अवधिमा धेरै सन्धि तथा सम्झौता भएको स्मरण गराए।तर, ती सम्झौताहरु कार्यान्वयन नभएको उनको गुनसो छ।

नेपालका विभिन्न महत्वपूर्ण परियोजनामा काम गर्ने चिनियाँ ठेकेदारले कमजोरी देखाएको पनि उनले टिप्पणी गरे। 'मेलम्ची खानेपानी परियोजनामा पनि चिनियाँहरुले काम गरेकै हो, मध्य भोटेकोशीमा पनि चिनियाँ पक्षले काम गरेका छन्',  उनले भने, 'तर, परिस्थिति हामीले सोचेभन्दा फरक छन्। हामीले त कार्यान्यवन पक्ष हेर्नुपर्छ।’ 

उनले जनतालाई निराश बनाएको बनाउँदै ओठे कुरा र उखान टुक्काले देश नचल्ने भन्दै प्रधानमन्त्री ओलीमाथि व्यंग्य कसे। ‘देशभित्र हामी एक भयौं भने कसैले पनि यहाँ खेल्न सक्दैन्। तर, हामीले अनै अरुलाई खेल्न दिने काम गरिरहेका छौं’, उनले भने।

बस्नेतले राष्ट्रपति विद्यादेवीको म्यानमार भ्रमणको उद्देश्य के हो? यसले देशलाई के फाइदा हुन्छ? भन्दै प्रश्नसमेत तेर्साए। त्यस्तै, उनले प्रधानमन्त्रीको विभिन्‍न देशमा भएका भ्रमणको उपलब्धि के हो? भन्दै अर्को प्रश्न गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.