|

अमेरिकी तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ्स'ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ। संसदमा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४–६० ले पारित भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्द–बहुल सिरियाली भूमिमा टर्कीले आक्रमण थालेसँगै केहीदिन अघि उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेका थिए।

संसदले पारित गरेको प्रस्तावमा अमेरिकी सरकारका विरोधी पक्षलाई लाभ पुग्ने गरी उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता हुनु ठीक होइन भन्दै राष्ट्रपतिको यस निर्णयबाट सिरिया, इरान र रुसलाई समेत असर पार्ने जनाइएको छ।

साथै उत्तरपूर्वी सिरियामा रहेका सिरियाली कुर्दिस सैन्यबललाई अलपत्र छाड्नु सही नभएको भन्दै संसदले टर्कीले सिरियाभित्र जारी राखेको सैन्य कारबाही रोक्न पहल गर्नुपर्ने बताएको छ।

संसदको प्रस्तावमा संसदमा डेमोक्राटिक र रिपब्लिकन दुवै पार्टीका ठूलो संख्याका सांसदहरूको समर्थन रहेको छ। संसदले पारित गरेको प्रस्तावमा कुर्दहरूलाई दिइरहेको सहयोग अमेरिकाले बन्द गर्न नहुनेमा जोड दिइएको छ।

अमेरिकी संसदले उत्तरपूर्वी सिरियामा जारी सैन्य कारबाही तत्काल रोक्न टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई आग्रह गरिएको छ।

राष्ट्रपति ट्रम्पको निर्णयका कारण टर्कीका सेनालाई सिरियाली भूमिभित्र कुर्द बहुल क्षेत्रमा आक्रमण गर्न सहज भएको आरोप लाग्दै आएको छ। इस्लामिक स्टेट्स विरुद्धको भिषण सैन्य कारबाहीका क्रममा कुर्द लडाकूहरूले अमेरिकी फौजलाई विगतमा ठूलो सहयोग गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.