|

जनकपुरधाम : जिल्ला भन्सार कार्यालय जनकपुरले दुई पसलमा छापा मारेर लाखौँको तस्करीको विभिन्न समान बरामद गरेको छ। तर, तस्करीमा सम्लग्न व्यापारीलाई पनि पक्राउ गरिएनन्।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्सबाट तस्करीका करिब ७ लाखको समान बरामद गरिएको छ। सम्झना ट्रेडर्सका प्रोपराइटर दिनेश साह र रुबी ट्रेडर्सका संचालक उनकै बुवा प्रयाग साह छन्।

भन्सार प्रमुख रामेश्वरकुमार मिश्रका अनुसार दुवैको पसलबाट अन्तशुल्क स्टिकर नभएको खुकुरी र शिखर नामको १ लाख १४ हजार १२८ रुपैयाँ बराबरको चुरोट बरामद भएको छ। साथै रजनीगन्धा र राजनिवास गुट्खा, विभिन्न खालका पान मसाला, भुजिया, खाने तेल सहितका समान पनि बरामद भएको छ। सबै समान करिब ७ लाख बराबरको रहेको छ।

भन्सार प्रमुख मिश्रले समान आफ्नो रहेको भनेर बुवा-छोराले स्वीकार गरिसकेकाले तत्कालै पक्राउ नगरिएको बताए। उनले भने, ‘बरामद तस्करीका समान भन्सार ल्याइसक्यौँ। अब उनीहरूलाई हाजिर हुन पत्र काट्छौँ। त्यसपछि कानून बमोजिम कारबाही प्रक्रिया अगाडी बढ्छ।’

गोदारबाट भारतीय बजार जयनगर अन्य बजारभन्दा नजिक करिब २५ देखि ३० किलोमिटरको दूरीमा पर्छ। बीचमा ठाउँ ठाउँमा प्रहरी चौकी छ। तर, उनीहरू भारतबाट भन्सार छलेर सजिलै समान घरसम्म ल्याउने गर्छन्। स्रोतका अनुसार उनीहरू प्रहरीलाई मिहनाबारी पैसा दिनेगरेका छन्।

स्थानीय एक नेताले प्रहरीकै मिलोमतोमा व्यापारीले तस्करी गरिरहेको बताए। जनताले २/४ हजारको समान घरका लागि ल्याउँदा प्रहरीले समात्ने गरेको भन्दै उनले प्रश्न गरे, ‘तर व्यापारीहरूले लाखौँको समान कसरी सहजै ल्याउँछन्? किन पक्राउ पर्दैनन्?’ 'प्रहरी महिनाबारी पैसा लिएर पक्राउ गर्नुको साटो सुरक्षा दिएर तस्करी गराउँछन्' उनले थपे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.