|

काठमाडाैं : त्रिभुवन विश्विवद्यालय मैदान कीर्तिपुरमा जारी महिला फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा क्याट क्विन्स काठमाडौंले पहिलो जित निकालेको छ। पहिलो पटक ‘वुमेन च्याम्पियन्स लिग’ (डब्लुसीएल) प्रतियोगिता बुधबारबाट सुरु भएको हो।

बिहीबार भएको खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै काठमाडौंले पहिलो जित निकालेको हो। यसअघि बुधबार चितवन राइनोजसँग काठमाडौं पाँच विकेटले पराजित भएको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्विवद्यालय क्रिकेट मैदानमा काठमाडौंले दिएको १५३ रनको फराकिलो लक्ष्य पछ्याएको पोखरा १६ ओभर ५ बलमा अलआउट हुँदै ७० रनमा समेटियो। पोखराका लागि कप्तान सिता राना मगरले सर्वाधिक १७ तथा बिन्दु रावलले १३ रन जोड्नु बाहेक अन्य खेलाडीको प्रदर्शन भने निराशाजनक रह्यो।

पोखरालाई सस्तैमा समेट्न काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले समान २–२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो।

काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले अविजित ८३ रनको अर्धशतकीय इनिङ खेलेकी थिइन्। उनी बुधबार शुन्य रनमा आउट भएपनि बिहिबार भने संयमित रुपमा प्रस्तुत भइन्। ६७ बलको सामना गरेकी रुबिनाले १४ चौका र २ छक्का प्रहार गरिन्। जारी लिगमा यो पहिलो अर्धशतक समेत हो।

यस्तै काठमाडौंका लागि रोमा थापाले १९, सोभा आलेले १२ तथा ईश्वरी बिष्टले अविजित १० रन जोडिन। पोखराकी अनुराधा चौधरीले ४ तथा कविता कुँवरले १ विकेट लिईन्।

जितसँगै काठमाडौंले २ खेलमा २ अंक जोडेको छ। पहिलो खेलमा काठमाडौं चितवनसँग ५ विकेटले पराजित भएको थियो। पोखराको यो पहिलो हार हो। क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा सुरु प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छ भने उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १२५ सिसीको स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.