भोटिङ मेसिनमा कुनै समस्या छैन

|

काठमाडौं : प्रविधिको प्रयोगले कुनै पनि कामलाई छिटोछरितो र सुरक्षित बनाइन्छ। तर, नेपालमा प्रविधिको प्रयोग प्रवृत्तिगत खराबीको कारण आशंका गर्ने गरिएको छ। अघिल्ला दुइटा निर्वाचनमा जस्तै यसपटक पनि गैरआवसीय नेपाली संघ (एनआरएनए)ले प्रविधिको अर्थात् भोटिङ मेसिन प्रयोगमा जोड दियो। 

अघिल्ला दुई निर्वाचनमा सफलतापूर्वक सम्पन्‍न भएको अवस्था यस वर्षको निर्वाचनमा प्राविधिक समस्या देखिएको भन्दै मतपत्रकै सहायता लियो। यद्यपि यसपटकको निर्वाचनमा मतदान, मतगणना मात्रै नभएर अन्य व्यवस्थापकीय वियषमा एनआरएनएको आलोचना बढी देखियो। 

त्यसो त, प्रविधिको प्रयोगभन्दा पनि प्रविधि प्रयोगमा प्रवृत्तिगत समस्या देखिने गरेको सरकारकावालाले बताएका छन्। यसै विषयलाई केन्द्रित गरेर भोटिङ मेसिन निर्माता रामलक्ष्मण दाजु-भाइ मध्ये लक्ष्मण रिमालसँग थाहाखबरका भागवत भट्टराईले गरेको कुराकानी:

प्रविधिको सहायताले काम छिटो हुन्छ भनिन्छ, यहाँ आशंका गर्नुपर्ने अवस्था आएको हो?

प्रविधिमा आशंका देख्नु पर्ने अवस्था होइन। एनआरएनएको निर्वाचनका कुरा गर्ने हो भने कोर व्यवस्थापनको मात्रै समस्या भएको हो। 

अघिल्लो पटक पनि भएको थियो होइन? यही काम अघिल्लो पटक सफलता अहिले असफलता कसरी?

योभन्दा अगाडि पनि दुई कार्यकालमा हामीले सफलतापूर्वक भोटिङ मेसिनमार्फत चुनाव गरेका छौँ। आजसम्म हामीले ७० भन्दा बढी निर्वाचन गरेका छौँ। यहाँ भोटिङ मेसनमा प्राविधिक समस्या आयो भन्ने कुरा आयो त्यो होइन। निर्आधार हो। मेसिनमा समस्या आएको होइन।

हामीले मेसिनमा उम्मेदवारको अन्तिम नामावली आएपछि प्रविष्ट गर्ने हो। त्यसको नाम अंग्रेजी, नेपालीमा र तस्वीर राख्नु पर्ने हुन्छ। त्यहाँ उम्मेदवारको नामावली पहिला निर्वाचन कमिटीले प्रकाशन गर्नुपर्छ। पहिलो लिष्ट दोस्रो लिष्ट प्रकाशन नहुँदै लाइन लगाउन थालियो।

यति ढिला हुन्छ भनेर बाहिर सम्प्रेषण गर्न सक्नु भएन। मेसिनमा डाटा इन्ट्री नगर्दै बाहिर भीड धेरै भयो भनेर प्रेसर दिन थाल्नु भयो। हामीले समय चाहिन्छ भनेर कन्ट्रयाक्ट गरकेा थियौँ। फोटो नाम सबै चिन्नु पर्‍यो नि! 

हामीले नाम इन्ट्री गर्न बेलासम्म निर्वाचन कमिटीबाट अन्तिम नामावली पाएका थिएनौँ। पछि मात्रै अन्तिम नामावली प्रकाशन भयो। आवश्यक समय नपाएको अवस्था र बढी प्रेसर दिँदा अन्तिम नामावली प्रकाशित भएको एउटा नाम अल्टर परेको हो। फोटो साइजको समस्या आधा घण्टासम्ममा समाधान गरेरै देखाएको हो। 

समयमको मात्रै समय व्यवस्थापनको मात्रै हो त? 

हामीले सिस्टममा राखेपछि एक पटक चेक गर्नुपर्ने हुन्छ। नामावली नराख्दै हामीलाई धेरै प्रेसर भयो। हामी भनेर मात्रै होइन उहाँहरूले आफैँले के जानुपर्ने थियो। त्यही बेला एक घण्टापछि भनेर त्यहाँ बाहिर इन्फरमेसन दिइएन। अन्तिम नामावली प्रकाशन गरेर फाइनल नभइसक्दा हतारमा काम गर्दा केही प्राविधिक समस्या देखिएको हो। 

सोर्सकोर्ड मागियो, जसले समस्या भयो पनि भन्‍नु भएको थियो। सोर्सको कोर्ड के हो किन समस्या भयो?

मेसिन बनाउँदा कसरी बनाइएको छ भन्‍ने कुरा नै सोर्सकोर्ड हो। यो निकै गोप्य राखिएको हुन्छ। त्यो कोही कसैलाई भन्‍नु हुँदैन भनिन्छ। समय रहँदा कोर टिमलाई भन्‍न नसकिने कुरा होइन।

त्यो दिने कुरा हाम्रो जवाफदेहिता होइन। हामीले मेसिन परीक्षण गर्न दिने हो। मेसिन ठीक छ भनेर एनआरएनएले परीक्षण गरेर लिएको हो। अन्तिम अवस्थामा नामावली तयार पार्दै गर्दा एक पक्षको मान्छे आएर कसरी गर्नुभएको छ सोर्स कोर्ड दिनुस् भने। कि चुनाव हुन दिँदैनौँ भन्‍नुभयो। त्यो पनि एउटा कागज गरेर दिन बाध्य भयौँ। जुन करोडौँ रुपैयाँमा पनि किन्‍न पाइने कुरा होइन। त्यसले हामीलाई डेढ घण्टा अलमल्यो। नाम र फोटो  रिचेक गर्ने जिम्मेवारी एनआरएनएकै थियो।

सोर्स कोर्ड दिनु दायित्व होइन भन्‍नुभयो, सोर्सकोर्ड पाउँदा तलमाथि गर्न सकिने सम्भावना हुन्छ र? 

त्यसबाट कुनै पनि कुरा गर्न सकिने होइन। हाम्रो मेसिनमा कुनै पनि नेटवर्क छैन बाहिरबाट केही गर्न सकिँदैन। तर, सोर्सकोर्ड  किन दियौँ भने हामी एकदम पारदर्शी थियौँ। जोसुकैले हेरे पनि फरक नपर्ने थियो। हामीले त्यो सोर्सकोर्डका विषयमा सबै सिकायौँ।

पहिले गर्ने निर्वाचन र यो निर्वाचनमा के कति समस्या रह्यो?

व्यवस्थापनका कुरा निकै कमजोर रह्‍यो। सेडुलमा गर्ने काममा निकै फितलो भएको हो। समयमा सूचना दिइएन, त्यसले गलत सन्देश गयो।

एनआरएनका मतदाता विदेशको सिस्टम चलाएर आएका हुन्छन्। उनीहरूलाई काम नसकी लाइन लगाइयो। तर, व्यवस्थापन पक्षले भित्र काम नसकिएको सूचना प्रवाह गरेन। भोलिपल्ट दिनभर बसेर मतदान गर्न सक्ने मतदाताले राम्रो सूचना दिएको अवस्थामा नमान्‍ने कुरै थिएन। मतदानका लागि हामीले पाँच घण्टाको समय मागे पनि तीन घण्टामा सक्थ्यौँ। त्यसको एक घण्टा परिणाम आउँथ्यो।

प्रविधिको प्रयोग प्रवृत्तिगत आशंका देखिन्छन्। दुइटा निर्वाचन गरेपछि एनआरएनएले पुनः मतपत्र नै रोज्यो। यसभन्दा अघि कामठमाडौं क्षेत्र नं. १ मा भोटिङ मेसिनबाट निर्वाचन भएको थियो। त्यहाँ पनि पछि मतपत्र नै रोजियो कारण के होला? 

सबै कुरामा शंका-उपशंका गर्ने हाम्रो बानी छ। हामी त्यसको गहिराइ बुझ्दैनौँ, निर्वाचन भन्‍न साथ पार्टीसँगको आवद्धता हेरिन्छ। त्यहाँ कुनै तर्कले काम गर्दैन।

सम्बन्धित पक्षका प्राविधिकले चित्त बुझाएपछि स्वीकार गर्नुपर्ने हुन्छ। सुरुमा स्वीकृति नभएको होइन। त्यहाँ पनि देखिएको समस्या आधा घण्टामै मिलाएका थियौँ। तर, बुझ्दाबुझ्दै मतपत्र रोजियो। यसले उहाँहरूको पनि राम्रो सन्देश गयो जस्तो लाग्दैन। प्रविधिका विषयमा नेपालीहरू कच्चा हुन्छन् बुझ्दैनन भन्‍ने एक किसिमको सोच देखिन्छ। विदेशमा बस्‍ने नेपालीहरू पनि सोच उस्तै रहेछ। अहिलेको एनआरएनएको निर्वाचनले यस्तै देखियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.