राजनीति

सांसद आलमलाई  पक्राउ गरेर कांग्रेसविरुद्ध सरकारले षडयन्त्र गर्‍यो : सभापति देउवा

‘सञ्चारमाध्यम ग्रान्ड डिजाइन बनाएर कांग्रेसविरुद्ध लागे, आलम प्रकरण उदाहरण हो’

कात्तिक १, २०७६

    भक्तपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद मोहम्मद अफताब आलमलाई पक्राउ गरेर सरकारले प्रतिपक्षमाथि प्रहार गरेको बताएका छन्।  

    कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाउँदै सभापति देउवाले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताए। कांग्रेस सांसद आलम १२ वर्ष पहिले बम विस्फोटमा घाइते भएका केही व्यक्तिलाई जिउँदै इटा भट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

    मध्यपुरथिमिको बोडेमा शुक्रबार कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुखका लागि आजबाट शुरु गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले भने, ‘कम्युनिष्ट र कांग्रेस फरक हो भनेर कामबाटै देखाउनुपर्छ, कांग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिष्ट सरकारको भन्दा राम्रो काम गरेर देखाउनुपर्छ।‘ उनले कांग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिएका थिए।

    कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै उनले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताए। पौडेलले कांग्रेस विकल्पको रूपमा उदाउनुपर्नेमा जोड दिए।

    कार्यक्रममा उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै पार्टीभित्रको गुटबन्दी अन्त्य हुन जरुरी रहेको औँल्याए। महामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस दिनप्रतिदिन सङ्कटमा पर्दै आएको बताउँदै अब पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार गर्दै पार्टीलाई अगाडि बढाउनु पर्ने भनाइ राखेका थिए। सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा कांग्रेसको विरुद्धमा आएको बताउँदै सिटौलाले भने, ‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर कांग्रेसविरुद्ध लागेका छन्, कांग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो।‘

    कार्यक्रममा केन्द्रीय सदस्य सीता गुरुङ, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, गाउँपालिका विकास समितिका महासचिव वंशलाल लामालगायतले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध सङ्घर्षका लागि तयार रहनुपर्नेमा जोड दिए।

    कांग्रेस पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका कांग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको प्रशिक्षणमा देशभर ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिए। प्रशिक्षण शनिबार सम्पन्न हुने कांग्रेसले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]