|

दाङ : गत जेठको अन्तिम साता ‘गरिमा’ जातको हाइब्रिड धान रोपेका देउखुरीका किसानहरु कात्तिक सुरु भइसक्दा पनि धान पसाउने छाँट नदेखिएपछि आत्तिएका छन्।

धानको बोट फस्टाए पनि पसाएको छैन। लमही नगरपालिकाको मजगाउँ, टिकुलीगढ, बड्का घुम्ना, छोट्की घुम्ना, गुर्जिहवा, भुरीपुर, बुटकहवा, केरुनिया, सोनपुर, रनियाँपुरलगायतका कृषकले लगाएको ‘गरिमा’ जातको हाइब्रिड धान पसाएको छैन। ती गाउँमा अरु जातको धानका बाला झुलेका छन्। कतिपयले काटिसकेका पनि छन्। 

१३० दिन पुगिसक्दा पनि धान नपसाएपछि लमही नगरपालिका–३ मजगाउँका किसान छविलाल कोपिला चिन्तित भएका छन्। विगतका वर्षहरुमा पनि यो धान रोप्दै आए पनि यस पटक धानले धोका दिएको उनले बताए। पहिला यो धान रोपेको १३० दिनभित्र धान ढल्याएको भए पनि अहिले रोपेको १२० दिन हुँदा समेत नपसाएको उनको भनाइ छ। गरिमा जातको धान २०७२ सालमा नेपाल सरकारले सूचिकृत गरेको बिउ हो। यस जातको धान ९० देखि ९५ दिनभित्र ५० प्रतिशत पसाइसक्नुपर्ने हो। तर, अहिलेसम्म पसाएको छैन। 

यस क्षेत्रमा गरिमा धानको बिउ नेपालमा सनराइज एग्रिकल्चर एण्ड रिसर्च सेन्टर टिकुलीगढ दाङले वितरण गरेको होे। भारतमा ब्रिडिङ गरिने भएकाले प्याकिङको समयमा त्रुटि भएको हुन सक्ने रिसर्च सेन्टरले बताएको छ। रिसर्च सेन्टरले उपलब्ध गराएको तथ्याङ्कअनुसार गरिमा धानको बिउ नेपालमा २१ टनभन्दा बढी बिक्री भएको छ। सेन्टरले टिकुलीगढ, देउखुरीले विभिन्न ६ वटा केन्द्रमार्फत गरिमा धानको बिउ बिक्री गरेको हो। 

मनिराम आचार्यले पनि धेरै फल्ने आशाले तीन कठ्ठामा गरिमा धान रोपका थिए। तर, धान नपसाएपछि अन्यौलमा परेको उनको भनाइ छ। ‘यसअघि अरुले गरिमा धान राम्रै फलाएको देखेर रोपेको हुँ,’ उनले भने, ‘ठेक्कामा लिएको जग्गामा रोपेको धान फलेको छैन, हामीले के खाने, जग्गावाललाई के दिने हो?’

त्यसैगरी मजगाउँका किसान गुरुप्रसाद चौधरीको व्यथा पनि उस्तै छ। उनले रोपेको धानले १२५ दिन काटिसकेको छ। उनले पनि गत वर्ष अरु छिमेकीहरुले सोही धान रोपेरको देखेर यस वर्ष आफूले लगाएको बताए। 

‘हामी खेती किसानी गर्ने मान्छे राम्रो धान भनेर रोपका थियौँ। धानल फल्ने अवस्था छैन,’ उनले भने, ‘रोपेको धान नफलेपछि यसको क्षतिपूर्ति वितरक संस्थाले दिनु पर्छ।’

दाङसहित चितवन, नवलपरासी, र बाँकेमा गरिमा जातको धानको बिउ बिक्री गरिएको थियो। ती क्षेत्रमा पनि धान फल्ने सम्भावना अत्यन्तै कम रहेको किसानहरुको भनाइ छ। १३० दिनमा काटिसक्नुपर्ने भए पनि अझै नपसाएको र चिसो बढ्दै गएकाले धान फल्ने सम्भावना अत्यन्तै कम रहेको स्थलगत अनुगमनका लागि पीडित किसानहरुको खेतमा पुगेका क्षेत्रीय बिउविजन प्रयोगशाला खजुरा बाँकेका वरिष्ठ बाली विकास अधिकृत एवम् अनुगमन समिति संयोजक दीलिपकुमार सिंहले बताए। धानको बिउ वितरण गर्दा केही बदमासी भएको हुन सक्ने उनको आशंका छ।

‘बिउको प्याकेजिङ र भारतबाट ल्याइएको बिउको बोराको अवस्था हेरियो, फरक छ,’ अधिकृत सिंहले भने, ‘यसमा केही शंकास्पद अवस्था देखिन्छ, गहन अध्ययन गरेर समस्या पहिचान गर्छौं।’

यता सनराइज एग्रिकल्चर एण्ड रिसर्च सेन्टर सञ्चालक देवाङजंग चौधरी भने यो धान फल्ने दाबी गर्छन्। रोप्ने बेला ढिलाई भएकाले फल्नेमा पनि समय लाग्ने चौधारीका भनाइ छ। यदि धान नफलेमा सरकारले नै क्षतिपूर्ति दिनु पर्ने समेत उनको माग छ। उनले भने, ‘समस्या देशका विभिन्न ठाउँहरुमा भएकाले राज्यले नै हेर्नुपपर्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.