|

बाँके  : बाँकेको कुल धान खेति मध्ये आधामा फौजी किराको प्रकोप देखिएको छ।

कुल ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेति भएकोमा १७ हजार हेक्टर क्षेत्रफलको धानबालीमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख बाली संरक्षण अधिकृत शकिल अहमदले जानकारी दिए। जताको खेतमा गयो त्यता फौजी किराको प्रकोप देखिन्छ’ उनले भने। 

बर्दियामा पनि फौजी किराको प्रकोप देखिउको उनले बताए। उनले बर्दियामा कुल ५२ हजार ५२ हेक्टर जमिनमा धान खेति हुँदै आएकोमा दुई हजार हेक्टरमा मात्र फौजी किराको प्रकोप देखिएको जानकारी दिए। जमिनमा रहिरहने भए पनि यस फौजी किराले बाहिर आउने उचित वातावरण पाएको उनको भनाइ छ। पानी पर्ना साथ समस्या समाधान हुने बताउँदै उनले विषादी छर्केर न्यूनिकरण गर्न सकिए पनि समस्या समाधान नहुने बताए। łआकाशमा बादल देखिएपछि खुशी लागेको छ। पानी नै फौजी किराको लागि सवैभन्दा उत्तम औषधि हो,’ उनले भने। 

धान उत्पादन आधा घट्ने 

कृषि ज्ञान केन्द्रका अनुसार, बाँकेमा प्रति हेक्टर तीन मेट्रिक टन धान उत्पादन हुने गरेको छ। फौजी किराले १७ हजार हेक्टरको धान सखाप पारेपछि बाँकेमा यस वर्ष धान उत्पादनमा ह्रास आउने भएको छ। 

बाँकेमा बार्षिक सरदर एक लाख नौँ हजार पाँच सय मेट्रिक टन धान उत्पादन हुने गरेको छ। फौजी किराका कारण बाँकेमा यस वर्ष २५–३० प्रतिशत धान उत्पादनमा ह्रास आउने बाली संरक्षण अधिकृत शकिलले अनुमान लगाए। ‘यसबर्ष घटेर ५८ हजार पाँच सय मेट्रिक टन धान उत्पादन हुने देखिन्छ,’ उनले भने।

रोग नियन्त्रण गर्न ज्ञान केन्द्रलाई ज्ञापन

बाँके र बर्दियामा फौजी किराको प्रकोप देखिएपछि नागरिक समाजले रोकथाम तथा नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ। धान बाली  किसानको मूख्य आय श्रोत भएको भन्दै नागरिक समााजले रोकथाम र नियन्त्रणका लागि ठोस कदम चाल्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो। 

कृषिजन्य रोगको समयमै उपचार गरि कृषकलाई जोखिमबाट बचाउन माग गर्दै नागरिक समाजले कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख समेत रहेका बाली संरक्षण अधिकृत शकिल अहमदलाई ज्ञापन पत्र बुझाएको अधिवक्ता विश्वजीत तिवारीले बताए। ‘सवैको सरोकारको विषय भएकोले नागरिक समाजको तर्फबाट कृषि ज्ञान केन्द्रलाई ज्ञापन पत्र बुझाएका छौँ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.